नेपाल क्रिकेट: मासिक दश लाख रुपैयाँ भन्दा बढी तलब हुनसक्ने मुख्य प्रशिक्षक कस्तो खोजिँदैछ

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाल क्रिकेट सङ्घले इतिहासमा पहिलोपटक राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न विश्वभरका प्रशिक्षकलाई खुल्ला आह्वान गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाइला चालेको (सन् १९९६) २४ वर्षपछि नेपालले प्रशिक्षकको खुल्ला आह्वान गरेको यो पहिलोपटक हो।
र, यो प्रक्रियामा विश्वका राम्रा प्रशिक्षकहरू प्रतिस्पर्धामा आउने क्रिकेट विश्लेषकहरूले आशा गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एउटा जुझारु र राम्रो सम्भावना भएको राष्ट्रको छवि बोकेकोले स्तरीय प्रशिक्षकहरूले नेपाली टोली सम्हाल्ने इच्छा देखाउन सक्ने अनुमान गरिएको हो।
क्रिकेट प्रेमीहरूले पनि नयाँ प्रशिक्षकबारे चासो देखाइरहेका छन्।
चुनौती
पछिल्लो समय राष्ट्रिय टोलीको प्रदर्शन 'वाह' भन्न लायकको देखिएको छैन। टी २० वरियतामा १२ औँ स्थानमा रहेको नेपालले, गत वर्ष जुलाईमा सिङ्गापुरमा भएको २० ओभरको विश्वकप अन्तर्गत एसियाली छनोट पार गर्न नसक्नु अनपेक्षित नतिजा थियो।
त्यसलगत्तै सामान्य ठानिएको टी-२० एसिया कप पूर्वीय छनोट (थाइल्याण्ड)मा रोकिँदा त टोलीको क्षमतामा नै प्रश्न उठ्यो।
कतिपयले व्यङ्ग्यात्मक प्रश्न पनि गरे, के यो त्यही नेपाली टोली हो, जसले विश्व क्रिकेटमा ठूला ठूला राष्ट्रलाई चुनौती दिएको इतिहास छ?
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) राष्ट्रको मान्यता पाएपछि घरेलु भूमिमा खेलिएको अमेरिका र ओमान सम्मिलित आईसीसी विश्व क्रिकेट लिग २ मा पनि टोलीको प्रदर्शन मझौला स्तरको नै देखियो।
यसैबेला टोलीका खेलाडीहरू बीचको 'टिम वर्क' बिग्रिएको खबरले क्रिकेटप्रेमीहरू झस्किएका छन्।

लड्खडाइरहेको नेपाली टोलीलाई यो अवस्थाबाट उकास्नु नेपाल सम्हाल्ने नयाँ प्रशिक्षकका लागि मुख्य चुनौती रहनेछ।
चुनौती अरूपनि छन्।
विगतमा श्रीलङ्काली प्रशिक्षक रोय लुक डायसले एक दशक लगाएर नेपाली क्रिकेटको जग बसालेको अनि श्रीलङ्ककाली-क्यानडेली प्रशिक्षक पुबुदु दशानायकेले नेपाललाई प्रतिस्पर्धात्मक क्रिकेटमा होमिन सिकाएको मानिन्छ।
यी दुईले बनाएको छविभन्दा माथि उकास्ने र विशेषगरि नेपालले पहिलोपटक पाएको ओडिआई मान्यतालाई जोगाउनु अब आउने प्रशिक्षकको अर्को प्रमुख चुनौती हुने ठानिन्छ।
प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि विगत ७ महिनादेखि नेपाली क्रिकेट प्रशिक्षकविहीन छ।
रणनीति
नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुर्याल भन्छन्, "प्रशिक्षणको प्राविधिक ज्ञान मात्र होइन, विश्व क्रिकेटको स्वरूप अनुसार रणनीति रच्न सक्ने प्रशिक्षक हाम्रो प्राथमिकतामा हुनेछ। टेष्ट क्रिकेटको ज्ञाता हाम्रो चाहना हुने छैन, एसोसियट राष्ट्रको क्रिकेटबारे राम्रो जानकारी राख्ने र सोही अनुरुप रणनीति बुन्ने क्षमता भएकालाई हामी छान्नेछौँ।"
सचिव प्याकुर्यालका अनुसार तीनवटा विशेषता भएको प्रशिक्षक प्राथमिकतामा पर्नेछ। पहिलो: नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यताको स्तरलाई बढावा दिने वा यथावत राख्ने, दोस्रो: राष्ट्रिय टोलीलाई आवश्यक सुझाव दिने सल्लाहकारको भूमिका निर्वाह गर्नसक्ने र तेस्रो: नेपालमा उच्च क्षमताका व्यवस्थापक नभएकोले नेपाली क्रिकेटलाई अगाडि लैजान रणनीतिक योजना बुन्न सक्ने।
तर वर्तमान परिप्रेक्ष्यमा अरू रणनीति पनि आवश्यक हुने कतिपयको भनाइ छ।
राष्ट्रिय टोलीका पूर्व खेलाडी आमिर अख्तरका अनुसार श्रीलङ्कासँग दशक लामो सम्बन्ध गाँसिएकाले नेपालले अब भारतीय प्रशिक्षक नियुक्ति गर्नु रणनीतिक रूपमा फाइदाजनक हुनेछ।
उनी भन्छन्, "छिमेकी भएर पनि विश्व क्रिकेटको मुख्य शक्ति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग नेपालले अझैसम्म सम्बन्ध गाँस्न सकेको छैन। अब प्रशिक्षण सँगसँगै बीसीसीआईसँग सम्बन्ध गाँस्न सक्ने प्रशिक्षक भए नेपाल दोहोरो फाइदामा हुनेछ।"
यसअघि लालचन्द राजपुत, मिठुन मल्हास र डेविड ह्वाटमोर जस्ता प्रशिक्षकहरूसँग क्यानले सम्पर्क गरेको खबरहरू बाहिर आएका थिए। तर त्यो प्रारम्भिक चरणको प्रयास खेर गइसकेको बताइन्छ।
क्यानले मुख्य प्रशिक्षकको छनोटका लागि एउटा कमिटी बनाउने जनाएको छ। जसमा क्यानका पदाधिकारीका अतिरिक्त आईसीसीका प्रतिनिधि र विज्ञहरू हुनेछन्।
प्रशिक्षकको नियुक्ति खुल्ला छनोटबाट गरिनुपर्ने आवाज उठाउँदै आएका राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास नेपालले स्तरीय प्रशिक्षक पाउनेमा आशा राख्ने एकजना मध्येका हुन्।
उनका अनुसार प्रशिक्षकको करिअर बनाउन चाहनेहरूका लागि नेपाली राष्ट्रिय टोली हेर्न पाउनु राम्रो अवसर हुनेछ।
तलब कति?
उनी भन्छन्, "अहिले विश्वका थुप्रै प्रशिक्षकहरू राम्रो टोलीको खोजीमा छन्। उनीहरू आफ्नो योजना सफल बनाएर आफूलाई प्रमाणित गर्ने टोली खोजिरहेका हुन्छन्। तिनीहरूका लागि नेपाल जस्तो राष्ट्र अवसर र तलब दुवै हिसाबले राम्रो हुनेछ।"

पछिल्लो समय नेपालको प्रशिक्षक रहेका उमेश पटवालले मासिक ७ हजार अमेरिकी डलर प्राप्त गरेका थिए।
सचिव प्याकुर्याल भन्छन्, "अहिलेको योजना पनि त्यसकै हाराहारीमा हो। तर राम्रो प्रशिक्षक पाएमा छलफल गर्नेछौँ। हामी १० हजार डलरसम्म पुग्न सक्छौँ।"
पुबुदु दशानायके नेपालको प्रशिक्षक हुँदा मासिक १० हजार डलर प्राप्त गर्ने गर्थे।
क्यानले मुख्य प्रशिक्षक लगायत अहिले खोलेको ११ वटै पदको आर्थिक व्यवस्थापन आईसीसीले गर्नेछ। प्याकुर्यालका अनुसार त्यो रकम आईसीसीले दिने स्कोरकार्ड ग्रान्ट अन्तर्गत आउने सहयोग हो। त्यो रकम यति नै हुन्छ भन्ने हुँदैन।
क्यानले खुल्ला छनोटको लागि असोज ७ गतेसम्मको समय तोकेको छ। त्यसपछि एक महिनाभित्र प्रशिक्षक लगायतका सबै पदपूर्ति हुने बताइएको छ।
क्यानले कार्यभार सम्हालेको ११ महिनापछि मुख्य प्रशिक्षक बाहेक, जनरल म्यानेजर, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर र सातवटै प्रदेशमा स्थानीय प्रशिक्षकको आवेदन खुल्ला गरेको हो।








