कोरोना भाइरस: सङ्क्रमित एउटा जोडीको अस्पतालमा अन्तिम भेट

अन्तिम भेट

तस्बिर स्रोत, Chloe Keljarrett

कोरोनाभाइरस सङ्क्रमित वयोवृद्ध एउटा जोडीलाई अस्पतालले एक अर्कालाई अन्तिम पटक भेट्न बहुमूल्य समय दिएको छ।

यूकेको ब्राकनेलका गेरी र बारबारा जारेट सरेको फ्रिमले पार्क अस्पतालको छुट्टाछुट्टै वार्डमा उपचाररत थिए।

उनीहरूको छोरीले ट्विटरमा अन्तिम भेटको तस्बिर हाल्दै आफ्नी आमा अन्तिम अवस्थामा देखिएकी बताएकी छन्।

अस्पतालको कारण आफ्ना आमाबुवाले बहुमूल्य थप समय सँगै बिताउन पाएको उनले बताएकी छन्।

ती छोरीले ५० वर्ष सँगै बिताएका ७९ वर्षीय पिता र ७६ वर्षीया आमा कोभिड-१९ का कारण दुई साताअगाडि अस्पताल भर्ना गरिएको बताइन्।

मङ्गलवार उनले लेखिन्: "महामारीबीच अस्पतालका स्वास्थ्यकर्मीले मेरा मातापिताबीच शायद अन्तिम पटक भेटको मौका मिलाइदिए।"

उनले बुधवार पनि आमाबुवाले भेटेको र आमा अन्तिम अवस्थामा जस्तो देखिएकी लेखिन्।

उनले लेखिन्: "बुवा ह्वीलचेयरमा रुँदै आमाको हात समाए र उनको आँखा खुल्यो। उनी बिउँझिन्, उज्याली भइन् र बोल्न पनि सकिन्।"

"उनीहरूले बहुमूल्य एक वा दुई घण्टा पाए जुन आमालाई श्वास फेर्न निकै गाह्रो भएपछि सकियो।"

अस्पताल

तस्बिर स्रोत, Frimley Health NHS Foundation Trust

विद्यालय शिक्षिका छोरीले आफ्नो पिताको स्वास्थ्यमा सुधार भएको तर अझै लामो यात्रा बाँकी रहेको बताइन्।

"बुवालाई अन्य रोगहरू पनि छ जसले निको हुने कुरा अलि कठिन बनाउँछ। तर यो भाइरसलाई जितेर उहाँ आउनुहुन्छ भन्ने कुरामा म सकारात्मक रहनुपर्छ।"

उनले दोहोरो शिफ्टमा काम गरिरहेका अस्पतालका स्वास्थ्यकर्मीलाई भेटेको बताइन्।

"उनीहरू शारीरिक र भावनात्मक रूपमा थाकेको बेला पनि कसरी यस्तो करुणा देखाउन सक्छन् मैले बुझेको छैन," उनले भनिन्।

उनको ट्विटर पोस्टमा कमेन्ट गर्दै अस्पतालले लेखेको छ: "हाम्रो मन तपाईँ र तपाईँको परिवारसँगै छ।"

"हाम्रा स्वास्थ्यकर्मीले तपाईँका लागि यो समय अलि सहज बनाउन सकेकोमा हामी खुसी छौँ। यो हामीले दिने सबैभन्दा महत्त्वपूर्ण हेरविचार हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ कोरोनाभाइरसमाथि खोप प्रभावकारी हुन्छ त?