नारी दिवस: ओझेलमा पर्छन् श्रमिक महिला

तस्बिर स्रोत, RSS
विश्व नारी दिवसका रूपमा मनाइने मार्च ८ लाई २०१७ तिर धनकुटाका केही शिक्षिकाले 'आइमाई दिवस'को रूपमा मनाएको जानकारहरू बताउँछन्।
वि.सं. २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई 'अन्तर्राष्ट्रिय नारी दिवस'को रूपमा मनाउन थालेको बताइन्छ।
२०३४ सालबाट पारिजातको संयोजकत्वमा गोप्य रूपमा 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस' मनाएको बताइन्छ।
जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्यूटकी अध्यक्ष तथा राजनीतिकर्मी बिन्दा पाण्डेय नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आमनागरिक तहमा मनाउन थालिएको चार दशक भएको बताउँछिन्।
२०४६ सालको आन्दोलनपछि 'महिला दिवस' भन्न थालिएपनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट 'श्रमिक महिला दिवस' नाम दिइ मनाइएको पाण्डेय बताउँछिन्।
श्रम कानुन ०७४ (दफा ४१) ले 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस'को रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस'को रूपमा ८ मार्च मनाउने निर्णय गरेको बताइन्छ।
महिलाहरूको सामाजिक‚ राजनैतिक‚ आर्थिक जीवन परिवर्तनमा धेरै हदसम्म भूमिका खेलेको बताइने यो अभियानले श्रमिक तथा आम महिलाहरूको जीवनमा भने अझै पनि उल्लेख्य प्रभाव पार्न नसकेको महिला आन्दोलनमा होमिएकाहरूको अनुभव छ।
हेटौँडाको त्यसबेलाको ८ मार्च

२०३७ सालमा झापामा पहिलो पटक ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको जानकारहरू बताउँछन्।
तर श्रमिक महिलाहरू स्वयम् संलग्न भइ ८ मार्च मनाउन थालेको हेटौँडा कपडा उद्योगबाट २०३८ सालमा हो भन्छिन् गोमा तिम्सिना।
तत्कालीन नेपाल स्वतन्त्र मजदुर युनियनमा रही मजदुर सङ्गठनमा समर्पित रहेको बताउने उनी हेटौँडामा ०३८ सालमा श्रमिक महिलाहरूको समान अधिकार र सुविधाको नारासहित विशाल जुलुस आयोजना भएको स्मरण गर्छिन्।
"८ मार्चको दिन छुट्टी पाउन गरेको सङ्घर्ष सम्झँदै उनी भन्छिन्, 'हामीले हेटौँडाका श्रमिकहरूसँग बसेर ८ मार्च मनाउनेबारे छलफल गर्यौँ।"
तिम्सिना थप्छिन्न्, "तर पञ्चालतकालमा त्यो कार्य सजिलो थिएन। आपसी छलफलपछि अन्ततः ८ मार्च मनाउने निर्णय भयो। ८ मार्चको बिहान हेटौँडा कपडा उद्योग सामु श्रमिक महिलाहरू भेला भयौँ। हामीले ठूलो जुलुस निकाल्यौँ। हेटौँडा बजार घुमेर भुटनदेवी माविको प्राङ्गणमा पुगि आमसभा गर्यौँ। जानी नजानी पहिलो पटक देश विदेशका कुरा गरेर ८ मार्च मनायौँ। हामी आयोजक कमिटीमा रहेका साथीहरूले दुईदुई रुपैयाँ उठाएर उतिबेला प्लेकार्ड बनाएका थियौँ। अहिले जस्तो कहाँ सजिलो थियो र?'
त्यसपछि हरेक वर्ष ८ मार्च धुमधाम गरी मनाउन थालेको गोमा बताउँछिन्। हेटौँडाको श्रमिक दिवस र ८ मार्चको कार्यक्रमलाई धेरैले विशेष चासोसहित हेर्ने गरेको उनी सम्झन्छिन्।
८ मार्चको प्रभाव
राजनीतिक तवरबाट शुरू भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय श्रमिक महिला दिवसका विषयहरू हुने गरेका छन्।
महिला हक अधिकार र समानताको लागि भएका कार्यहरूको स्मरण गर्दै भावी योजनाहरूबारे चर्चा गर्ने अवसरको रूपमा पनि यो दिनलाई लिने गरेको महिला अधिकारकर्मीहरू बताउँछन्।

सञ्चारकर्मी तथा महिला अधिकारको क्षेत्रमा कार्यरत रश्मिला प्रजापति ८ मार्चमा हुने सभा समारोह‚ जुलुस वा महिलालाई केन्द्र विन्दुमा राखेर गरिने हरेक कार्यक्रमले महिलाहरूलाई सचेत, सक्षम र साक्षर बनाउँदै लगेको अनुभूति हुने बताउँछिन्।
माइती नेपालले मार्च ८ सन्दर्भ पारेर गत पन्ध्र सोह्र वर्षदेखि विभिन्न क्षेत्रमा चुपचाप योगदान गरिरहेका महिलाहरूको पहिचान गरी उनीहरूलाई सम्मान गर्दै आएको संस्थाकी संस्थापक समाजसेवी अनुराधा कोइराला बताउँछिन्।
'कसैले पनि प्रशंसा नगरेको वा पहिचान नगरेको तर समाजमा निरन्तर योगदान गरिरहेका महिलाहरूलाई हामीले हरेक वर्ष ८ मार्चको दिनमा सम्मान गर्दै आएका छौँ। उनीहरूलाई सम्झिने वा उनीहरूको कामको सम्मान गर्ने कोही रहेछन् भनेर उनीहरू निकै खुशी भएको पाउँछौँ ।'
विन्दा पाण्डेय राजनीतिक सहभागिता, पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै जानुमा दिवसको पनि हात रहेको विश्वास गर्छिन्।
'नसुनेको दिवस'
लक्ष्मी विद्यालयमा पढाउँछिन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन विद्यालय छुट्टी हुने पक्का छ।
त्यसैले आफ्नो नानीहरूसहित माइती जाने योजनामा छिन्।
सिन्धुपाल्चोककी सुनमाया तामाङले भने आजसम्म ८ मार्च सुनेकी छैनन्।
मजदुरी गरेरै उनको दिन बित्छ तर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे उनलाई कुनै ज्ञान छैन।
दिनमा कति समय काम गर्दा उनको हातमा कति ज्याला पर्नु पर्छ भन्ने पनि उनलाई थाहा छैन। दिए लिने नदिए रित्तो हात फर्किने गरेको उनको अनुभव छ।
राजधानीमै बसोबास गरिरहेकी कुमारीलाई पनि ८ मार्च के हो थाहा छैन।
अरूको घरमा लुगा धोएर महिनामा कहिले ९ हजार कमाउँछिन् कहिले ७ हजार। घर चलाउने जिम्मा आफ्नो थाप्लोमा परेको बताउने उनी कोभिडको प्रकोपपछि आर्थिक अवस्था झन् जर्जर बनेको सुनाउँछिन्। दिनदिनै कामको खोजीमा आफ्नो समय बितिरहेको उनी बताउँछिन्।
यस्तै दयनीय अवस्थामा दिन र रात कटाइरहेका धेरै महिलाहरू हाम्रै समाजमा छन्।
उनीहरूलाई महिलाका लागि भनेर बनेका नीतिबारे जानकारी छैन।
चुनौतीको चाङ
गोमा तिम्सिना भन्छिन् 'राष्ट्रपति महिला पाएका छौँ‚ प्रधानन्यायाधीश महिला पायौँ‚ सभामुख पनि महिला पायौँ‚ तर श्रमिक महिला‚ घरभित्र दिनरात परिवारको लागि खटिरहने गृहिणी‚ अनौपचारिक काम गर्ने महिलाको श्रमको मूल्य मान्यता र उसको आत्मसम्मान र सुरक्षाको बारेमा निर्धक्क बोल्ने महिला पाएनौँ।'
महिला हकहितमा बोल्न खुट्टा कमाउने बोली लरबराउने र आफूमाथिको विश्वास अरूमाथि टेकेर गर्ने अवस्था रहुञ्जेल महिला आन्दोलनमा ८ मार्च वा अरू कुनै दिवसले प्रभाव पार्न नसक्ने उनी बताउँछिन्।
अधिकारकर्मी बबिता बस्नेत कानुनले महिलालाई सशक्त बनाइएको भएपनि त्यसको कार्यान्वयनको पाटो सोचेभन्दा फितलो भइदिँदा महिलाहरू अझै अन्यायमा परिरहेको बताउँछिन्।
महिलाबारे बनेका सरकारी नीतिनियम र कानुनबारे आमनागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिलाहरू पछाडि नै परिरहेको कैयौँको भनाइ छ।








