दक्षिण एशियामा कोरोना भाइरस: के कम परीक्षणका कारण महामारी कम देखिएको हो?

- Author, श्रुति मेनन
- Role, बीबीसी रियालिटी चेक
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ लाख नाघिसकेको छ र विश्वका देशहरूमध्ये अमेरिका र ब्रजिलपछि तेस्रो स्थानमा छ।
भारतको जनसङ्ख्याका हिसाबले सङ्क्रमितको सङ्ख्या आश्चर्यजनक होइन।
तर उसका छिमेकी देशहरूमा पनि कोरोनाभाइरसको नराम्ररी असर परेको छ।
हामीले महामारीको असर नेपाल, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्का र अफगानिस्तानमा कुन तहमा छ भनेर हेरेका छौँ।
सङ्क्रमितको अवस्था
प्रत्येक २० दिनमा सङ्क्रमितको सङ्ख्या दोबर बढ्दा भारत विश्वभरमा भारत कोरोनाभाइरसको संवेदनशील देश बनेको छ।
भारतमा सङ्क्रमितको सङ्ख्या अझै पनि तीव्र रूपमा बढिरहेको छ।
दैनिक सङ्क्रमितको सङ्ख्याका हिसाबले अन्य दक्षिण एशियाली देश भने फरक अवस्था देखिएका छन्।
मे र जुन महिनामा बढेको भए पनि अहिले ती देशमा पुष्टि हुने सङ्क्रमित सङ्ख्या ओरालो लाग्न थालेको देखिन्छ।

दक्षिण एशियाली क्षेत्रमा दोस्रो धेरै सङ्क्रमित सङ्ख्या रहेको पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या ओरालो दिशामा रहेकोले त्यसबारे सावधानीपूर्ण आशा रहेको छ।
जुनको मध्यमा प्रत्येक दिन नयाँ सङ्क्रमितको सङ्ख्या करिब ६,००० रहेकोमा जुलाईको मध्यमा आइपुग्दा त्यो सङ्ख्या घटेर २,००० भन्दा कम छ।
यद्यपि यसबारे चिन्ताहरू कायमै छन् र धेरैले यसले कोरनाभाइरस नियन्त्रणमा रहेको भनेर निष्कर्ष निकाल्न निकै छिटो हुने बताएका छन्।

त्यस्तै बाङ्ग्लादेशमा पनि अहिले सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख छ। बाङ्ग्लादेशमा जुनको मध्यदेखि जुलाईको सुरुसम्म दैनिक सङ्क्रमितको सङ्ख्या धेरै थियो।
त्यसपछि सङ्क्रमितको सङ्ख्या ओरालो लाग्न थाल्यो र अहिले प्रत्येक २८ दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुन्छ।
अफगानिस्तानमा पनि दोबर हुने दर छिमेकी देशको भन्दा सुस्त छ। त्यहाँ अहिले प्रत्येक ४१ दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुन्छ।
तर त्यहाँको आधिकारिक तथ्याङ्कको विश्वसनीयतामा प्रश्न उठेका छन्।

समग्रमा हेर्दा नेपाल र श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या निकै कम छ।
नेपालमा सरकारले लगाएको लकडाउन १०० दिन नाघेको छ। उक्त समयावधिमा धेरै सङ्क्रमित छिमेकी देश भारतसँगको सीमा क्षेत्रमा देखिए।
हालैका सङ्ख्या हेर्दा दैनिक सङ्क्रमितहरू घट्ने क्रममा छन् तर विज्ञहरू भने समुदायमा पहिचान नभएकाले त्यस्तो परिणाम आएको बताउँछन्।
श्रीलङ्कामा पनि एप्रिलयता सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको थियो तर उसले सङ्ख्या कम राख्न सक्यो।
त्यहाँ कडा लकडाउन लगाइएको थियो एवम् सङ्क्रमितलाई कडा नियमसहित क्वारन्टीनमा राख्ने र सम्पर्कमा आएका मानिसहरूको पहिचान गर्ने काम गरिएको थियो।

परीक्षण नै कम
विश्वको एक चौथाइ जनसङ्ख्या दक्षिण एशियामा भए पनि यो क्षेत्रबाट अहिलेसम्म जम्मा ११ प्रतिशतमात्रै सङ्क्रमित भएको तथ्याङ्क छ।
भाइरोलोजिस्ट डा. शाहिन जमील भन्छन्, "भारत र बाँकी दक्षिण एशियामा प्रत्येक १० लाखमा सङ्क्रमितको सङ्ख्या कम छ तर त्यही अनुसार परीक्षण पनि कम नै भएको छ।"
भारतमा अहिलेसम्म एक करोड तीन लाख मानिसमा परीक्षण गरिसकिएको छ र पाकिस्तानमा जम्मा १६ लाख गरिएको छ।
तर यी देशहरूमा प्रतिव्यक्ति परीक्षण अन्य देशहरूमा भन्दा निकै कम छ।
बाङ्ग्लादेशमा पनि परीक्षणको सङ्ख्या ओरालो लाग्ने क्रममा छ र त्यहाँ सङ्क्रमण नभएको भन्ने झूटो प्रमाणपत्र दिइएको भन्ने प्रकरणका कारण पनि परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

नेपालमा जुलाई २० तारिखसम्म तीन लाख १९ हजारभन्दा बढी परीक्षण भएको छ।
सरकारले जुलाई महिनादेखि दैनिक १०,००० परीक्षण गर्ने बताए पनि अहिले दैनिक करिब ४,००० मात्रै परीक्षण भइरहेको छ।
अफगानिस्तानमा कति सङ्ख्यामा परीक्षण भइरहेको छ भन्ने तथ्याङ्क नै छैन।
रेड क्रिसेन्टले त्यहाँको सरकारले दिएको सङ्ख्याभन्दा सङ्क्रमितको सङ्ख्या निकै बढी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
अपत्यारिलो तथ्याङ्क
पश्चिमा देशभन्दा दक्षिण एशियाली देशमा मृत्यु हुनेको प्राप्त सङ्ख्या निकै धेरै कम छ चाहे त्यो जनसङ्ख्याको आधारमा होस् वा कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्यासँग दाँज्दा होस्।
यसले उक्त क्षेत्रमा स्वास्थ्यसम्बन्धी पूर्वाधारमा गरिएको कमजोर लगानी र त्यहाँको तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न पनि उठाउँछ।
"दर्ता प्रणालीमा थुप्रै मृत्युहरू त समेटिएकै छैनन् र मृत्युको कारण पनि गलत तरिकाले वर्गीकृत गरिएको छ," युनिभर्सिटी अफ योर्कका जनस्वास्थ्य विज्ञ प्राध्यापक कमरन सिद्दिकीले भने।
"एकदमै घतलाग्दो व्याख्या त के छ भने दक्षिण एशियामा युरोप र अमेरिकाभन्दा धेरै हदसम्म युवा मानिसहरूको सङ्ख्या धेरै छ," प्राध्यापक सिद्दिकीले भने।
यी देशहरूमा जनसङ्ख्याको औसत उमेर १८ देखि ३४ रहेको छ।
ढाकाबाट वालिउर रहमान र काठमाण्ठूबाट रमा पराजुलीको सहयोगमा।









