कोरोना भाइरस भारत: रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु

तस्बिर स्रोत, EPA
भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ।
कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ।
जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए।
उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए।
"ती स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ," उनले पत्रकारहरूलाई बताए।
स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए।
"कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए," उनले रोयटर्स समाचार संस्थालाई बताए।
"लकडाउनका कारण रक्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

स्थानीय लकडाउन
भारतको सङ्घीय सरकारले आर्थिक सङ्कट टार्न सबैजसो व्यापार व्यवसाय पुन: सञ्चालनको अनुमति दिइसकेको छ।
यो साताको सुरुमा योग सिकाउने संस्था तथा व्यायामशाला पनि खोल्न दिइने भनिएको छ। मानिस तथा मालसामानको आवतजावत तथा ओसारपसार खुकुलो पारिएको छ।
तर कैयन् राज्यहरूले भने स्थानविशेषमा भाइरस सङ्क्रमण रोक्न लकडाउन लागु गरेका छन्।
आन्ध्रप्रदेश राज्यमा गत महिना सङ्क्रमितको सङ्ख्या नौ गुनाले बढेको छ।
यसबीच भारतमा गत २४ घण्टामा थप ५५ हजार मानिस सङ्क्रमित भएका छन्। त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एकैदिनमा ७७९ ले बढेर साढ ३५ हजार पुगेको छ।








