शार्कको आक्रमणबाट पतिलाई जोगाउन गर्भवती महिला समुद्रमा हाम फालिन्

शार्क

तस्बिर स्रोत, GETTY IMAGES

आफ्ना पतिलाई शार्कको आक्रमणबाट जोगाउन फ्लोरिडामा एक गर्भवती महिला समुद्रमा हाम फालेकी छन्।

प्रहरीका अनुसार ३० वर्षका एन्ड्रू चार्ल्स एडी समुद्रमा "स्नोर्कलिङ" गरिरहेका थिए। समुद्रमा रमाउँदै गर्दा उनलाई एउटा शार्कले टोक्यो।

उनकी पत्नी मार्गो ड्यूक्स-एडीले शार्कको पखेटा र पानीमा रगत देखिन्।

त्यसपछि उनले "केही नसोची" समुद्रमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

उनले पतिलाई सुरक्षित स्थानमा पुर्‍याएलगत्तै परिवारका अन्य सदस्यले आपत्कालीन सहयोगका लागि ९११ मा फोन गरे।

त्यसपछि हवाई उद्धार गरी उनलाई मायामीस्थित ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उनको काँधमा रहेका गम्भीर चोटको उपचार गरियो।

उद्धारमा खटिने अधिकारी रायन जोनसनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएअनुसार त्यहाँ आइपुग्दा एडीको अवस्था गम्भीर थियो।

जोर्जा राज्यबाट ती दम्पती छुट्टी मनाउन सपरिवार फ्लोरिडा गएका थिए। उनीहरू एउटा निजी डुङ्गामा विहार गरिरहेका थिए।

एडीको समूहका अरू व्यक्तिहरूले उनीअघि स्नोर्कलिङ गरेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले केही समयअघि त्यहाँ करिब १० फिट लामो शार्क पौडिरहेको आफूहरूले देखेको बताएका थिए।

फ्लोरिडा विश्वमै सबैभन्दा बढी शार्कको आक्रमण हुने स्थानमा गनिन्छ।

सन् २०१९ मा मात्रै त्यहाँ आक्रमणका १९ वटा घटना अभिलेखमा आएको फ्लोरिडा सङ्ग्रहालयले जनाएको छ।

तर विश्वव्यापी रूपमा हेर्ने हो भने शार्क आक्रमण बिरलै हुने गरेको छ।