कोरोना भाइरस महामारीः नेपाल-भारत हवाई उडान शुरू गर्न मन्त्रालयले अघि सार्यो यस्तो प्रस्ताव

तस्बिर स्रोत, Rss
काठमाण्डूको अत्तरखेलकी ५४ वर्षीया सानुमैँया श्रेष्ठ नियमित फलोअपका लागि हरेक तीन महिनामा भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिट्युट एन्ड रिसर्च सेन्टर जाने गर्थिन्।
तर अहिले नेपाल-भारतबीच हवाई उडान शुरू नहुँदा उनी महिनौँदेखि त्यता जान पाएकी छैनन्।
"झन्झन् गाह्रो हुँदै गएको छ, नगई नहुने हो। तर सात-आठ महिना भइसक्यो, उता जान पाएको छैन," बिहीवार बीबीसी न्यूज नेपालीसित उनले भनिन्।
भारतकै बेङ्गलुरुस्थित इन्डियन इन्स्टिट्युट अफ साइन्समा विद्यावारिधि गरिरहेकी काठमाण्डूकी अञ्जु शर्मालाई पनि नेपाल-भारत हवाई उडान पुनः शुरू हुने समयको व्यग्र प्रतीक्षा छ।
त्यसको कारण हो उनका बाँकी सहपाठी कक्षाका लागि बेङ्गलुरु फर्किसके तर उनी अहिलेसम्म जान पाएकी छैनन्।
"अब हामी दुईजना नेपाली मात्रै बाँकी छौँ। भारतका सबै साथीहरू फर्किसके। उडान शुरू नभएर जान पाएको छैन," उनले भनिन्।
दुई छिमेकी देशबीच उडान शुरू नहुँदा मर्कामा पर्ने श्रेष्ठ र शर्मा प्रतिनिधिपात्र मात्रै हुन्।
भारतीय तीर्थयात्री पनि मर्कामा
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गत चैतदेखि दुई देशबीच हवाई उडान बन्द भएपछि भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीदेखि नियमित उपचार गराउने बिरामीसम्म मर्कामा परेको बताउँछन्।
त्यसबाहेक नेपाली पर्यटन व्यवसायीहरूका अनुसार अन्य देशसँगको हवाई उडान शुरू भएदेखि नेपालमा तीर्थयात्राका लागि आउन चाहने भारतीय नागरिकहरूले पनि उडान कहिलेदेखि पुनः शुरू हुनेबारे निरन्तरजसो चासो राख्ने गरेका छन्।
पर्यटन व्यवसायी अभय जोशी भन्छन्, "उपचारका लागि भारत जाने धेरै नेपालीले हामीसँग चासो राख्ने गर्नुभएको छ।"
"अर्कोतर्फ पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न चाहने भारतीय नागरिकहरूले जनस्वास्थ्यका मापदण्ड पालना गरेर भए पनि दशर्न गर्थ्यौँ, कहिले उडान शुरू हुन्छ भनेर सोधखोज गर्ने गर्नुभएको छ।"

तस्बिर स्रोत, TIA
यी र यस्ता गुनासा एवम् चासोका माझ नेपाल-भारतबीच सातामा केही दिन हवाई उडान शुरू गर्नेबारे प्रस्ताव अगाडि सारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पनि सकारात्मक देखिएको उक्त प्रस्तावबारे अब मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ।
गत चैत ११ गतेदेखि नेपालभरि लकडाउन गरिएसँगै बन्द गरिएका हवाई उडानमध्ये आन्तरिक र केही देशको हकमा अन्तर्राष्ट्रिय उडान पनि शुरू भइसकेका छन्।
मन्त्रिपरिषद्को निर्णयको पर्खाइ
तर धेरै मानिसको ओहोरदोहोर हुने दक्षिणी छिमेकी देश भारतसँगको हवाई उडान भने हालसम्म पुनः शुरू हुन सकेको छैन।
तर हालका लागि सीमित सङ्ख्यामा उडान गर्न दिने पक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय देखिएको छ।
मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले भने, "विन्डोको हिसाबले हप्तामा तीन चारवटा उडान खोलौँ कि भन्ने हाम्रो इच्छा छ। जोखिम अनुसार जनस्वास्थ्यसम्बन्धी सावधानीमा कडिकडाउ त गर्नैपर्छ।"
"तर उडान पनि अब खोल्दै जानुपर्छ भन्ने मन्त्रालयको धारणा हो। हामीले सीसीएमसीमा प्रस्ताव गरेका छौँ त्यहाँ पनि छलफलमा सकारात्मक कुरा आएको छ। अब मन्त्रिपरिषद्ले छिट्टै निर्णय गर्छ भन्ने हाम्रो अपेक्षा छ।"
धेरै भिडभाड हुने समयमा नेपाल-भारतबीच दुईतर्फी गरेर दैनिक २० वटासम्म उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नेपाल-भारत दुवै देशमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण बढिरहँदा उडान शुरू गरिए सङ्क्रमण फैलने दृष्टिकोणले चुनौती थपिने हो कि भन्ने आशङ्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू व्यक्त गर्छन्।
दुई छिमेकी देशबीच हवाई उडान पुनः शुरू गर्नेबारे निर्णय गर्दा जनस्वास्थ्यसम्बन्धी मापदण्डमा कडिकडाउ गर्ने विषयमा पनि थप निर्णय गरिनुपर्नेमा उनीहरूको जोड छ।
सङ्क्रमणको अवस्था
असोज २८ गतेसम्म नेपालमा पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार ९९६ पुगेको छ।
कोभिड-१९ बाट अहिलेसम्म ६७५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। अहिले देशभरि ३६,३६७ जनामा सक्रिय सङ्क्रमण छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

तीमध्ये १४,८१९ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयले जनाएको छ।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमित हुने मानिसहरूको कुल सङ्ख्या एक लाख नाघ्यो।









