कोरोना भाइरस नेपाल: पर्साका १५० सहित थप ३८१ जनामा कोरोनाभाइरस सङ्क्रमण, दुई जनाको मृत्यु

तस्बिर स्रोत, EPA
नेपालका विभिन्न स्थानमा थप ३८१ जनामा कोभिड-१९ पुष्टि र दुई जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपराह्ण दिएको छ।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६० पुगेको छ।
सङ्क्रमितमध्ये १५० जना पर्सा जिल्लाका र ५० जना काठमाण्डू उपत्यकाका रहेका छन्।
यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,३९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,१७४ छ।
को हुन् मृतकहरु?
गत सोमवार झाडापखालाले ग्रस्त भई उपचारका लागि न्याश्नल अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएकी पर्साकी १८ वर्षीया महिलामा पनि मृत्युपछि गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै कोरोनाभाइरस सङ्क्रमणबाट पर्सामा मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन्।
उनको बुधवार बिहान मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।
साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते कोभिड-१९ पुष्टि भएको थियो।
मधुमेहका रोगी रहेका उनलाई खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

वीरगञ्ज कारागार प्रमुख पनि सङ्क्रमित
पर्सामा बुधवार १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
तीमध्ये नारायणी अस्पतालको प्रयोगशालामा १४७ जना, काठमाण्डूमा दुई जना र भक्तपुरमा एक जना भएको डा. गौतमले बताए।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जना बारा सिमरा क्वारेन्टिनमा बसेका, वीरगञ्ज कारागारका प्रमुखसहित कैदीबन्दी एवम् कर्मचारी रहेको मेडीकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्।
कारागारका २७ जना लगायत प्रहरी, सैनिक र महानगरपालिका कर्मचारी रहेको उनले बताए।
सङ्क्रमितहरूमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार हाल पर्सामा सङ्क्रमितको सङ्ख्या ७०० भन्दा माथि पुगेको छ ।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १३० जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।
अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ।
अहिले देशभरि विभिन्न स्थानमा ९,९२५ मानिसहरू क्वारन्टीनमा छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










