बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति 'भारतीय नागरिक, पैसा लिएर अभिनय गरेको स्वीकार'

तस्बिर स्रोत, Social Media screengrab
- Author, केशव कोइराला
- Role, बीबीसी न्यूज नेपाली
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित "नेपाली युवक" वास्तवमा भारतीय नागरिक भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।
नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।
उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।
मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसएसपी अमित पाठकले जानकारी दिए।
उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अरुण पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा शुक्रवार बिहानसम्म प्रेषित गरिरहेका थिए।
तर त्यसपछि उनी निष्क्रिय देखिन्छन्।
को हुन् पीडितका रूपमा चित्रित व्यक्ति?
"नेपाली युवक"का रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।
उनले आफू बनारसी सारी पसलमा काम गर्ने र आफूलाई मानसिक स्वास्थ्यको समस्या भएको जानकारी दिएका छन्।
यसअघि शनिवार बिहान एसएसपी पाठकले बीबीसीसँग भनेका थिए, "उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।"
एसएसपी पाठकले भने, "आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।"
उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो...
उनका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जल संस्थानमा कार्यरत छन्।
"उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो," एसएसपी पाठकले भने।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
कसरी बन्यो भिडिओ?
उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पूर्वपरिचय भएको देखिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनले पैसा लिएर अह्राएअनुसार अभिनय गर्न स्वीकारेका थिए।
"ती व्यक्तिहरूले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन्," एसएसपी पाठकले भने।
प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै ती व्यक्तिले आफूले पैसा लिएर शिर मुण्डन गराएको र नाराबाजी गरेको स्वीकार गरेका छन्।
"म मानसिक रोगी हुँ र डेढ महिनादेखि उधारोमा औषधि लिएको थिएँ," उनले भने, "त्यसैले अलिकति मेहनत गर्दा औषधि आउँछ भन्ने लालचमा गएको हुँ।"

तस्बिर स्रोत, Keshav P. Koirala / BBC
यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्ति को हुन् भनेर सोधखोज गरेका थिए।
भिडिओमा उनले नेपाली बोलेको सुनिए पनि उनी नेपाली हुन् वा नेपाली बोल्न सक्ने भारतीय हुन् भन्ने स्पष्ट हुन सकेको थिएन।
प्रहरीका अनुसार सिंहले आफू केही पटक नेपाल गएको तर आफ्ना पूर्वजको सम्बन्ध नेपालको कुन स्थानसँग छ भन्ने आफूलाई थाहा नभएको बताएका छन्।
के भन्छ प्रहरी?
बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
"यो पूरै घटनाक्रममा हामी थप प्रमाण सङ्कलन गर्दैछौँ र अन्य व्यक्तिको गिरफ्तारीका लागि प्रयास पनि हुँदैछ," एसएसपी पाठकले भने।
बनारसबाट प्रकाशित अमर उजाला पत्रिकाका अनुसार उक्त घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।
उक्त पत्रिकाका अनुसार भिडिओ खिच्ने सन्तोष कुमार पाण्डेयले पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा पैसा दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका थिए।
के हो विश्व हिन्दू सेना?
विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको समूह हो। वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्।
तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन।

तस्बिर स्रोत, Swami Omkarananda Giri
उक्त समूहले ओलीविरुद्ध ललिताघाटस्थित नेपाली मन्दिरसहित बनारसका विभिन्न स्थानमा पोस्टर टाँसेको थियो।
त्यसमा ओलीले रामबारे गरेको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो।
के भन्छन् बनारसमा बस्ने नेपालीहरू?
बनारसमा अध्ययन, अध्यापन, काम र तीर्थवास गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य छ।
धेरैले यो घटनालाई दुई देशबीच रहेको सांस्कृतिक र पारम्परिक सम्बन्ध बिगार्ने "षड्यन्त्र र अतिवादी कृत्य"को रूपमा हेरेका छन्।

तस्बिर स्रोत, Samrajyeshwar Pashupati Mandir
तर कोरोनाभाइरस लकडाउनमा हिँडडुल र अन्य गतिविधि पनि कम भएकाले खासै असुरक्षित अनुभूति नभएको उनीहरूको भनाइ छ।
"अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्न र चर्चित हुने अवसर खोजेका हुन्," साम्राज्येश्वर पशुपतिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष स्वामी ॐकारानन्द गिरिले बीबीसीसँग भने, "हामी सतर्क छौँ, तर यो घटनालाई ठूलो महत्त्व दिनुहुँदैन।"
"प्रहरी र प्रशासनले कारबाही सुरु गरेका छन्," उनले भने, "यस विषयमा नेपाली राजदूतले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्नुभएको छ।"
अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्ने र आफू चर्चित हुने अवसर खोजेका हुन्...
ललिताघाटस्थित नेपाली मन्दिरमा पर्चा टाँसिएपछि गिरिले राजदूत आचार्यसँग कुरा गरेका थिए।
अहिले मन्दिरको सुरक्षाका लागि प्रहरीको एउटा टोली परिचालित भएको जानकारी उनले दिए।
बनारसमा नेपाली नागरिक र नेपाली मूलका अन्य मानिसले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने स्थिति नभएको नेपाली समुदायका एक अगुवा राजु पोखरेल बताउँछन्।
"केही भयो भने हामीलाई सम्पर्क गर्न भनेका छौँ," उनले भने, "हामी प्रशासनसँग सम्पर्कमा छौँ।"










