सर्वोच्च अदालतको फैसला: देउवा-प्रचण्ड-नेपालबीच आधा घण्टा कुराकानी

तस्बिर स्रोत, Composite Photo / RSS
नेपाल कम्युनिस्ट पार्टीका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधवार उनकै निवासमा छलफल गरेका छन्।
काठमाण्डूको बूढानीलकण्ठमा समसामयिक राजनीतिक विषयमा करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बीबीसी न्यूज नेपालीलाई बताए।
"उहाँहरू [प्रचण्ड र माधवकुमार नेपाल] मिलेर जाऔँ भन्ने प्रस्ताव लिएर आउनुभएको थियो। सभापतिले दलभित्र छलफल गर्छु भन्नुभयो," स्वकीय सचिव देउवाले भने।
प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले नेताहरूबीच समसामयिक राजनीतिक विषयमा 'राम्रो कुराकानी' भएको बताए।
"अहिलेको जुन सङ्कट छ त्यसबारे समझदारी गरेर अगाडि बढ्ने कुरा भयो," सापकोटाले बीबीसी न्यूज नेपालीसित भने।
समीकरण
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अथवा भावी सत्ता समीकरणको विषयमा नेताहरूबीच कुराकानी भए वा नभएको भन्ने जिज्ञासामा सापकोटाले त्यसबारे कुराकानी नभएको जनाए।
विघटनको निर्णयलाई 'असंवैधानिक' ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनर्स्थापित गर्ने फैसला गरेसँग राजनीतिक दलहरूले अहिले औपचारिक-अनौपचारिक तथा आन्तरिक छलफललाई तीव्र पारेका छन्।
प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको कांग्रेसले बिहीवार एउटा बैठक डाकेको छ।
कांग्रेसको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो विकासक्रमबारे छलफल गर्न पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाइएको हो।









