अयोध्यामा राम मन्दिर शिलान्यासको हर्षमा जनकपुरमा दीपावली

- Author, बृजकुमार यादव
- Role, बीबीसी न्यूज नेपाली, धनुषा
भारतको उत्तरप्रदेश राज्यको अयोध्यामा बुधवार हुन लागेको राम मन्दिर शिलान्यासको खुसीयालीमा जनकपुरधाममा दीपावली गरिने भएको छ।
गत वर्ष भारतको सर्वोच्च अदालतले राम मन्दिर निर्माण गर्ने बाटो खोल्ने फैसला गरेपछि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माणको शिलान्यास गर्ने कार्यक्रम तय भएको हो।
'सहभागी हुन नसक्ने'
भगवान रामकी पत्नी सीताको माइती मानिने जनकपुरधामका साधुसन्त राम मन्दिरलाई लिएर उत्साहित भएका छन्।
अयोध्याबाट निम्तो आएपनि कोरोनाभाइरस सङ्क्रमणका कारण हाल सिमानामा आवतजावत बन्द भएका कारण जनकपुरधामबाट साधुसन्तहरू उक्त समारोहमा सहभागी हुन नसकेको बताइएको छ।

नेपाल र भारतबीचको सीमा हाल बन्द रहेकाले शिलान्यास समारोहमा जान लागेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको टोली सीमाबाट नै फर्केको छ।
भारतमा जाने स्वीकृति अधिकारीहरूले नदिएपछि जलेश्वरबाट नै फर्केको जानकी मन्दिरका महन्थले जनाए।
"नेपाल र भारतको सीमा नजिक जलेश्वरमा पुगेपछि महोत्तरीका प्रहरी प्रमुखसित पास उपलब्ध गराइदिन आग्रह गर्यौँ," उनले भने, "तर सीमा सिल गरिएकाले भारतमा जान दिने अनुमती नभएको जबाफ पाएर फर्कियौँ।"
शिलान्यास समारोहमा सहभागी हुन अयोध्याबाट निम्तो आएको उनले बताए।
जनकपुरमै भजनकीर्तन र दीपावली
शिलान्यास समारोहमा सहभागी हुन नसकेपनि जनकपुरधाममा दीपावली र सीताराम भजन कीर्तन गरिने उनले बताए।
"दुई मिटरको सामाजिक दूरीमा मास्क लगाएर चोकहरूमा दीपावली गर्ने तयारी गरिएको छ," उनले भने। "साँझ ठूलो समारोहको आयोजना गरि प्रसाद वितरण गरिने छ।"

हाल जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा निषेधाज्ञा लागु गरेको छ। मङ्गलवार बिहानैदेखि लागु गरिएको निषेधाज्ञा सात दिनसम्म रहने सूचनामा उल्लेख छ।
निषेधाज्ञाको कारण नगर क्षेत्र दिनभरि नै सुनसान रहेको थियो।
'औधी खुसी'
हिन्दूहरू जनकपुरधामलाई भगवान रामको ससुराली मान्छन्।
ज्वाईँको घर निर्माण हुँदा ससुरालीमा खुसी हुनु स्वाभाविक रहेको मिथिलाका नारीहरू बताएका छन्।
"हाम्रो त भिनाजुको घर निर्माण भइरहेको छ," उषा यादवले भनिन्। "सयौँ वर्षदेखि घरबारविहीन रहेका भगवान रामको मन्दिर निर्माणको खबरले हामी औधी खुसी छौँ।"
"अनुकुल समय नभएर जनकपुरधामवासीहरू शिलान्यास समारोहमा सहभागी हुन सकेनन्," सञ्जना ओझाले भनिन्। "नेपाल र भारतमा लकडाउन नभइदिएको भए ठूलो सङ्ख्यामा यहाँबाट सहभागीता हुने थियो। तर अब हामी घरघरमा नै दिपावली गरेर खुसीयाली मनाउने छौँ।"
जानकी मन्दिरले नगरवासीलाई दिपावली गरेर खुसीयाली मनाउन आह्वान गरेको छ।
हरेक वर्ष रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट आउने जन्तीलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले राजा जनकको भूमिकामा स्वागत गर्दै आएका छन्।
जनकपुरधाममा रहेको राम मन्दिरका महन्थ राम गिरीले पनि रामजन्मभूमिमा मन्दिर निर्माण हुन लागेकोमा खुसी व्यक्त गरेका छन्।
केही समय अगाडि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालकै पर्सा जिल्लाको ठोरीमा भएको विवादास्पद् टिप्पणी गरेपछि जनकपुरधामका साधुसन्तहरूले सडकमा ओर्लेर त्यसको विरोध गरेका थिए।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले अध्यात्ममा राजनीति छिराउने काम गर्न नहुने बताउँदै रामसीताको विवाह नेपाल र भारतमा नभइ त्रेतायुगकालीन मिथिला र अयोध्यामा भएको बताए।








