के प्रचण्ड नेतृत्वको नेकपाले माओवादीको 'जनयुद्ध दिवस' मनाउन छोडेको हो?

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा ओर्लिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डूको कोटेश्वरस्थित पार्टी कार्यालयमा फागुन १ गते शनिवार आयोजित कार्यक्रममा सहभागी भए।
केन्द्रीय कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको ब्यानरमा लेखिएको थियो, 'शहीद स्मृति तथा सम्मान कार्यक्रम'।
प्रचण्डको नेतृत्वमा रहको तत्कालीन माओवादी पार्टीले हरेक वर्ष फागुन १ गते मनाउने गरेको 'जनयुद्ध दिवस' नेकपा एमालेसँगको एकीकरणपछि नेकपाले मनाउन छाडेको छ।
एकीकरणपछिको पहिलो वर्ष 'जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली' कार्यक्रम आयोजना गरिएको थियो तर धेरैले चासो राखेको उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको सहभागिता थिएन।
माधव नेपाल पनि सहभागी भएनन्
शनिवारको कार्यक्रममा सहभागी नेता रघुजी पन्तका अनुसार एकीकरणपछि मनाउन थालिएको कार्यक्रमलाई 'शहीद स्मृति दिवस'को रूपमा निरन्तरता दिइएको हो।
प्रधानमन्त्री ओलीसँग मतान्तर भएपछि विभाजित नेकपाको उक्त समूहमा प्रचण्डसँगै माधवकुमार नेपाल पनि अध्यक्ष बनेका छन्।
तर पार्टी एक छँदा ओलीले प्राथमिकता नदिने गरेको फागनु १ को कार्यक्रमलाई यस वर्ष नेता नेपालको पनि प्राथमिकता दिएको देखिएन।
उनी राजधानीबाहिर भएकाले सहभागी नभएको नेता पन्तले जानकारी दिए।
तर पूर्वमाओवादीका एक नेताका भनाइमा आफ्नै दलका अध्यक्षको नेतृत्वमा भएको सशस्त्र विद्रोहलाई समेत सम्झिने गरिएको पूर्वनिर्धारित कार्यक्रम थाहा हुँदाहुँदै अध्यक्ष नेपाल राजधानीबाहिर जाँदा त्यसलाई महत्त्व नदिइएको सन्देश गएको छ।
स्थायी अन्त्य हो?
तर यस वर्षको कार्यक्रममा 'जनयुद्ध' भन्ने शब्द नै हटाइएको छ।
के प्रचण्ड नेतृत्वको दलभित्रै पूर्वमाओवादीहरूले भन्ने गरेको 'जनयुद्ध दिवस' को स्थायी अन्त्य भएको हो त?

तस्बिर स्रोत, RSS
कार्यक्रममा सहभागी नेता हरिबोल गजुरेलले भने, "त्यस्तो होइन, अहिलेको विशिष्ट स्थितिमा संयुक्त आन्दोलनको वातावरण बनाउन मद्दत गरोस् भनेर सबैलाई समेट्नुपर्ने आवश्यकता ख्याल गरेरै नयाँ मोडेलमा लग्न खोजेको हो। जनयुद्ध इतिहास हो, त्यो इतिहास रहिरहन्छ।"
कतिपयले पूर्वएमालेको असहमतिका कारण प्रचण्ड पक्षको नेकपाले 'जनयुद्ध दिवस' मनाउन नसकेको ठानेका छन्।
के अझै पनि त्यसलाई दिवसको रूपमा मनाउन अप्ठेरो छ?
नेपाल निकटस्थ नेता पन्तले भने, "अप्ठ्यारो वा नअप्ठ्यारो होइन, एकीकरणपछि जे गरियो त्यसैलाई निरन्तरता दिइयो।"
प्रचण्ड निकटस्थ अर्का नेताले भने, "जनयुद्ध सुरु भएको दिन शहीदहरूको सम्मानमा कार्यक्रम गर्ने पार्टीले निर्देशन नै दिएपछि शब्द नलेखिए पनि स्वत: जनयुद्ध भन्ने नै बुझियो नि। त्यसमा माधव नेपालको आपत्ति छैन। जनयुद्ध शब्द उच्चारण नै गर्न नचाहने त केपी ओली पो हो।"
प्रधानमन्त्री ओलीको सहानुभूति
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सशस्त्र विद्रोहमा मारिएका र घाइते भएकाहरूप्रति सहानुभूति प्रकट गरेका छन्।

तस्बिर स्रोत, RSS
उनले बुटवलमा आयोजित सभामा बोल्दै 'प्रचण्डले उचालेर, झूटा सपना बाँडेर कतिलाई मराएको, अङ्गभङ्ग गराएको, विधवा र टुहुराटुहुरी बनाएको' आरोप लगाए।
प्रचण्डले जनवाद, क्रान्ति र सुखका दिनको सपना देखाएको उनको आरोप थियो।
उनले घाइते, लडाकु र सबै पक्षका पीडितहरूलाई सम्मान गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, "उहाँहरूलाई सम्मानपूर्ण ढङ्गले परिचयपत्र वितरण गर्छौँ, शरीरमा गोली बोकेकाहरू, घाइते र अपाङ्ग जो छन्, उपचार गराएर अरू व्यवस्था गर्छौँ।"
ओलीले त्यसरी प्रचण्डको आलोचना र सशस्त्र विद्रोहमा सहभागीप्रति सहानुभूति दर्शाइरहँदा ल्होसारको शुभकामना दिएका प्रचण्ड-नेपालले 'जनयुद्ध दिवस'मा वक्तव्य समेत निकालेनन्।













