लडाकु समूहहरूको क्रिप्टोकरेन्सी सङ्कलन प्रयास विफल पारिएको अमेरिकी दाबी

आईएस लगायतका लडाकू समूहरूले क्रिप्टोकरेन्सीमा चन्दा उठाएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आईएस लगायतका लडाकू समूहरूले क्रिप्टोकरेन्सीमा चन्दा उठाएका छन्

अमेरिकी सरकारले विभिन्न लडाकु समूहहरूले क्रिप्टोकरेन्सी सड्कलन गरेर आफ्नो खर्च जुटाउन गरेको प्रयास विफल पारिएको दाबी गरेको छ।

हमासको सैन्य समूह अल-कसम ब्रिगेड, अल-कायदा र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरूले त्यसरी रकम सङ्कलन गर्ने प्रयास गरेका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार २० लाख अमेरिकी डलर मूल्यका क्रिप्टोकरेन्सीहरू जफत गरिएको छ।

क्रिप्टोकरेन्सीका सयौँ खाता, चारवटा वेबसाइट र चारवटा फेसबुक अकाउन्ट पनि नियन्त्रणमा लिइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आतङ्कवादसँग सम्बन्धित कारबाहीमा पहिलो पटक यति धेरै मात्राम क्रिप्टोकरेन्सी फेला परेको हो।

लडाकु समूहहरूले कसरी पैसा लिन्थे?

अल-कसम ब्रिगेडले सामाजिक सञ्जाल र आफ्ना वेबसाइटहरू प्रयोग गरेर चन्दामा बिटक्वाईन लिने गरेको अमेरिकी सरकारको भनाइ छ।

मन्त्रालयका अनुसार अमेरिकी अधिकारीहरूले एउटा वेबसाइट आफ्नो नियन्त्रणमा लिएर त्यसमार्फत् उक्त समूहलाई पठाइएको पैसा अन्तै मोडिदिए।

अहिले सरकारले उक्त समूहलाई अमेरिकाबाट चन्दा पठाउने व्यक्तिहरूलाई कारबाही गर्ने तयारी गरिरहेको छ।

सिरियामा भएका अल-कायदाका लडाकुहरूले हतियार किन्न टेलिग्राम नामक एपमार्फत् चन्दा मागेका थिए।

अधिकारीहरूका अनुसार आईएसले एउटा वेबसाइट र फेसबुकमार्फत् कोरोनाभाइरसबाट जोगिन उपयोगी हुने भन्दै नक्कली पीपीई बेचेर रकम सङ्कलन गरेको थियो।

नाम उल्लेख नगरिएका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार ती लडाकुहरूलाई आफूले प्रयोग गरेका एपहरू सुरक्षित भएको भ्रम थियो।

“तर केही पनि लुकेको थिएन,” उनले भने।