इन्स्टाग्राममा प्रख्यात बनेका ताइवानी वृद्ध जोडी

तस्बिर स्रोत, Instagram/WantShowAsYoung
- Author, सिन्दी स्यू
- Role, बीबीसी न्यूज, ताइवान
"यो उमेरमा मेरा तस्बिर हेर्न चाहने यति धेरै मानिस हुनेछन् भन्ने मैले कहिल्यै सोचेकी थिइन," ८४ वर्षीया शु शिओ एले भनिन।
सात दशकदेखि शु र उनका श्रीमान् चाङ वाङ जीले ताइवानको ताइजुङ सहरमा कपडा धुने पसल सञ्चालन चलाइरहेका छन्।
कतिपय ग्राहकले धुन छाडेको लुगा लिन नआएकाले त्यहाँ सयौँ कपडाको थुप्रो लागेको छ।
हालसालै उनीहरूका नाति रीफ चाङले उनीहरूलाई छाडिएका ती लुगा लगाएर तस्बिर खिच्न र ती तस्बिरहरूलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्न मनाए।
उनीहरूलाई आश्चर्य हुने गरी ती तस्बिरहरू प्रख्यात भएका छन्।
इन्स्टाग्राममा उनीहरूलाई विश्वभरका छ लाखभन्दा बढीले पच्छाएका छन्।
तर रीफ भने हजुरबुवा र हजुरआमालाई प्रख्यात बनाउने आफ्नो उद्देश्य नरहेको बताउँछन्।
उनीहरूको पट्यारलाग्दो दिनचर्यामा परिवर्तन ल्याउन आफूले त्यस्तो सुझाव दिएको उनको भनाइ छ।

तस्बिर स्रोत, Instagram/WantShowAsYoung
"उहाँहरूको व्यवसाय सधैँ व्यस्त हुँदैनथ्यो। उहाँहरू पसलमै निदाउनु हुन्थ्यो र आत्मबल उच्च थिएन।"
"मलाई लाग्यो कि हामीसँग भएका ती कपडा फिर्ता लिन आउन सम्झाउन सकिन्छ र हजुरबुवा अनि हजुरआमालाई बुढेसकालमा पनि जिन्दगी रमाइलो हुन्छ भन्ने कुरा थाहा दिन सकिन्छ," उनले बीबीसीलाई भने।
कपडाको राम्रो ज्ञान भएका साथीको सहयोगमा उनले आफ्ना हजुरबुवा र हजुरआमालाई सर्ट, हाफ पाइन्ट, ब्लाउज अनि स्कर्टसँग सापटी लिइएका पर्स, ह्याट अनि चस्मा सुहाउने गरी मिलाएर लगाउन सहयोग गरे।

यो पनि पढ्नुहोस्
त्यसपछि पत्रिकामा छाप्न योग्य हुने गरी पुरानो पसलमा रहेका लुगा धुने र सुकाउने मेशिन अगाडि उभ्याएर उनले विभिन्न मुद्रामा तस्बिर खिचे।
तस्बिरमा हजुरबुवाले लगाएको पहिरन हेर्दा उनी क्युबास्थित हवानामा छुट्टीमा जान लागेको जस्तो देखिन्छन्।
ब्लाउज र स्कर्ट लगाएकी हजुरआमाको तस्बिर हेर्दा उनीहरू आश्चर्यचकित देखिन्छन्।
"त्यस्तो पहिरन लगाउँदा म आफू ३० वर्ष कान्छो भएको महसुस गर्छु," वाङ जीले भने।

चौध वर्षको उमेरमा लुगा धुने पसल सुरु गरेको वाङ जीका अनुसार पछिल्ला वर्षमा लुगाको मूल्य सस्तो हुँदै गएपछि मानिसहरूले आफूहरूलाई आवश्यक नपर्ने पहिरन पसलमा छोड्ने गरेका छन्।
"पहिले लुगा निकै महँगो हुन्थ्यो," उनले सम्झिए।
"मैले विवाह गर्दा मेरो सुट किन्न २० बोरा चामल भरिएको बैलगाडा दिनु परेको थियो। र त्यति बेला कपडाको महत्त्व धेरै थियो की पैसाको खाँचो पर्दा निश्चित पसलमा कपडा दिएर उधारो लिन सकिन्थ्यो।"
उनीहरूले सयौँ कपडा परोपकारी कार्यका लागि दान दिएका छन्। त्यति गर्दा पनि सयौँ कपडा बाँकी नै छन्।

सुरुमा ग्राहकका कपडा लगाउन आनाकानी गरेका ती वृद्ध दम्पतीलाई नातिले सम्झाउनु परेको थियो।
सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा अकाउन्ट नभएका उनीहरूले अहिले मानिसहरूले जनाएको प्रतिक्रियाबारे आफ्ना नातिबाट थाहा पाउँछन्।
"तपाईँहरू निकै सुन्दर हुनुहुन्छ। कीप स्टाइलिङ्ग," लन्डनस्थित एक महिलाले इन्स्टाग्राममा प्रतिक्रिया जनाइन्।
"वाङ जी र शु शिओ एबीचको माया देख्दा बूढो हुँदै जानु त्यति डरलाग्दो छैन भन्ने मलाई लाग्न थालेको छ," एक अर्का प्रशंसकले लेखेका छन्।

'ट्रेन्डी' देखिन र रमाइलो गर्न उमेर बाधक होइन भन्ने सोच्न अरूहरूलाई प्रेरित गर्न सकेकोमा यो दम्पती निकै खुसी छ।
वाङ जी आफूकहाँ रहेका अन्य सुटबारे के गर्ने भन्ने विषयमा सोचविचार गरिरहेका छन्।
इन्स्टाग्राममा "विन्टर सीजन कलेक्सन" राख्न मन लागेको उनले बताएका छन्।
रीफका लागि भने आफ्ना हजुरबुवा र हजुरआमालाई खुसी देख्नु मात्रै नभएर अनजानमै मानिसहरूलाई बुढेसकालमा रहेका आफन्तहरूसँग बढी समय बिताउन सम्झाउनु रहेको छ।
"मलाई के कुराले छोयो भने धेरै मानिसहरूले निकै लामो सन्देश लेखेका छन् जसमा उनीहरूले यसले आफूलाई हजुरबुवा हजुरआमासँग धेरै समय नबिताएको सम्झाएको उल्लेख गरिएको छ," रीफले भने।

तस्बिर स्रोत, Instagram/WantShowAsYoung

"मलाई लाग्छ की म युवा अवस्थामा रहेका बेला उहाँहरूले आफ्नो सबै समय मलाई दिनुभयो। उहाँहरू वृद्ध भएको अवस्थामा मैले कति समय बिताउन पाउँछु भन्ने कुरा मलाई थाहा छैन।"
"उहाँहरू निकै खुसी हुनुहुन्छ। उहाँहरूलाई कसैले पनि यसरी पहिचान गरेको थिएन," उनी भन्छन्।
तर त्यसै छाडिएका कपडाको के होला त?
उनीहरूको इन्स्टाग्राम अकाउन्टमा लेखिएको छ: "आफ्नो लुगा लिन नबिर्सिनु।"
केहीले हालसालै मात्रै त्यो पोस्ट देखे र भनिए जस्तै गरे। त्यति मात्रै होइन, उनीहरूले धुनका लागि थप लुगा पनि लिएर आए।








