नेपालका गाईमा देखिएको नयाँ सङ्क्रामक रोगको यकिन हुन सकेन

गाई
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

नेपालका गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन्।

पहिचान हुन नसकेको उक्त रोगले अहिले नेपाल-भारत सीमावर्ती इलाकाका गाईहरू थलिन थालेका छन्।

मोरङमा उक्त रोगका कारण करिब एक दर्जन गाई मरेको पशु अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ।

उक्त रोग लागेपछि गाईले दुध दिन छोड्ने वा कम दिने गरेको पशुरोग चिकित्सकहरूको भनाइ छ।

रोगका लक्षण

मेचीनगर नगरपालिका १० की लीला अधिकारीको घरमा पालेको गाईको शरीरभरि घाउ थिए।

केही घाउ फुटेर तरल पदार्थ बगिरहेको थियो भने गाईलाई उठ्न र बस्न समेत गाह्रो भएको देखिन्थ्यो।

केही दिनदेखि गाईले दुध पनि कम दिन थालेको अधिकारीले बताइन्।

उनले भनिन्, "गाई छट्पटाउँछ र धेरै ज्वरो आउने भएको छ।"

स्थानीय पशु प्राविधिकसँग सम्पर्क राखेर ज्वरो नियन्त्रण गर्ने केही औषधि गाईलाई खुवाए पनि गाईले सञ्चो भएको सङ्केत नदेखाएको उनले बताइन्।

उनका छिमेकी लीला खनालको गाईको खुट्टा सुन्निएको छ र दुध कम दिन थालेको छ।

खनालले भने, "केही दिन अघिसम्म त गाउँका एक/दुई वटा गाईमा यो रोग देखिएको थियो। अहिले त गाउँभरि यस्तै गाई छन्।"

बिरामी गाई

नयाँ भाइरल रोग

यस्तो प्रकारको रोग अहिले झापा, मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा फैलिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ।

प्रयोगशालाका प्रमुख डा. सञ्जय यादवले भने, "मोरङमा करिब ३०० गाईमा यो रोग देखिएको छ। अन्य रोगको जस्तो यो रोगले गाई मर्ने दर चाहिँ कम छ।"

उनका अनुसार यो भाइरल रोग नेपालका लागि नयाँ हो। यसको परीक्षण तथा उपचारको विधि नेपालमा अहिलेसम्म छैन।

बर्खापछि सङ्क्रमण बढ्न सक्ने

मनसुनका कारण अहिले प्रायः गाई गोठमा छन्। बर्खाको समयपछि गाईलाई गोठ बाहिर निकालेपछि यो रोगको सङ्क्रमण अझ बढ्नसक्ने पशुरोग चिकित्सकहरूको आकलन छ।

प्रदेश नं १ का पशुपन्छी विकास महाशाखाका प्रमुख पशुपति ढुङ्गानाले भने, "यो एउटा गाईबाट अर्को गाईमा सर्ने रोग हो। गाई चराउन निकाल्दा अन्य स्वस्थ गाईमा पनि यो फैलने सम्भावना छ।"

यो रोगलाई समयमा नियन्त्रण नगरे गाईपालन व्यवसायमै ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउनसक्ने पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. यादव बताउँछन्।

नमुना सङ्कलन गरिँदै

यो भाइरल रोग कुन हो भनेर यकिन भइनसकेको पशु सेवा विभागकी उपमहानिर्देशक डा. सम्झना काफ्लेले बताइन्।

अहिले उक्त रोगबाट प्रभावित जिल्लाका गाईका नमुना सङ्कलन गरेर प्रयोगशालामा राखिएको बताइन्। तर नमुना परीक्षणका लागि समय लाग्ने उनको भनाइ छ।

डा. काफ्लेले भनिन्, "यो किसिमको रोग भैंसीमा पनि हुन्छ। यो कुन रोग हो भनेर अनुमान चाहिँ लगाइसक्यौँ। परीक्षण नगरी यही हो भन्न सकिँदैन।"

डा. यादवले रोगको परीक्षण गर्नका लागि टेस्ट किट विदेशबाट ल्याउनुपर्ने भएकाले एक/डेढ महिना लाग्न सक्ने बताए।

नेपालमा ७० लाखभन्दा बढी गाई पालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आकलन छ।

यो रोगको पहिचान तथा उपचार हुन नसके दुध उत्पादनमा ह्रास आउने पशुरोग चिकित्सकहरूको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जूम मीटिङ पट्यारलाग्दो भयो? यो गधालाई बोलाउनुहोस्