सिन्धुपाल्चोक पहिरोः घटनास्थल पुगेका गाउँपालिका अध्यक्षले जे देखे

तस्बिर स्रोत, FACEBOOK/SHREEDHAR Neupane
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा भीषण पहिरो जाँदा कैयौँ घर पुरिएका विवरण आएका छन्।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुनिता पहरीका अनुसार अहिलेसम्म ३६ घरका ३७ जना हराइरहेको विवरण प्राप्त भएको छ।
"पाँच जनाको उद्धार गरिएको छ। तीमध्ये चार जनालाई चौतारा पुर्याइएको छ भने एक जनालाई काठमाण्डूस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ," उनले भनिन्।
सेनाको टोलीसँगै हेलिकप्टरमार्फत् त्यहाँ पुगेका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई घटनाबारे हामीले सोधेका थियौँ।
प्रस्तुत छ अध्यक्ष श्रेष्ठसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंशः

तस्बिर स्रोत, Hom Narayan Shrestha
"सिङ्गो गाउँ नै पहिरोले पुरिएको छ। अहिले पनि पहिरो खस्ला-खस्ला जस्तो भइरहेको छ।
उद्धार टोली आई पुगिनसकेको अवस्था भएकोले स्थानीयवासीले सक्दो प्रयास गरिरहनुभएको छ। उद्धारको काम व्यवस्थित हुन सकिरहेको छैन।
इन्जिनियरसहित सेनाको पाँच सदस्यीय विज्ञ टोलीले के कसरी काम शुरू गर्ने भन्नेबारे हेरिरहनुभएको छ।
उद्धार टोली आउँदैछ। त्यसमा जनपद, सशस्त्र प्रहरी र सेनाको तर्फबाट हुनुहुन्छ।
यहाँ वरपरका साथीहरूको भनाइ अनुसार सम्पर्कमा ३७ जना हुनुहुन्न।
पूर्ण र आंशिक रूपमा पहिरोले पुरिएका घर ३६ वटा देखिएका छन्। कुनै कुनै घरको त नापनक्सा नै छैन।
सम्भावित जोखिमको आकलन गरेर कतिपय मानिसहरू रातिको समयमा अन्तै बस्नुहुन्थ्यो।
राति पहिरो गएको भए त्यति मानिस नपर्न नि सक्थे होला।
बिहान भएपछि उहाँहरू घर फर्किनुभएको देखिन्छ। बिहान ६ देखि साढे ६ बजेको बीचमा घटना भएको हामीलाई भनिएको छ।"

तस्बिर स्रोत, Courtesy: Shreedhar Neupane
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घटनास्थल गाडी पुग्न सक्ने कार्तिके भन्ने ठाउँदेखि तीन घण्टाभन्दा बढीको पैदल दूरीमा पर्छ।
"अहिले बर्खापछि बाटो बिग्रेकोले त्यहाँ हिँडेर पुग्न पनि गाह्रै छ," घटनास्थलतर्फ जाँदै गरेका काफ्लेले टेलिफोनमार्फत् भने।
यसैबीच, कालिकोट जिल्लाको महाबै गाउँपालिकामा गएराति गएको पहिरोमा परी छजना किशोरकिशोर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
तीजको नाचगान गरिरहेको बेला घरमाथि खसेको पहिरोले राजबहादुर विष्टको घरमा उनीहरूको मृत्यु भएको थियो।
पहिरोले पुरिएका शवहरू निकालेर आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।








