भारत र अमेरिकाबीच भएको 'बेका' सम्झौता के हो?

भारत अमेरिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाका रक्षामन्त्री मार्क एस्पर (बायाँबाट) र विदेशमन्त्री माइक पोम्पेओले भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्

चीनसँग चर्को सिमाना तनावका माझ भारत र अमेरिकाले भूउपग्रहमार्फत् प्राप्त हुने सम्वेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन्।

त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ।

दिल्लीमा भएको '२+२' उच्चस्तरीय भेटवार्तापश्चात् मङ्गलवार उक्त सम्झौताको घोषणा गरिएको छ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन्।

के हो 'बेका' सम्झौता?

बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रिमेन्ट अन जियोस्पाचियल कोअपरेशन वा छोटकरीमा बेका सम्झौता अन्तर्गत भारतलाई सैन्य विकल्पहरूमा सघाउन आवश्यक सम्वेदनशील जियोस्पाचियल तथा एअरोनटिकल डेटा अमेरिकाले उपलब्ध गराउनेछ।

दुई पक्षले परमाणु ऊर्जा, भू-विज्ञान तथा वैकल्पिक औषद्योपचारसम्बन्धी अन्य सम्झौता पनि गरेका छन्। तर सबभन्दा महत्त्वपूर्ण बेका सम्झौता मानिएको छ।

यो सम्झौता अन्तर्गत अमेरिकाले भारतलाई प्रदान गरेका सैन्य विमानहरूमा नेभिगेशन तथा एभियोनिक्ससम्बन्धी अत्याधुनिक सुविधा राखिने एकजना भारतीय रक्षा सूत्रले रोयटर्स समाचार संस्थालाई बताए।

चीनप्रति संशय

भारत र अमेरिकाबीचको पछिल्लो सैन्य सम्झौता त्यतिखेर भएको छ जतिखेर हिमाली लद्दाख क्षेत्रमा भारत र चीनबीच सिमाना विवाद चर्किएको छ।

गत जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो।

भारत र चीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारत र चीनबीच महिनौँदेखि सिमानामा तनाव कायम छ

महिनौँ यता भएका विभिन्न चरणका कूटनीतिक तथा सैन्य वार्ताले पनि स्थिति सहज भइसकेको छैन।

यही समयमा अमेरिका र चीनबीच पनि सम्बन्ध विग्रिएको छ। राष्ट्रपति ट्रम्पले बेइजीङको कोरोनाभाइरस व्यवस्थापनको चर्को आलोचना गरेका छन्।

भारत र अमेरिकाबीचको सैन्य सम्बन्धमा पछिल्लो सम्झौता थप एक कदम मानिएको छ।

भारत विश्वकै सबभन्दा ठूलो रक्षा सामग्री आयातकर्तामध्ये पर्छ। तर उसका ६०-७०% रक्षा सामग्री तथा हातहतियार रुसबाट आयात गरिन्छ।