अन्तरिक्षमा हतियार परीक्षण गरेको अमेरिकी आरोप रुसद्वारा अस्वीकार

नासा

तस्बिर स्रोत, EPA

भू-उपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेको दाबीलाई रुसले अस्वीकार गरेको छ।

"[जुलाई १५ मा] गरिएको परीक्षणले कुनै पनि भू-उपग्रहलाई खतरा थिएन," रुसको रक्षा मन्त्रालयले भनेको छ।

रुसले यसअघि नवीनतम अन्तरिक्ष प्रविधि परीक्षण गर्ने क्रममा एउटा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर एउटा भू-उपग्रह जाँचिएको बताएको थियो।

तर अमेरिका र यूकेले अन्तरिक्षमा गरिएको सो परीक्षणप्रति चिन्ता व्यक्त गरेका छन्।

"रुसले एउटा भू-उपग्रहबाट हतियारको जस्तो गुण भएको उपकरण परीक्षण गरेको प्रक्रियाबाट हामी चिन्तित भएका छौँ," यूकेको अन्तरिक्ष निर्देशनालयका प्रमुख एअर भाइस मार्सल हार्भे स्मिथले भने।

यूकेले रुसको अन्तरिक्षमा गरिएको परीक्षणबारे आरोप लगाएको यो पहिलो पटक हो। अमेरिकाले पहिला पनि अन्तरिक्षमा रुसको गतिविधिबारे प्रश्न उठाउने गरेको छ।

अमेरिकी सरकारले भू-उपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ।

अमेरिका र रुसबीच आगामी साता भियनामा अन्तरिक्ष सुरक्षाको विषयमा सन् २०१३ यता पहिलो पटक द्विपक्षीय वार्ता गर्ने तयारी छ।

सो वार्ता अन्तरिक्ष कानुन नभएको क्षेत्र भएको कुरालाई प्रकाशमा ल्याउने एउटा मौका हुनसक्ने अन्तर्राष्ट्रिय सुरक्षा र निशस्त्रीकरणसम्बन्धी अमेरिकी सहायक मन्त्री क्रिस्टोफर फोर्डले बताएका छन।

के भन्छ रुस?

शुक्रवार रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसको एउटा 'निगरानी' भू-उपग्रहले रुसी अन्तरिक्ष यानलाई नजिकैबाट एउटा विशेष सानो अन्तरिक्ष उपकरण प्रयोग गरेर निरीक्षण गरेको बताएको छ।

रुसले सो कार्यले अन्तर्राष्ट्रिय कानुनको कुनै पनि मापदण्ड वा सिद्धान्तलाई उल्लङ्घन नगरेको बताएको छ।

मन्त्रालयले अमेरिका र यूकेले 'अन्तरिक्षमा हतियार राख्न र त्यसका लागि आवश्यक कोष जुटाउन अवस्थालाई गलत तरिकाले प्रस्तुत गर्ने अर्को प्रयास गरेको' आरोप लगाएको छ।

अन्तरिक्ष

तस्बिर स्रोत, Getty Images

के भन्छन् अमेरिका र यूके?

रुसले अन्तरिक्षमा अस्त्र नियन्त्रण गर्नुपर्ने बताएपछि बिहीवार एउटा विज्ञप्तिमा फोर्डले रुसलाई आडम्बरी भएको आरोप लगाए।

"मस्को अमेरिकाको क्षमतामा अङ्कुश लगाउन चाहन्छ तर आफ्नो प्रति-अन्तरिक्ष कार्यक्रम रोक्ने उसको कुनै उद्देश्य नभएको स्पष्ट देखिन्छ," उनले भने।

अमेरिकी अन्तरिक्ष बलका प्रमुख जेनरल जे रेमन्डले रुसले "अन्तरिक्षमा भू-उपग्रह मारक अस्त्र प्रहार गरेको" प्रमाण भएको दाबी गरेका छन्।

अन्तरिक्ष सन्धिमा के छ?

रुस, यूके, अमेरिका र चीन सहित १०० भन्दा बढी राष्ट्रले बाह्य अन्तरिक्षमा शान्तिपूर्ण उद्देश्यले मात्र अन्वेषण गर्ने सहमति व्यक्त गर्दै एउटा सन्धिमा हस्ताक्षर गरेका छन्।

उक्त सन्धिअनुसार पृथ्वीको कक्ष तथा अन्तरिक्षमा कुनै अस्त्र राख्न पाइँदैन।

अमेरिकाले सन् २०१८ र यो वर्षको प्रारम्भतिर एउटा रुसी अन्तरिक्ष प्रणाली अमेरिकी भू-उपग्रहनजिक पुगेको आरोप लगाएको थियो।

अहिलेको घटनामा पनि उक्त प्रणाली नै संलग्न भएको अमेरिकाको दाबी छ।

अन्तरिक्षमा के हुँदैछ?

बीबीसीका प्रतिरक्षा संवाददाता जोनाथन मार्कसका अनुसार अहिलेसम्म रुस, अमेरिका, भारत र चीनसँग मात्रै भू-उपग्रहमा मार हान्ने क्षमता छ।

"तर मस्कोले स्पष्ट रूपमा एउटा भू-उपग्रह प्रयोग गरेर अर्को नष्ट पार्न खोजेको छ," उनी भन्छन्।

केही देशले आफ्नो सेनामा अन्तरिक्षसम्बन्धी मामिला हेर्ने विशेष बल बनाएका छन्।

"सैन्य भाषामा भन्नुपर्दा अन्तरिक्ष नयाँ मोर्चा बनिसकेको छ," उनी भन्छन्।

उनका अनुसार त्यस्ता बलले अन्तरिक्षमा भएका आफ्नो देशका संरचना जोगाउन रक्षात्मक र आक्रामक दुवै काम गर्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन भारत अन्तरिक्ष प्रतिरक्षा प्रणालीमा लगानी गर्दैछ?