सम्पत्तिमाथि पिताको नियन्त्रण रोक्न हालिएको मुद्दा ब्रिट्नी स्पीएर्सले हारिन्

तस्बिर स्रोत, Reuters
आफ्नो सम्पत्तिको संरक्षकबाट पितालाई हटाउने ब्रिट्नी स्पीएर्सको प्रयासलाई अमेरिकाको एउटा अदालतले अस्वीकार गरेको छ।
मानसिक स्वास्थ्यको विषय उठेपछि उनका पिता जेमी स्पीएर्सले १२ वर्षदेखि उनको कानुनी संरक्षक रहँदै आएका छन्।
स्पीएर्सका वकिलले पपस्टार स्पीएर्स आफ्ना पितासँग "त्रस्त" रहेको र उनी संरक्षक रहँदासम्म कुनै कार्यक्रम नगर्ने बताएका छन्।
उनका पिताका वकिलले भने उनले सधैँ छोरीको हितका लागि काम गरेको तर्क गरेका छन्।
न्यायाधीशले स्पीएर्सले भविष्यमा पितालाई हटाउन थप मुद्दा दायर भने गर्न सक्ने बताएका छन्।
यसैबीच, स्पीएर्सको अनुरोधमा वित्तिय कम्पनी बेस्सेमर ट्रस्ट उनको सहसंरक्षण बनेको छ।
मङ्गलवार सुनुवाइको क्रममा स्पीएर्सका वकिल स्यामुअल इङ्गमले बुवाछोरीबीच "लामो समयदेखि बोलचाल" नभएको र उनीहरूबीच "सँगै काम गर्ने सम्बन्ध नरहेको" बताएका थिए।

तस्बिर स्रोत, Getty Images
तर जेमीकी वकिल भिभियान थोरिनले भने बुवाछोरीबीच लामो समयदेखि कुराकानी नहुनुमा इङ्गमले स्पीएर्सलाई त्यस्तै गर्न सुझाएको बताएकी छन्।
थोरिनले छोरीको संरक्षकका रूपमा पनि पिता स्पीएर्सको बचाउ गरेकी छन्।
उनले संरक्षकको रूपमा जिम्मेवारी सम्हाल्दा स्पीएर्सले दशौँ लाख डलरका थुप्रै मुद्दाहरू लडिरहेको बताएका छन्।
पिताको मार्गनिर्देशमा रहँदा अहिले उनको छ करोड डलर बराबर सम्पत्ति रहेको उनले बताएकी छन्।
स्पीएर्सका प्रशंसकले उनलाई उनका पिता र अन्यले कैद गरेको राखेको ठान्छन्। त्यसैका लागि "फ्री ब्रिट्नी" नामक आन्दोलन पनि चलेको थियो।
किन संरक्षक राखिएको थियो?

तस्बिर स्रोत, Getty Images
अदालत निर्देशित सम्झौता अन्तर्गत सन् २००८ यता ब्रिट्नी स्पीएर्सले आफ्नो वित्तीय मामिला र काममा उनको नियन्त्रण छैन।
मानसिक समस्या वा बिर्सने रोग भएका र आफ्ना लागि आफैँ निर्णय लिन नसक्नेलाई संरक्षण दिइन्छ।
थुप्रै वर्षदेखि उनका पिता र वकिलले उनको सम्पत्ति र व्यक्तिगत जीवनको व्यवस्थापन गरिरहेका छन्।
त्यस्तो व्यवस्थापनमा उनले कसलाई भेट्ने र उपचारका लागि चिकित्सकसँग गर्ने सम्पर्क पनि समेटिन्छ।
चर्चित गायिकाले सन् २००७ मा अव्यवहारिक व्यवहार देखाउन थालेकी थिइन् र सम्बन्धविच्छेद भएपछि सन्तान राख्न पाउने मुद्दा हारेकी थिइन्।
उनमा भएको भनिएको मानसिक विचलन सार्वजनिक ठाउँहरूमा पनि देखिएको थियो।
उनले आफ्नो कपाल खौरिएको पत्रिकामा शीर्ष समाचार बनेका थिए।
उनी थुप्रैपटक पुनर्स्थापना केन्द्रमा गएकी थिइन्।
संरक्षणमा रहेका वर्षहरूमा उनले तीनवटा एल्बम निकालेकी छन्।








