कोरोना भाइरस नेपाल: एकै दिन सर्वाधिक पाँच जनाको मृत्यु पुष्टि, थप ३६० जनामा कोरोनाभाइरस सङ्क्रमण

परीक्षण

तस्बिर स्रोत, RSS

बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।

एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।

नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड-१९ पुष्टि भएको छ।

यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,२९६ छ।

कोरोनाभाइरस ब्यानर

काठमाण्डू उपत्यकामा कति थपिए?

सङ्क्रमण सङ्ख्या ह्वात्तै वृद्धि भइरहेको काठमाण्डू उपत्यकामा बिहीवार थप ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

तीनमध्ये ७६ जना काठमाण्डू जिल्लाका, १० जना ललितपुर जिल्लाका र एक जना भक्तपुर जिल्लाका रहेका छन्।

पाँच सयभन्दा माथिको सङ्ख्यामा सङ्क्रमितहरू उपचाररत रहेका जिल्लाहरूमा काठमाण्डू थपिएको छ। अन्य जिल्लाहरू पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन्।

सङ्क्रमित शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम रहेका छन्।

पर्साका ४२ जनामा बिहीवार सङ्क्रमण पुष्टि भयो भने कपिलवस्तुका ३२ जनामा, धनुषाका २४ जनामा र कैलालीका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित मृत्यु. नेपालमा ६५ जनाको मृत्यु भएको पुष्टि. Death due to Covid-19 साउन २२ अपराह्णसम्म प्राप्त विवरणमा आधारित.

मृतक को हुन्?

बिहीवार पुष्टि भएका पाँच मृतकहरू यस प्रकार छन्:

१. मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको हो।

२. मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

३. सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाण्डूमा बुधवार मृत्यु भएको हो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

४. धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाण्डूमा गत शनिवार मृत्यु भएको थियो। उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ।

५. सप्तरी जिल्लाको रुपनी नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो। उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारन्टीनमा बसेको बताइएको छ।

कोरोनाभाइरस ब्यानर

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २३३जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।

अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा ९,४७० मानिसहरू क्वारन्टीनमा छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति. प्रदेशगत विवरण. साउन २२ अपराह्णसम्मको विवरणमा आधारित.
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर