थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक ग्रूप किन बन्द भयो

तस्बिर स्रोत, AFP/Getty Images
थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा ग्रूपलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ।
ब्याङ्ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ।
थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ।
थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन।
विदेशबाट 'रोयलिस्ट मार्किटप्लेस' नामक ग्रूप खोल्न मिल्छ। तर सोमवार साँझदेखि थाईल्यान्डमा त्यसलाई बन्द गरिएको छ।
उक्त ग्रूपमा १० लाखभन्दा बढी सदस्य छन्। उक्त ग्रूप सञ्चालन गर्ने पाफिन चाचाभाल्पोन्पनका अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाई नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्न दिइन्छ।
उनका अनुसार राजसंस्थाले गर्ने राजनीतिक हस्तक्षेपदेखि उसको सेनासँगको घनिष्ठ सम्बन्ध र राजाको शक्तिसम्म छलफल हुने गरेको छ।
उनी स्वैच्छिक निर्वासनमा जापानमा भएका थाई प्राज्ञ हुन्।

तस्बिर स्रोत, Facebook
उनले सोमवार साँझ बनाएको नयाँ फेसबुक ग्रूपलाई चार लाखभन्दा बढी प्रयोगकर्ता पछ्यासकेका छन्।
फेसबुकले थाई सरकारले "अवैधानिक मानेको सामग्रीलाई सीमित पार्न" आफूलाई बाध्य पारिएको बीबीसीसँग पुष्टि गरेको छ।
"यस्ता आग्रहहरू गम्भीर हुन्छन् र मानवाधिकारका अन्तर्राष्ट्रिय कानुनविपरीत हुन्छन्। अनि तिनले नागरिकको अभिव्यक्ति गर्ने क्षमतामा प्रतिकूल प्रभाव पार्छन्," उसले एउटा विज्ञप्तिमा भनेको छ।
फेसबुकले आफूले कानुनी उपचार खोज्ने तयारी गरिरहेको बताएको छ।
मानवाधिकारवादी समूहहरूले थाईल्यान्डले फेसबुकलाई दिएको दबावको चर्को आलोचना गरेका छन्।
ह्यूमन राईट्स वाचले थाईल्यान्डको सरकारले "फेरि आफ्ना अस्पष्ट र अधिकार सङ्कुचित पार्ने कानुनहरूको दुरुपयोग गरेर" फेसबुकलाई स्वतन्त्र अभिव्यक्तिको अधिकारअनुसार प्रकाशित सामग्रीमा बन्देज लगाउन दबाव दिएको बताएको छ।
थाईल्यान्डमा राजसंस्था वा राजपरिवारका सदस्यको आलोचना वा अपमान गरे १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।









