किन भीमबहादुरले एक्लै २५ बर्षदेखि डाँडो काटिरहेका छन्?

Dailekh tupi danda
    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

अग्लो ठाउँमा शिव मन्दिर बनाएर आफ्नो गाउँलाई धार्मिक पर्यटकीय स्थलका रूपमा चिनाउन झण्डै १५-२० मीटर अग्लो डाँडो काटेर मैदान बनाएको भीमबहादुर शाही बताउँछन्।

२०५२ सालदेखि निरन्तर रूपमा डाँडो काटेर मैदान बनाएका उनले चौरतिर पर्खाल, शिव मन्दिर बनाउने ठाउँसम्म पुग्ने सिँढी, शिव लिङ्ग, शिवजीको वाहनको मूर्ति, होमकुण्ड, तुलसीको मठ निर्माण गरेका छन्।

आर्थिक अभावले गर्दा शिव मन्दिर भने अझै बनाउन नसकेको उनले बताए।

भारतीय सेनाबाट अवकाश पाएपछि डाँडो काट्न सुरु गरेका उनी भन्छन्, "शिव भगवान अग्लो ठाउँमा बस्ने भएकोले शिव मन्दिर बनाउन थालेको हुँ।"

सुर्खेत-दैलेख सडक खण्डको गुराँसेबाट तीन किलोमिटर दक्षिण सतुवाचौरको डाँडोमा शिव मन्दिर बनाउँदा दैलेखका प्रसिद्ध धार्मिकस्थल दर्शन गरेर फर्किनेलाई आकर्षित गर्न सकिने उनी ठान्छन्।

गाउँ चिनाउने चाहना

डाँडोलाई सम्याउन घरजग्गा र पेन्सन पट्टा पनि ब्याङ्कमा धितो राखेर पैसा निकालेको बताउने भीमबहादुर एक्लै गर्न नसक्ने काममा अरू मान्छेहरू लगाउँदा १२ लाख रुपैया खर्च भएको बताउँछन्।

६४ बर्षीय शाहीले भने, "यतिको दुःख अरू ठाउँमा गरेको भए धेरै पैसा कमाउन सक्थेँ होला, तर पैसा कमाउने भन्दा गाउँ चिनाउने उत्कट चाहनाले अरू काम गरिन।"

"त्यसैले यसमै आत्मसन्तुष्टि मिलेको छ। मरिलानु केही छैन।"

Dailekh tupi danda

सुरुसुरुमा किन यस्तो दुःख गरेको भन्ने गाउँका मानिसहरू अहिले आफ्नो काम देखेर खुशी हुने गरेको उनी बताउँछन्।

हेर्दाहेदै नाङ्गो डाँडो 'हेर्न लायक'

समुद्र सतहबाट दुई हजार मीटरको उचाइ रहेको दैलेख र सुर्खेतको सीमानामा रहेको त्यो ठाउँबाट तराइको फाँट र हिमालसहित चारैतिरका दृश्यहरू देख्न सकिन्छ।

"धेरै ठूलो पर्यटकीय सम्भावना देखेर डाँडो काटेर मन्दिर बनाउने आँट गरेको हुँ," उनी भन्छन्, अग्लो डाँडामा शिव भगवानको बास हुन्छ भन्ने धार्मिक मान्यता छ।

"बिहानै पाँच बजे उठेर साँझ ६-७ बजेसम्म काम गर्न थालेको २५ बर्ष भयो," श्रीमती गीता शाही भन्छिन्, "छोरा बुहारीहरू वीरेन्द्रनगरमै बस्छन। उहाँको काममा मैले नै साथ दिएकी छु।"

आफ्नो गाउँलाई चिनाउन भीमबहादुरले धेरै दुःख गरेको स्थानीय बासिन्दा बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, साइकलको कथा

डोजर, स्काभेटरजस्ता आधुनिक मेसिनको प्रयोगबिना नै कुटो, कोदालो, फरुवा, घैंटी बिल्छे, सावेलकै भरमा त्यत्रा चट्टान फोरेर डाँडोलाई सम्म बनाउनु सानो काम नभएको उनीहरूले बताए।

"हेर्दाहेदै उहाँले नाङ्गो डाँडो हेर्न लायक बनाउनुभएको छ," दुई दशकदेखि भीमबहादुरको दुःख नियाल्दै आएकी हरिमाया सारुमगर भन्छिन्, "त्यत्रो पहरालाई फुटाएर डाँडोलाई आर्कषक र चिटिक्क बनाउनु चानचुने काम होइन।"

सहयोगको खाँचो

गाउँको सिरानमा धार्मिकस्थल भएपछि पुजाआजा गर्न र शिवरात्री मेला लगाउन सजिलो भएको अर्की स्थानीय मनिशा चलाउने बताउँछिन्।

tupi danda

अच्चम मान्दै उनी भन्छिन्, "यत्रो काम कसरी आँट्नु भयो होला, हामी त सोच्न पनि सक्दैनौँ।"

सबैतिर दृश्यावलोकन गर्न सकिने भएकोले जो कोही पनि आनन्दसँग रमाउने र मोहित हुने गरेको हेर्न आएकाहरू बताउँछन्।

डाँडो काटेर मन्दिर बनाइरहेको चर्चा चारैतिर फैलिएपछि हेर्न आउने मानिसको सङ्ख्या पनि दिनदिनै बढिरहेको स्थानीय मानिसहरू सुनाउँछन्।

मन्दिर बन्ने ठाउँसम्म सडक जोड्न गुराँस गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफ्नै नक्कली अन्तिम संस्कारमा सहभागी हुने मानिसहरू

यो ठाउँलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके स्थानीय बासिन्दाले आर्थिक लाभ लिन सक्ने पनि उनको ठम्याइ छ।

बुढेसकालले छोएपछि पहिले जस्तो धेरै काम गर्न पनि नसकिने, मन्दिर बनाउन धेरै खर्च लाग्ने भएकोले बाँकी काम र मन्दिर निर्माण गर्न सहयोगको खाँचो परेको भीमबहादुर बताउँछन्।