दिल्ली दङ्गा: भारतीय प्रहरीले ज्यादती गरेको एम्नेस्टी इन्टर्न्याश्नलको प्रतिवेदन

दिल्ली दंगा

तस्बिर स्रोत, AFP

भारतीय प्रहरीले केही महिनाअघि राजधानी दिल्लीमा भएका धार्मिक दङ्गाका क्रममा "गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन" गरेको आरोप एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले लगाएको छ।

उक्त संस्थाले आफ्नो प्रतिवेदनमा भारतीय प्रहरीले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको, हिरासतमा लिइएका व्यक्तिहरूलाई यातना दिएको र कुनैकुनै घटनामा हिन्दूवादी दङ्गाकारीहरूको साथ लागेर दङ्गामा सहभागी समेत भएको जस्ता कुराहरू उल्लेख गरेको छ।

नागरिकतासम्बन्धी एउटा विवादास्पद कानुनलाई लिएर त्यस बेला हिन्दू र मुस्लिम समुदायका मानिसहरूबीच भिडन्तहरू हुँदा भारतमा ४० जनाभन्दा बढीको ज्यान गएको थियो।

एम्नेस्टी इन्टर्न्याश्नलका अनुसार उक्त दङ्गाका क्रममा मुस्लिमहरूतर्फ क्षति भएको थियो।

आफ्नो प्रतिवेदनका सम्बन्धमा एम्नेस्टीले दिल्ली प्रहरीसँग मागेको प्रतिक्रियाप्रति सो प्रहरी सङ्गठनले आफ्नो जबाफ उपलब्ध गराउन बाँकी छ।

दिल्ली दंगा

तस्बिर स्रोत, MANSI THAPLIYAL

तस्बिरको क्याप्शन, एम्नेस्टीका अनुसार दङ्गामा मुस्लिमहरू असमानुपातिक रूपमा बढी प्रभावित हुन पुगेका थिए

क्रूरता

गत फेब्रुअरी महिनामा भएको उक्त घटनाका बेला प्रहरीले देखाएको क्रूर व्यवहार र दङ्गाकारीहरूसँगको मिलेमतोबारे बीबीसी र अन्य सञ्चारमाध्यमहरूले पनि व्यापक रूपमा समाचार प्रस्तुत गरेका थिए। दिल्ली प्रहरीले आफूले कुनै अनुचित काम नगरेको बताएको थियो।

बीबीसीकी भारत संवाददाता योगिता लिमये भन्छिन्ः एम्नेस्टीको प्रतिवेदनमा उल्लेख भएका केही विवरण त्यस बेला उक्त दङ्गाका सम्बन्धमा बीबीसीले गरेको अनुसन्धानमूलक समाचार प्रस्तुतिमा उल्लेख भएका जस्तै छन्।

त्यस बेला दिल्लीको उत्तरपूर्वको खजुरी खास इलाकामा प्रहरी पनि दङ्गाकारीहरूका साथ लागेर ढुङ्गा हानाहान गर्न सहभागी भएको देख्न सकिने भिडिओहरू सामाजिक सञ्जाल र मेसिजिङ ग्रूपहरूमा देखा परेका थिए। बीबीसीले दङ्गा प्रभावित दुवै समुदायका प्रत्यक्षदर्शीको विवरणहरू समेटेर समाचार अनुसन्धान गरेको थियो।

त्यस क्रममा एक पसलेले आफू र अन्य हिन्दूहरूलाई प्रहरीले नै मुस्लिमहरूमाथि प्रहार गर्नका लागि ढुङ्गा थमाएको आरोप लगाएका थिए। अरूले घर र पसलमा आगो लगाइदिएका भूरा खान नामक व्यक्तिले पनि मुस्लिमहरूमाथि आक्रमण हुँदा प्रहरीले हिन्दू समुदायका दङ्गाकारीहरूलाई सघाएको आरोप लगाएका थिए।

छानबिन

प्रतिक्रियाका लागि गरिएको बीबीसीको प्रारम्भिक अनुरोधलाई त्यस बेला दिल्ली प्रहरीले बेवास्ता गरेको थियो। तर घटनासम्बन्धी समाचार विवरण प्रसारित भएपछि बीबीसी हिन्दीसँगको कुराकानीमा प्रहरीले भिडिओमा देखिएका विवरणहरूबारे छानबिन गरिने जनाएको बीबीसी संवाददाता योगिता लिमये बताउँछिन्।

दिल्ली दंगा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिंसात्मक दङ्गाका क्रममा ४० जनाभन्दा बढीको ज्यान गएको थियो

एम्नेस्टीको प्रतिवेदनले उक्त दङ्गाका क्रममा हिन्दू समुदायले पनि क्षति बेहोरेको तर मुस्लिमहरूलाई असमानुपातिक रूपमा नै निसाना बनाइएको जनाएको छ।

भारतमा सीएए भनिएको नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन गर्न ल्याएको नयाँ ऐनलाई त्यसका आलोचकहरूले मुस्लिमविरोधी भनेका छन् र उक्त ऐन संसदबाट पारित भएपछि भारतभरि नै त्यसविरुद्ध ठूला प्रदर्शनहरू भएका थिए।

दिल्लीमा भएको त्यस्तो प्रदर्शनले ठूलो हिंसात्मक स्वरूप लिन पुगेको थियो र उक्त ऐनको पक्ष र विपक्षका प्रदर्शनकारीहरूबीच भिडन्तहरू भएका थिए।

हिंसाले धार्मिक रङ्ग लिएपछि तीन दिनसम्म दिल्लीमा दङ्गा भड्किएको थियो।

त्यस क्रममा दङ्गाकारीहरूले मुस्लिमहरूको घर र पसलहरूलाई पनि निसाना बनाएका थिए।