माधवप्रसाद घिमिरे: राष्ट्रिय सम्मानका साथ आर्यघाटमा राष्ट्रकविको दाहसंस्कार

तस्बिर स्रोत, Rss
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधवार पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिएको छ।
मङ्गलवार अपराह्ण ५:३० बजे लैनचौरस्थित निवासमा १०१ वर्षका घिमिरेको निधन भएको थियो।
घिमिरेको पार्थिव शरीरलाई सेनाको गाडीमा राखेर आर्यघाटसम्म पुर्याइएको र त्यहाँ नेपाली सेनाका तर्फबाट २१ जनाको टुकडी एवम् सशस्त्र प्रहरीको २१ जनाको टोलीले उनलाई अन्तिम सलामी दिएको छ।
यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधवार बिहान राष्ट्रिय झण्डा ओडाएर घिमिरेप्रति सम्मान व्यक्त गरेका थिए।
घिमिरेलाई मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई विसं २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गरेकी थिइन्।
बुधवार बिहान घिमिरेका ज्वाइँ प्रा. डा. हेमाङ्गराज अधिकारीले बिहानैदेखि केही मन्त्रीहरू सहित धेरैजना आउनु भएको बताएका थिए।

तस्बिर स्रोत, RSS
स्वास्थ्य समस्या
घिमिरे दुई सातादेखि गम्भीर बिरामी भएको र उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो।
उनी ब्रोन्काइटिस, रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित थिए। उनलाई अस्पताल लैजाने र ल्याउने गरिएको थियो।

तस्बिर स्रोत, RSS
घिमिरेले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका छन्।
उनी विसं २०४६ सालमा एक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति पनि भएका थिए भने त्यसअघि एक दशक त्यहाँको उपकुलपति भई सेवा गरेका थिए।
घिमिरेको जन्म विसं १९७६ मा लमजुङको पुस्तुनमा भएको थियो।
दुई वर्षअघि उनी गभ्भीर बिरामी परेका थिए। उनको उपचार भारतमा पनि गरिएको थियो।









