कोरोना भाइरस नेपाल: नेपालमै भाइरसको नयाँ प्रकार जन्मने खतरा टडकारो रहेको विज्ञको भनाइ

तस्बिर स्रोत, Getty Images
यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएका बेला सरकारले यूकेबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
तर विज्ञहरूले नेपालमा कोरोनाभाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण कम गरेकोप्रति गम्भीर चिन्ता प्रकट गर्दै भाइरसले खेल्ने ठाउँ धेरै पाए नेपालमै पनि नयाँ कोरोनाभाइरसको प्रकार उत्पत्ति हुनसक्ने बताएका छन्।
नेपाल र यूकेबीच सिधा हवाई सेवा नभए पनि विभिन्न देश हुँदै यूकेबाट मानिसहरू आउने गरेका छन्।
सोमवार नै नागरिक उड्ययन प्राधिकरणले सबै वायुसेवालाई बुधवार राति ११:५९ पछि यूकेबाट वा यूके हुँदै नेपाल आइपुग्ने यात्रुहरूलाई नल्याउन निर्देशन दिएको छ।
जसका कारण यूकेमा देखिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने आशङ्काहरू व्यक्त भइरहेका छन्।
यसै सन्दर्भमा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समिति बैठकले यूकेबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको संयोजक महेन्द्र गुरागाँइले बताए।
उनी भन्छन्, "यूकेबाट आउन अहिले रोक लगाउने निर्णय भएको छ।"
"ट्रान्जिटमा आइसकेका र उडान शुरू गरिसकेकाहरूका लागि होटलमा क्वारन्टीन राखेर स्वास्थ्यले परीक्षण गरेर पठाउने तर उडान बाँकी रहेकाहरूलाई भने रोक्ने निर्णय भएको छ।"

तस्बिर स्रोत, EPA
यस्तो निर्णयको जानकारी सबैलाई पठाइसकिएको र यूकेबाट अनि यूके हुँदै कुनै पनि यात्री अव अर्को निर्णय नभएसम्म नेपाल आउन नपाउने उनको भनाइ छ।
कोरोनाभाइरको नयाँ प्रकारलाई नेपाल भित्रिन नदिन सरकारले यस्तो निर्णय गर्नु सकारात्मक भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ।
केही जनस्वास्थ्यविद्ले नेपालमै पनि कोरोनाभाइरसले रूप फेर्न सक्ने जोखिम रहेको भन्दै परीक्षण, सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजी र आइसोलेशनलाई बढाउनु पर्ने धारणा राखेका छन्।
पछिल्ला दिनमा परीक्षण घट्नुले पनि सङ्क्रमणले अर्को रूप लिने हो कि भन्ने चिन्ता जनस्वास्थ्यविद्मा पाइन्छ।

तस्बिर स्रोत, AFP
नेपाल भित्रै पनि उक्त भाइरसले अर्को रूप लिने जोखिम कायम भएको औंल्याउँदे सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी भन्छन्, "अहिलेकै कोरोनाभाइरस पटक्कै नियन्त्रण भएको छैन जस्तो देखिन्छ।"
उनी भन्छन्, "त्यस्तो अवस्था रह्यो भने नयाँ प्रकार आएको पनि हामीले पत्ता लगाउन सक्दैनौँ। भाइरसले प्रशस्त खेल्ने ठाउँ पायो भने चाहिँ नयाँ नयाँ प्रकार उत्पन्न त्यसरी हुन्छ।"
"त्यसैले सङ्क्रमितको सङ्ख्या कम हुन सक्यो भने मात्रै हामी नयाँ प्रकार आउने सम्भावनाबाट जोगिन सक्छौँ।"
"महामारी नियन्त्रणका सामान्य उपायहरू परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेशन र क्वारन्टीनका काम तीव्र बनाउनुपर्छ। उच्चतम राजनीतिक निकायले यसलाई आफ्नो समस्याक रूपमा लिनुपर्छ र सङ्ख्या कम भएको नक्कली तथ्याङ्कका पछि लाग्न हुँदैद्द" डा. सुवेदीको सुझाव छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









