एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

तस्बिर स्रोत, Getty Images
रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरू गिरफ्तार गरिएका छन्।
प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ।
गत आइतवार जर्मनीबाट देश फर्केका उनलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजन गरेको प्रदर्शन रुसका ६० सहरमा हुने अपेक्षा गरेका छन्।
को हुन् त नभाल्नी र किन रुस उनीबाट डराएको छ?
नभाल्नी को हुन्?
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन्।
उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता हुन्।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।
नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भए।
गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विषको हमला भयो। त्यसका लागि उनले पुटिनलाई दोषी मान्छन्।
क्रेमलिनले संलग्नता अस्वीकार गर्छ। तर नभाल्नीको आरोपलाई केही खोज पत्रकारहरूको अनुसन्धानले सही भएको देखाउँछ।

तस्बिर स्रोत, Reuters
क्रेमलिन किन डराउँछ?
बीबीसीका मस्कोस्थित सम्वाददाता स्टिभ रोसेनवर्ग भन्छन्, "लामो समयसम्म नभाल्नीलाई रुसी अधिकारीहरूले वास्तै गरेनन्। उनी मात्र एक ब्लगर थिए। केहीले उनलाई पढ्थे।"
"तर हालैका घटनाहरूले अर्को चित्र देखाउँछ। पहिले नभाल्नीलाई स्नायु विष दिएर मार्ने कोसिस गरियो र रुसले विषको बारेमा अनुसन्धान गर्नेभन्दा उनलाई गिरफ्तार गरेको छ।"
"नभाल्नीलाई जेल हालेपछि अधिकारीहरू उनका समर्थकहरूलाई दबाव दिइरहेका छन्। क्रेमलिनको सबैभन्दा ठूलो डर भनेको सत्ता परिवर्तन हुनसक्ने जनआन्दोलनको हो।"
"अहिले त्यस्तो हुने देखिएको छैन तर रुसको आर्थिक समस्या बढ्दो छ र कुनै बेला नागरिकको परिवर्तनको केन्द्र विन्दुमा नभाल्नी हुन सक्छन्।"
"अनि अब यो व्यक्तिगत झगडा बनेको छ। नभाल्नीले पुटिनको दरबार भन्ने भिडिओ सार्वजनिक गरेका छन् जसमा उनले पुटिनले गैरकानुनी ढङ्गले खर्वौँ पर्ने सम्पत्ति थुपारेको आरोप लगाएका छन्।"
गिरफ्तारीको घटनाक्रम
महिनौँपछि जर्मनीबाट मस्को फर्किएका नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए।
"म सही छु भन्ने मलाई थाहा छ। मलाई कुनै डर छैन," मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भनेका थिए।

तस्बिर स्रोत, Getty Images
उनका वकिललाई साथमा जान दिइएन।
यसअघि आइतवार उनको विमान अवतरण गर्ने भनिएको नुकोभो विमानस्थलमा थप दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो।
अन्य कैयौँ अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।
गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।
त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी अचेत भएका थिए।
उनलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो।

तस्बिर स्रोत, AFP
अन्य को गिरफ्तार?
नभाल्नीका प्रवक्ता किरा यार्मास र उनका एक वकिल ल्युबोभ सोबोललाई गिरफ्तार गरिएको छ।
उनीहरूलाई जरिवाना वा छोटो जेल सजाय हुनसक्ने बताइएको थियो।
सोबोललाई रिहा गरिएपनि यार्मासलाई नौ दिन जेलमा राखिने भएको छ।
अन्य सहरमा पनि नभाल्नीका चर्चित समर्थकहरूलाई गिरफ्तार गरिएको छ।
नभाल्नीको श्रीमती युलियाले 'आफ्नो लागि, नभाल्नीको लागि र आफ्नो बच्चाहरूका लागि, हाम्रो समान मूल्य र मान्यताका लागि' मस्कोमा प्रदर्शनमा सहभागी हुने जनाएकी छन्।








