राम मन्दिर: जनकपुरका महन्थ अयोध्या समारोहमा सामेल, धनुषामा दिपावली

- Author, बृजकुमार यादव
- Role, बीबीसी न्यूज नेपाली, धनुषा
सुरुमा कोरोनाभाइरस सङ्क्रमणका कारण सीमा बन्द रहेकाले निम्तो आएको भएतापनि अयोध्या जान नपाएकामा खिन्न रहेका जानकी मन्दिरका महन्थ अन्तत: अयोध्या पुगेका छन्।
मङ्गलवार साँझसम्म जान नपाएका महन्थलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पास उपलब्ध गराएपछि राति नै उनी धनुषा जिल्लाकै जटही नाकाबाट भारत प्रवेश गरेका थिए।
चिनो अर्पण
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जनाएअनुसार महन्थ दास बिहान अयोध्यामा आयोजित कार्यक्रममा सहभागी भए।
"आज बिहान निश्चित् समयमा वहाँ अयोध्या पुगेर कार्यक्रममा सहभागी हुनुभएको छ," उनले भने।

भारतको बिहार हुँदै उत्तरप्रदेश राज्यमा जाने क्रममा कैयौँ ठाउँमा रोकिएको भएपनि बिहान अयोध्या पुगिएको बताइएको छ।
त्यहाँ उनले जनकपुरधामको पवित्र माटो र पाँच थान चाँदीको ईँट राम मन्दिर शिलान्यास कार्यक्रममा अर्पित गरेको रामरोशन दासले बताए।
भगवान रामको मन्दिर शिलान्यासको अवसरमा जानकी मन्दिर लगायत विभिन्न मठमन्दिरमा भजनकीर्तन गरिएको छ।
मन्दिर रामको निर्माण हुन लागेपनि सीयारामको जयजयकार गरिएको थियो।
सीता बिना राम पूर्ण हुन नसक्ने सन्तमहन्थहरूको मान्यता छ। "अयोध्यामा गुञ्जिएको सीयारामको नाराले पनि सीताको महत्त्वलाई उजागर गरेको छ," सुन्दर सदनका महन्थ नवलकिसोर शरणले भने।
"महामारीका कारण परिस्थिति अनुकुल नभएपनि भगवानप्रतिको श्रद्धा जनकपुरधामको हरेक घरमा देखिएको छ।"

बुधवार साँझ जनकपुरधाममा भव्य दिपावली गरिएको मन्दिरका कोठारी सुधाकान्त झाले बताए।
भगवान रामको जन्म सरयु नदी तटमा रहेको अयोध्यामा भएको तथा सीताको माइत नेपालको जनकपुरमा भएको हिन्दूहरूको विश्वास छ।
त्यसैले यी दुई नगरबीच धार्मिक सम्बन्ध रहँदै आएको छ।
हरेक वर्ष विवाह पञ्चमीका बेला अयोध्याबाट जनकपुरमा जन्ती आउने चलन पनि छ।
मोदीले सम्झिए नेपाल साइनो
अयोध्यामा शिलान्यास समारोहलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रामको सम्बन्ध विश्वका कैयन् देशहरूसँग रहेको उल्लेख गरेका थिए।
सोही प्रसङ्गमा उनले नेपालसँगको साइनो पनि सम्झिए। "नेपालसँग भगवान श्री रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ," उनले भने।
दुई वर्ष अगाडि जनकपुर भ्रमणमा आएका बेला मोदीले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए।
त्यतिखेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रूपमा प्रारम्भ गरेको जनकपुरधाम-अयोध्या बस सेवा हाल बन्द रहेको छ।
कोरोनाभाइरस महामारीको कारण दुवै देशमा कडिकडाउ गरिएको र सीमा बन्द रहेका कारण जनकपुरधामबाट जानकी मन्दिरका महन्थ बाहेक अन्य सन्तमहन्थहरू अयोध्या समारोहमा सहभागी हुन सकेनन्।








