झुक्किएर खातामा आएको एक लाख डलर खर्च गरेपछि अमेरिकी दम्पती समस्यामा

एटीएमबाट पैसा निकाल्दै

तस्बिर स्रोत, Getty Images

संयुक्त राज्य अमेरिकामा एउटा दम्पतीको ब्याङ्क खातामा झुक्किएर जम्मा भएको एक लाख डलर खर्च गरेपछि उनीहरू समस्यामा परेका छन्।

रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएको छ।

खातामा ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र अन्य सामग्री किनेका थिए।

प्रहरीका अनुसार उनीहरूले सो रकम आफ्नो नभएको थाहा भएको स्वीकारेका छन्।

उनीहरूलाई चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ। अहिले उनीहरू धरौटीमा छुटेका छन्।

सोमवार उनीहरूलाई एउटा स्थानीय अदालतमा उपस्थित गराइएको थियो।

उनीहरूले सञ्चारमाध्यमसँग बोलेका छैनन्। उनीहरूले कानुनी सहयोग पाए वा नपाएको स्पष्ट छैन।

महँगो किनमेल

गत मे ३१ मा बीबी एन्ड टी ब्याङ्कले त्रुटिवश उक्त रकम जम्मा भएको पेन्सल्भेनिअका एक अधिकारीले विलीअम्स्पोर्ट सन-गजेट पत्रिकालाई बताए। त्यो रकम एउटा स्थानीय लगानी फर्मलाई पठाउन लागिएको थियो।

सो त्रुटि जुन २० मा पत्ता लागेको थियो। तर त्यति बेलासम्म खाताबाट झन्डै एक लाख सात हजार डलर निकालिसकिएको थियो।

खाताबाट पैसा निकालेर अभियुक्तहरूले केही महँगा कार र घरमा प्रयोग हुने विभिन्न सामान किनेको प्रहरीले उल्लेख गरेको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

उनीहरूले आफ्ना साथीलाई सहयोगस्वरूप १५ हजार डलर दिएका थिए।

सम्पर्कविहीन

सीबीएस न्यूजका अनुसार त्रुटि भएको पत्ता लागेपछि ब्याङ्कले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन्।

"[टिफनी विलीअम्ज] ले आफ्ना श्रीमान्‌ले रकमको ठूलो भाग खर्च गरेको र एउटा चारपाङ्ग्रे किनेको ब्याङ्कलाई बताइन्। उनले पैसा फिर्ता गर्ने सहमतिको प्रयासका लागि श्रीमान्‌सँग कुरा गर्ने बताइन्।"

तर त्यसपछि उनीहरू ब्याङ्कसँग सम्पर्कविहीन भएका थिए।

अनुसन्धानकर्ताहरूले जुलाईमा उनीहरूसँग कुरा गर्दा खातामा आएको पैसा आफ्नो नभएको थाहा भए पनि खर्च गरेको स्वीकारेका थिए।

त्यो रकम आउनुभन्दा अघि उनीहरूको खातामा एक हजार डलर मात्र थियो।