अमेरिका राष्ट्रपति सत्तारोहणः जो बाइडन संसारकै 'सबैभन्दा शक्तिशाली' पदमा यसरी स्थापित हुनेछन्

बाइडन र ह्यारिस

तस्बिर स्रोत, Getty Images

राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन्।

उक्त महत्त्वपूर्ण दिनमा कोभिड-१९ नियन्त्रणका लागि लागु गरिएको मापदण्डदेखि सुरक्षासम्बन्धी चिन्ता अनि लेडी गागाको उपस्थितिस्म तपाईँले थाहा पाउनुपर्ने जानकारी यस्ता छन्।

कसरी हुन्छ सत्तारोहण?

अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ।

उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ। त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन्।

संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन्।

सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्रमहरू पनि हुनेछन्।

कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन्। साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ।

बाइडनको पदभार ग्रहण कति बजे हुन्छ?

कानुनअनुसार ज्यानुअरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन्।

प्रारम्भिक मन्तव्य ईसटीअनुसार बुधवार बिहान ११:३० बजे (नेपाली समयानुसार राति १०:१५ बजे) आरम्भ हुन्छ।

जो बाइडन र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ।

बाइडन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन् र त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ।

अमेरिकी संसद् भवन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्यानुअरी ६ मा ट्रम्पका समर्थकहरूले संसद् भवनमा छिरेर हुलदङ्गा गरेका थिए

सुरक्षा व्यवस्था कस्तो हुनेछ?

सत्तारोहण समारोहणमा विस्तृत सुरक्षा योजना बनाइएको हुन्छ। तर ज्यानुअरी ६ मा राष्ट्रपति ट्रम्प समर्थकहरूको भिडले अमेरिकी संसद्‌मा आक्रमण गरेपछि थप सुरक्षा व्यवस्था मिलाइएको छ।

उक्त दिन वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द हुनेछन्।

अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको छ र हजारौँ प्रहरीहरूलाई सहयोग गर्न न्याश्नल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ।

वाशिङ्टन डीसीमा अहिले नै सङ्कटकालको अवस्था छ र सत्तारोहणको दिनसम्म यस्तै रहनेछ।

सुरक्षा प्रयासको नेतृत्व गरिरहेका एजेन्ट म्याट मिलरले शुक्रवार संवाददाताहरूलाई एक वर्षभन्दा बढी समयदेखि उक्त समारोहको योजना बनाउने काम चलिरहेको बताए।

बाइडनले परम्परानुसार बाहिर नै शपथग्रहण गर्ने अडान व्यक्त गरिरहेका छन्। यसपालि सहभागीको सङ्ख्या भने कटौती हुनेछ।

के ट्रम्प पनि उपस्थित होलान्?

बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीले शपथग्रहण गरेको हेर्ने अभ्यास छ।

तर कहिलेकाहीँ त्यो परम्परा भङ्ग पनि हुनसक्छ। आफ्ना उत्तराधिकारी बाइडनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प नजाने भएका छन्।

ज्यानुअरी ८ मा ट्वीट गर्दै उनले शपथग्रहण समारोहमा भाग नलिने उल्लेख गरेका थिए। त्यो दिन उनी आफ्नो फ्लोरिडास्थित निवासमा बस्ने अनुमान गरिएको छ।

ट्रम्प र ओबामा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बराक ओबामा ट्रम्पको शपथग्रहण समारोहमा उपस्थित थिए

उनका कतिपय समर्थकहरूले उनीहरूले बाइडनले शपथ लिएकै समयमा अनलाइनमार्फत् राष्ट्रपति ट्रम्पको ‘दोस्रो सत्तारोहण’ को योजना बनाइरहेको उल्लेख गरेका छन्।

फेसबुकमार्फत् ६८ हजारभन्दा बढी मानिसले ट्रम्पप्रति समर्थन देखाउन उक्त कार्यक्रममा भाग लिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले शपथ लिँदा उनीसँग पराजित भएकी हिलरी क्लिन्टन उनका पति तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनसहित समारोहमा उपस्थित थिइन्।

अहिलेसम्म जम्मा तीन जना राष्ट्रपतिहरू – जन एडम्स, जन क्वीन्सी एडम्स र एन्ड्रू जनसन - मात्रै आफ्ना उत्तराधिकारीको शपथग्रहणमा सहभागी नभएको इतिहास छ। अघिल्लो शताब्दीमा कुनै पनि राष्ट्रपति त्यसरी अनुपस्थित भएनन्।

उपराष्ट्रपति माइक पेन्सले आफू शपथग्रहण समारोहमा उपस्थित हुने बताएका छन्।

कोभिड-१९ ले समारोहलाई कसरी परिवर्तन गर्नेछ?

साधारण अवस्थामा वाशिङ्टन डीसीमा लाखौँको सङ्ख्यामा मानिसहरू उक्त समारोहमा भाग लिन जाने गरेका थिए।

सन् २००९ मा पहिलो कार्यकालका लागि राष्ट्रपति ओबामाले शपथ लिँदा २० लाख मानिस वाशिङ्टन डीसी पुगेको ठानिन्छ।

तर यस पल्ट त्यस्तो उत्सव हुनेछैन। बाइडनको टोलीले सङ्ख्या एकदमै सीमित हुने भन्दै समर्थकहरूलाई राजधानीमा नआउन भनिरहेको छ।

डीसीका अधिकारीहरूले संसद् भवनमा भएको हुलदुङ्गापछि त्यो आग्रह दोहोर्‍याएका छन्।

ओबामा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००९ मा बराक ओबामाको पहिलो सत्तरोहण समारोहमा लाखौँ मानिस भेला भएका थिए

बाइडन र ह्यारिसले सन् १९८१ मा रेगनको पालामा सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद्‌को अगाडिपट्टि शपथ लिनेछन्। त्यहाँबाट मल पनि देखिन्छ।

द वाशिङ्टन पोस्टका अनुसार समाजिक दूरी कायम गरेर २०० जना मानिस उनीहरूसँगै मञ्चमा बस्नेछन्।

सबैले मास्क लगाउनेछन् र त्यहाँ उपस्थिति हुनु केही दिनअघि नै सबैको परीक्षण गरिने उल्लेख गरिएको छ।

बाइडनले जुन माहिनामा राष्ट्रपति पदका लागि शपथग्रहण लिने बेलामा आफूले मास्क नलगाउने बताएका थिए।

विगतमा औपचारिक समारोहमा भाग लिन झन्डै दुई लाख टिकट उपलब्ध हुनेगरेको भए पनि यसपालि एक हजार मात्रै छुट्याइएको छ।

यसपालि पेन्सिल्भेनीया एभन्यूदेखि ह्वाइट हाउससम्मको परम्परागत परेडको सट्टा अमेरिकाभरि भर्चूअल परेड गरिने भनिएको छ।

बाइडन, ह्यारिस र उनका परिवारका सदस्यहरूलाई ब्यान्ड र ड्रमसहितको सैनिक टोलीले ह्वाइट हाउसमा लैजानेछ।

संसद् भवन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नयाँ राष्ट्रपतिको सत्तारोहण समारोहका लागि यूएस क्यापटिल अर्थात् संसद् भवनबाहिर मञ्च बनाइएको छ

साङ्गीतिक कार्यक्रममा के हुँदैछ?

सत्तारोहण समारोहमा नयाँ राष्ट्रपतिहरूले देशका लोकप्रिय कलाकारहरूलाई कार्यक्रम गर्न लगाउने गरेका छन्।

महामारीका बीच यसपालि पनि त्यो परम्परालाई निरन्तरता दिइनेछ।

बाइडन र ह्यारीससँगै नयाँ राष्ट्रपतिको समर्थक रहेकी लेडी गागाले साङ्गीतिक प्रस्तुति दिनेछिन्। उनले राष्ट्रिय गान गाउने भनिएको छ।

साङ्गीतिक समारोहमा जेनिफर लोपेजले पनि गीत गाउनेछिन्।

बीयोन्से

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बीयोन्सेले ओबामाका दुवै सत्तारोहण कार्यक्रममा साङ्गीतक कार्यक्रम प्रस्तुग गरेकी थिइन्

बाइडनले शपथग्रहण गरेपछि प्राइमटाइम टेलिभिजनमा अभिनेता टम ह्यान्क्सले ९० मिनेटको कार्यक्रम सञ्चालन गर्नेछन्।

साधारणतया स्वयम् उपस्थित भएर गर्ने गरिएको त्यस्तो कार्यक्रमको ढाँचा कोभिडको कारण परिवर्तन गरिएको हो।

त्यसमा बोन जोभी, डेमी लोभाटो र जस्टिन टिम्बरलेक सहाभागी हुनेछन्।

उक्त कार्यक्रम राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने फक्स न्यूजबाहेक अमेरिकाका सबै प्रमुख नेटवर्कहरूबाट प्रसारण हुनेछ।

line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'जो बाइडन पनि मजस्तै भकभक गर्छन्'