कोरोना भाइरस नेपालः यूकेबाट आएका तीन जनामा नयाँ प्रकारको कोरोनाभाइरस

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

गत महिनामा यूकेबाट नेपाल आएका केही व्यक्तिमा नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार त्यतिबेला नेपाल फर्किएकामध्ये छ जनामा कोभिड-१९ पुष्टि भएपछि तीन जनाको नमुना हङ्‌कङस्थित प्रयोगशालामा पठाइएको थियो।

तीन जनामै नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको र त्यो यूकेमा देखिएकै प्रकार भएको पुष्टि भएको मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार उनीहरू ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक महिला हुन्।

तीमध्ये अहिले दुई पीसीआर परीक्षणमा भाइरसमुक्त देखिइसकेका छन् भने पजिटिभ देखिएका अर्का व्यक्ति लक्षणमुक्त भएको बताइएको छ।

मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा २०७७ साल पौष २७ गते विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा उनीहरूको नमुना हङ्‌कङ पठाइएको र इमेलमार्फत् नतिजा प्राप्त भएको उल्लेख छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ कोरोनाभाइरसमाथि खोप प्रभावकारी हुन्छ त?

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह समेत गरेका छन्।

यसअघि नै सरकारले यूकेबाट नेपाल आउन रोक लगाउने निर्णय गरिसकेको छ।

विभिन्न देशको ट्रान्जिट हुँदै आएकालाई होटल क्वारन्टीनमा राखेर परीक्षणपछि मात्र घर जाने व्यवस्था गरेको छ।

नेपालमा अहिलेसम्म दुई लाख ६७ हजारभन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ।

तीमध्ये अहिलेसम्म ९७.८ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् भने १,९६५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?