विद्यालय शिक्षा: शारीरिक अपाङ्गता भएकाहरूको पढाइमा 'अब्बल रुचि'

अपाङ्गता
तस्बिरको क्याप्शन, अपाङ्गता भएका बालक शिव गिरीलाई घरमै पढाउदै सहजकर्ता विना गिरी
    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

हिँडेर विद्यालय जान नसकेकै कारण पढाइबाट वञ्चित तिलागुफा नगरपालिका कालिकोटका शंकर न्यौपाने अहिले घरमै पढिरहेका छन्।

शारीरिक अपाङ्गताले पढन नपाएको छोराले ढिलै भएपनि घरमै पढने अवसर पाउँदा धेरै खुशी लागेको आमा शान्ता न्यौपाने बताउँछिन्।

उनी भन्छिन्, घरायसी कामले गर्दा हामीले छोराको पढ्ने धोको पूरा गर्न सकेका थिएनौँ, अहिले छोरालाई पढाउने धोको मेटिएको छ।

५ बर्षको हुँदा आगोले पोलेपछि आर्थिक अभावले उपचार गर्न नसक्दा शंकर कहिल्यै पनि हिँड्‌डुल गर्न नसक्ने अवस्थामा पुगेका थिए।

आफूसँगैका साथीहरू विद्यालय गएको देख्दा पढने रहर गरेपछि शंकरलाई बोकेरै केही दिन विद्यालय लाँदा साथीहरूले गिज्याएको भन्दै बीचमै पढाइ छाडेको गुनासो शान्ता सुनाउँछिन्।

पढने धोको पूरा

अडिओ क्याप्शन सुरु हुँदैछ, जसको सफलतामा अपाङ्गता बाधक भएन

घरमै पढन पाएपछि हिँडेर विद्यालय जान नसक्ने जाजरकोट कुशे गाउँपालिका पैंकका शिव गिरीको पनि पढने धोको पूरा भएको छ।

११ बर्षको उमेरमा अहिले दुई कक्षामा पढिरहेका उनको सानैदेखि पढ्ने चाहना भएपनि विद्यालय जान नसक्दा पढ्ने चाहना अधुरै थियो।

छोरासँगैका बालबालिका पढ्न जाँदा मन खिन्न भएपनि जिमदार (खेतीपाती) गर्नु पर्ने बाध्यताले गर्दा विद्यालय लैजान नसक्दा छोराले पढन पाएन, शिवका बुवा जयबहादुरले भने, "अब उसको भविष्य सप्रिन्छ कि भन्ने आशा पलाएको छ।"

घरमै पढाउने व्यवस्था

विद्यालय जान नसकेर पढाइबाट वञ्चित जाजरकोट, दैलेख र कालिकोट जिल्लाका शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाले अहिले घरमै पढने अवसर पाएका छन्।

सेभ द चिल्ड्रेनसँगको सहकार्यमा कर्णालीका केही स्थानीय तहले अपाङ्गता भएका बालबालिकालाई घरमै पढाउने व्यवस्था मिलाएका छन्।

अपाङ्गता

जाजरकोटको कुशे, दैलेखको गुँरास र कालिकोटको शुभकालिका गाउँपालिका, जाजरकोटको छेडागाड र कालिकोटको तिलागुफा नगरपालिकाले अपाङ्गता भएका अहिले २३ जना बालबालिकाले अहिले त्यसरी पढ्न पाइरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मैले मेरो बच्चालाई विष दिन अस्वीकार गरेँ

६ जना छोराछोरीमध्ये ४ छोराहरू शारीरिक अपाङ्गता भएका जाजरकोटका विशाखर जैसी भन्छन, "पढाउने चाहना भएपनि उनीहरूलाई विद्यालय लिएर पढाउन सकेका थिएनौँ, अहिले घरमै पढन पाएको देख्दा सन्तुष्टि मिलेको छ।"

सानैदेखि हिँड्‌डुल गर्न नसक्ने उनीहरूलाई स्याहार गर्न निकै मुस्किल पर्ने गरेको उनी बताउँछन्।

पढाइमा उछिन्दै

सहजकर्ताहरूले अपाङ्गता भएका बालबालिकालाई शनिवारबाहेक हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म पढाउँछन्।

अपाङ्गता भएका बालबालिकालाई घरमै गएर पढाइरहेका सहजकर्ताहरू भने पढाइप्रति उनीहरूले निकै रुचि राख्ने गरेको बताउँछन्।

अपाङ्गता भएका बालक शिवलाई पढाइरहेकी विना गिरी भन्छिन, पढाइप्रतिको रुचि र लगावकै कारण उसले अरू विद्यार्थीलाई पढाइमा उछिनेको छ।

घरमै पढेपनि नजिकैको विद्यालयमा भर्ना भएका उनीहरूलाई विद्यालयले नै परिक्षा लिने गर्छ।

विद्यालय जान नसक्दा पढाइबाट वञ्चित बालबालिकाहरू पनि घरमै पढने अवसर पाउँदा निकै खुशी छन्।

स्थानीय सरकार र विभिन्न निकायबाट सहयोग पाइरहे उच्च शिक्षा पढेर आत्मनिर्भर बन्ने सपना छोराछोरीको रहेको अभिभावक बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, करेन्ट लागेर दुइटै हात गुमाएपछि...

कम्तीमा १२ कक्षासम्म घरमै पढने व्यवस्था भए आफ्ना छोराछोरीको भविष्य सप्रिने आशा अभिभावकहरू व्यक्त गर्छन।

पढाउन छोडे छोराछोरीको पढाइ बिग्रन्छ कि भन्ने चिन्ताले पनि उनीहरूलाई पिरोल्ने गरेको छ।

उच्च शिक्षा स्थानीय तहले पढाउने

कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत शारीरिक अपाङ्गता भएका बालबालिकालाई उच्च शिक्षासम्म गाउँपालिकाले नै पढाउने बताउँछन्।

उनी भन्छन्, "शारीरिक रूपमा अपाङ्गताले विद्यालय जान नपाएर पनि शिक्षाको पुहँचबाट बञ्चित हुन नदिन उनीहरूले जति पढन उति पढाउँछौँ।"

कुशे गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाको लागि घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटले उनीहरूलाई आधारभूत शिक्षा दिन घरमै पढाउने व्यवस्था मिलाइएको बताएको छ।

कर्णाली
तस्बिरको क्याप्शन, जाजरकोटको कुशे गाउँपालिका

अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्की भन्छन्, "विद्यालय जान नसकेपनि उनीहरू अब भने पढाइबाट वञ्चित हुँदैनन्।"

शारीरिक रूपमा अपाङ्गताकै कारण पढाइबाट वञ्चित अरू बालबालिकालाई पनि घरमै पढने अवसर दिनु पर्ने कर्णालीबासी बताउँछन्।

कम्तीमा पनि उच्च शिक्षासम्म पढने अवसर पाए भने अपाङ्गता भएका बालबालिकाको अरूमाथिको निर्भरता घटने विश्वास उनीहरूको छ।

विद्यालय आउन नसक्ने अपागता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन घरमै पढाउने व्यवस्था गरिएको हो।

तीन बर्षसम्म पढाइमा सघाउने र त्यसपछि स्थानीय तहले उनीहरूको पढाइको जिम्मा लिने सेभ द चिल्ड्रेनका बामुकुन्द महत बताउँछन्।

नेपालमा विद्यालयको पहुँचबाट बाहिर रहेका चार प्रतिशतमध्ये दुई प्रतिशत अपाङ्गता भएका बालबालिका रहेको उनले बताए।

हिँडेर विद्यालय जान नसक्ने बालबालिकाकालाई विद्यालयको पहुँचमा ल्याउन सङ्घीय र प्रदेश सरकारले भने कुनै पनि कार्यक्रम सञ्चालन नगरेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ।