भारत-चीन द्वन्द्वको छायाँमा आइपीएलको प्रायोजन

सन् २०१९ को आइपीएल प्रतियोगिता मुम्बई इण्डियन टोलीले जितेको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भिभोले पाँच वर्षसम्म आइपीएलको मुख्य प्रायोजक बन्न सन् २०१८ मा झन्डै ३० करोड अमेरिकी डलर खर्च गरेको थियो

भारतको क्रिकेट प्रशासनसम्बन्धी निकाय बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआइ) तथा चिनियाँ मोबाइल कम्पनी भिभोले यसपाली हुन लागेको आइपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा उनीहरूबीचको साझेदारी स्थगन गर्ने समझदारी गरेका छन्।

भिभोले पाँच वर्षसम्म आइपीएलको मुख्य प्रायोजक बन्न सन् २०१८ मा झन्डै ३० करोड अमेरिकी डलर खर्च गरेको थियो।

चिनियाँ कम्पनी विरुद्ध रोष

जुनमा हिमाली सीमा क्षेत्रमा भारतीय र चिनियाँ फौजबीच भएका झडपपश्चात् भारतमा चिनियाँ कम्पनी विरुद्ध भावना बलियो हुँदै गएको बेला भिभोको प्रायोजन स्थगनबारे भारतका क्रिकेट अधिकारीहरूले छोटो विज्ञप्ति जारी गरे।

यसअघि भिभोको प्रायोजन जारी राखेकोमा भारतीय क्रिकेट बोर्डको चर्को आलोचना भएको थियो।

वर्तमान कठिन आर्थिक वातावरणमा तत्कालै भिभोको साटो नयाँ प्रायोजक पाउन कठिन हुने हुनाले भिभोलाई निरन्तरता दिइएको थियो।

आइपीएल

तस्बिर स्रोत, IPL

भिभोको प्रायोजन स्थगन गरिएपनि पेटिएम, स्वीग्गी तथा ड्रीम इलेभनजस्ता आइपीएलका अन्य सहप्रायोजकहरू पनि चिनियाँ इन्टरनेट कम्पनीहरूसँग जोडिएका छन्।

जुन महिनामा सीमाक्षेत्रमा भएका झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने चिनियाँ हताहतीबारे जानकारी गराइएको छैन।

यसअघि भारतले टिकटक तथा अन्य ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।

महामारीले प्रभावित प्रतियोगिता

कोरोनाभाइरस महामारीका कारण यो वर्ष मार्च २९ मा हुनुपर्ने आइपीएल स्थगन गरिएको थियो।

अझैपनि भारतमा कोरोनाभाइरस महामारी फैलँदै गरेकाले यसपालीको आइपीएल अब संयुक्त अरब इमिरेट्समा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ।

५३ वटा खेल हुने प्रतियोगिताको फाइनल नोभेम्बर १० मा खेलिनेछ।

ती खेलहरू दुबई, शारजहा तथा अबुधाबीमा खेलिनेछन्।

आइपीएल विश्वकै एक महँगो प्रतियोगितामध्ये पर्छ जसमा खेलका ठूल्ठूला हस्ती सामेल हुन्छन्।

आइपीएलका टोलीहरू अगुवा व्यापारी तथा बलिवुडका हस्तीहरूको स्वामित्वमा छन्। उनीहरूले आफ्नो टोलीमा दशौँ लाख डलर खर्च गरेर राम्रा खेलाडीको किनबेच गर्छन्।