वायु प्रदूषण: काठमाण्डूमा स्वास्थ्यका लागि 'हानिकारक अवस्था', कसरी जोगिने?

तस्बिर स्रोत, Reuters
काठमाण्डू उपत्यकामा वायु प्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम होस् भनेर विशेष ख्याल गर्नुपर्ने बताएका छन्।
पौष महिनाको उत्तरार्धमा सोमवार काठमाण्डू उपत्यकाको धुम्मिएको थियो। मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको थियो।
वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) अनुसार सोमवार राति विश्वका विभिन्न सहरमध्ये काठमाण्डूमा वायु प्रदूषण निकै धेरै देखिएको थियो।
सोमवार साँझ ७ बजेतिर काठमाण्डूको रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो।
उक्त अङ्कले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउने वातावरणविद् भूषण तुलाधर बताउँछन्।

तस्बिर स्रोत, Screenshot
सोमवारभन्दा मङ्गलवार एक्यूआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको उनी बताउँछन्।
वन तथा वातावरण मन्त्रालयको वेबसाइटअनुसार मङ्गलवार काठमाण्डूको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा एक्यूआई ३०० भन्दा बढी नै देखिन्छ।
वायु गुणस्तरको व्यवस्थापनका लागि भनेर सरकारले गत वर्ष माघमा काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो।
काठमाण्डूमा किन बढी जोखिम?
काठमाण्डू उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन्।
उनले भने, "हिजो बादल धेरै लागेको थियो र यसले गर्दा कचौरा आकारको काठमाण्डू उपत्यकाको प्रदूषण जहाँको तहीँ रह्यो, दोस्रो भनेको काठमाण्डू उपत्यकाको वरिपरिका वनहरूमा डढेलोको कुराहरू पनि आइरहेका छन् र तेस्रो कारण भनेको जाडोका कारण मानिसहरूले आगो ताप्ने, फोहोर बाल्ने गरेका छन् त्यसले पनि हिजो र आज नै वायु प्रदुषणको अवस्था खराब देखाएको हो।"

तस्बिर स्रोत, RSS
काठमाण्डू उपत्यकाको बनोटकै कारण वायु प्रदूषणको प्रतिकूल अवस्था दोहोरिरहने भन्दै यसको न्यूनीकरणका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने तुलाधर बताउँछन्।
शनिवार सूदुरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुका कारण देशका विभिन्न भाग धुम्म रहेको र बिहीवारसम्ममा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर काठमाण्डू उपत्यकामा भने बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
यो वर्ष कोरोनाभाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने चिकित्सकहरू बताउँछन्।

भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेले जाडोमा न्यानोका लागि बन्द कोठामा कोइला बाल्ने, हीटर चलाउने जस्ता काम रोक्नुपर्ने सुझाव दिएका छन्।
उनले भने, "बरु बाक्लो लुगा लगाएर, तातो पानी पिएर आफूलाई न्यानो राख्नुपर्छ। दमका बिरामीहरू पनि अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्ने गर्नुपर्छ।"
जाडोयाममा देखिने अन्य रोगहरू र कोरोनाभाइरसका लक्षणहरू सामान्यतया उस्तै हुने भएकाले शङ्का लाग्ने बितिक्कै परीक्षण गर्न पनि उनले सुझाएका छन्।
वातावरणविद् भूषण तुलाधर भने खासगरी अहिलेको प्रदूषणका बेला ट्राफिक धेरै हुने क्षेत्रमा बिहान बेलुका नहिँड्न, मास्क लगाएर मात्रै घरबाहिर निस्किन र न्यानोका लागि आगो नबाल्न सुझाउँछन्।
"हिँड्नै परे पनि दिउँसो २/३ बजेको समयमा ठिक हुन्छ। बिहान र बेलुकाको समयमा हामीले हिँड्दा स्वास्थ्यमा बढी असर गर्छ।"
के भन्छ सरकार?
सोमवारदेखि काठमाण्डूमा वायु प्रदूषणको स्तर बढेको भन्दै सरकारले विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरूलाई सजग रहन भनेको छ।
वातावरण विभागले प्रदूषणबाट दम र खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीहरू बढि प्रभावित हुने समेत जनाएको छ।
उनीहरूप्रति लक्षित गर्दै त्यस्ता व्यक्तिहरू "घरबाहिर ननिस्कन" र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधान अपनाउन विभागले एक विज्ञप्तिमार्फत् आह्वान गरेको छ।
सरकारी विज्ञप्तिमा काठमाण्डूमा जस्तै तराई क्षेत्रका नेपालगन्ज र विराटनगरमा समेत प्रदूषणको मात्रा बढेको उल्लेख गरिएको छ।








