तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मार कू: निषेधाज्ञा तोड्दै विरोध प्रदर्शन जारी, प्रहरीद्वारा 'बल प्रयोग'
म्यान्मारमा सोमवार राति कर्फ्यु घोषणा तथा पाँच जनाभन्दा धेरै एकै ठाउँमा भेला हुन नपाउने गरी सैनिक सरकारले लागु गरेको निषेधाज्ञाको राजधानी नेपिद्अ, प्रमुख व्यापारिक सहर याङ्गुन, मान्डलेसहित देशभरका प्रमुख सहरमा अवज्ञा भएको छ।
हजारौँको सङ्ख्यामा म्यान्मारवासीहरू सडकमा उत्रेर सैनिक शासनको विरोध गरेका छन् र नेतृ आङ सान सू चीसहित सैनिक नियन्त्रणमा रहेका सबैको रिहाइको माग गरिहरेका छन्।
सोमवार अपराह्नसम्म १३४ जना सैनिक नियन्त्रणमा रहेको भनिएता पनि सोमवार साँझदेखि मङ्गलवार अपराह्नसम्म पनि गिरफ्तारी जारी रहेकाले थप अधिकारकर्मी, नेता र प्रदर्शनकारी प्रहरी नियन्त्रणमा पुगेको प्रमुख पार्टी न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ प्रतिशत मत ल्याए पनि सेनाले त्यो चुनावमा अनियमितता भएको भन्दै स्वीकार नगर्ने बताएको छ।
सैनिक प्रमुख मीन आङ लाइङले सोमवार राति सैनिक टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै देशलाई सही मार्गमा लग्न सेनाले संविधान अनुसारै शासनभार ग्रहण गरेको र यसमा सबैलाई समर्थन गर्न आव्हान गरे।
उनले नोभेम्बरमा भएको चुनावमा भएका धाँधली र अनियमितताको छानबिन गरिने बताएका छन्।
त्यस्तै एक वर्षमा चुनाव गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने भनेका छन्।
भइरहेका विरोध प्रदर्शनमा युवाहरूको ठूलो सहभागिता छ।
सैनिक शासनको नागरिक अवज्ञा पनि शुरू भएको छ।
चिकित्सकहरूले शुरू गरेको नागरिक अवज्ञामा मन्त्रालय र विभागका हजारौं कर्मचारीले सहभागिता जनाएका छन्।
उनीहरूले काममा नजाने भनेका छन्।
सरकारी सञ्चारमाध्यममा काम गर्ने केही सञ्चारकर्मीले पनि स्वेच्छाले काममा नजाने बताएका छन्।
नागरिक अवज्ञा अन्तर्गत काममा नजानेहरूलाई सरकारले जागिरबाट निकाले तिनलाई आर्थिक सहयोग गर्नका लागि कोषको व्यवस्था गरिएको छ।
कोषमा करोडौँ रुपैयाँ जम्मा भइसकेको अधिकारकर्मीले बताएका छन्।
मङ्गलवारको राजधानीमा भएको प्रदर्शनमा एक प्रहरी अधिकारी नागरिक अवज्ञा गर्दै प्रदर्शनकारीसँग मिल्न गएका छन्।
सैन्य मुख्यालय अगाडिको विरोधमा प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिरहेको बेला उनले आफू प्रजातन्त्रका लागि प्रदर्शनकारीसँग मिलेको बताए।
पानीका फोहराले लागी घाइते भएकाहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
याङ्गुनमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले युनिभर्सिटी एवेन्यू रोडमा रहेको अमेरिकी दूतावासको अगाडि सैनिक सरकारको विरोधमा प्रदर्शन गरिरहेका छन्।
यस्तै काचिन प्रदेशको माईटकीइनामा मङ्गलवार बिहान केही घण्टासम्म सैनिकले विरोध जुलुस रोकेका थिए।
तर जुलुसमा सहभागी बढ्दै गएपछि सेना पछि हटे।
प्रदर्शनकारीले नेतृ आङ सान सू चीसहित अन्य बन्दीलाई रिहा गर्न माग गरिरहेका छन्।
म्यानमारस्थित अमेरिकी दुतावासले आङ सान सू चीसँग भेट्न गरेको अनुरोधलाई सैनिक सरकारले अस्वीकार गरेको छ।
(म्यानमारस्थित एक नेपाली पत्रकारले पठाएको प्रत्यक्ष अनुभवमा आधारित रिपोर्ट)