बनारस दुर्व्यवहार प्रकरण: कपाल खौरिई प्रधानमन्त्री ओलीविरुद्ध नारा लाउन लगाइएका 'पीडित नेपाली' को खोजी गर्दै भारतीय प्रहरी, नेपालीहरू भन्छन्, 'असुरक्षित छैनौँ '

तस्बिर स्रोत, Keshav P. Koirala / BBC
- Author, केशव कोइराला
- Role, बीबीसी न्यूज नेपाली
भगवान् रामको जन्म र जन्मभूमि अयोध्याबारे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा भएको घटनामा संलग्न केही व्यक्तिलाई गिरफ्तार गरेको त्यहाँको प्रहरीले पीडित भनिएका एक व्यक्तिबारे सोधखोज गरिरहेको छ।
नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा त्यहाँको एउटा हिन्दू सङ्गठनका कार्यकर्ताहरूले नेपाली भनिएका एक व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।
भारत उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसएसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कानुनी कार्बाहीको प्रक्रिया सुरु भएको जानकारी दिए।
तर मुख्य आरोपित अरुण पाठक भने फरार छन्।
को हुन् ती व्यक्ति?
एसएसपी पाठकले शनिवार बिहानसम्म भिडिओमा पीडितका रूपमा देखा परेका व्यक्ति को हुन् भन्ने स्पष्ट नभएको बताए।
बीबीसीसँग कुराकानी गर्दै उनले भने, "उनले अहिलेसम्म उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।"

तस्बिर स्रोत, Social Media screengrab
त्यहाँ बसोबास गर्ने नेपाली समुदायका अगुवाहरूका अनुसार ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ।
केही व्यक्तिले घटनास्थलनजिकै भेलुपुरमा उनको घर रहेको र उनी अवकाशप्राप्त सैनिक भएको प्रारम्भिक सूचना आएको जनाएका छन्। उनी ४२ वर्षजतिको भएको बुझिएको छ।
उनी नेपाली नागरिक नै हुन् वा नेपाली मूलका भारतीय हुन् भन्ने बिहानसम्म खुल्न सकेको थिएन।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपितले प्रहरीलाई दिएको बयानमा नेपाली भनिएका ती व्यक्तिलाई मुण्डन गर्न र नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन पैसा दिएर तयार पारिएको दाबी गरेका छन्।
कडा कारबाही गरिने प्रतिबद्धता
एसएसपी पाठकका अनुसार बिहीवारको घटनामा भोलिपल्ट पक्राउ परेका चार जनाले आफ्नो ''अपराध स्वीकार'' गरेका छन्।
"हामीले उनीहरूको मोबाइलमा भिडिओ पनि फेला पार्यौँ," एसएसपी पाठकले भने, "उनीहरूविरुद्ध कडा कारबाही गरिनेछ।"
बनारसबाट प्रकाशित अमर उजाला पत्रिकाका अनुसार उक्त घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।
उक्त पत्रिकाका अनुसार भिडिओ खिच्ने सन्तोष कुमार पाण्डेयले पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा १,५०० रुपैयाँ दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका छन्। तर पाण्डेयले ती व्यक्तिबारे जानकारी नभएको जनाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
तर त्यसको पुष्टि हुन सकेको छैन।
के हो विश्व हिन्दू सेना?
विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको सङ्गठन हो।
वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्।

तस्बिर स्रोत, Swami Omkarananda Giri
तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन।
उक्त सङ्गठनले ओलीविरुद्ध ललिताघाटस्थित नेपाली मन्दिरसहित बनारसका विभिन्न स्थानमा पोस्टर टाँसेको थियो।
त्यसमा ओलीले रामबारे गरेको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो।
बनारसमा भएको घटनाबारे जानकारी पाएपछि दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेका थिए।
के भन्छन् बनारसमा बस्ने नेपालीहरू?
बनारसमा अध्ययन, अध्यापन, काम र तीर्थवास गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य छ।
धेरैले यो घटनालाई दुई देशबीच रहेको सांस्कृतिक र पारम्परिक सम्बन्ध बिगार्ने "षड्यन्त्र र अतिवादी कृत्य"को रूपमा हेरेका छन्।

तस्बिर स्रोत, Samrajyeshwar Pashupati Mandir
तर कोरोनाभाइरस लकडाउनमा हिँडडुल र अन्य गतिविधि पनि कम भएकाले खासै असुरक्षित अनुभूति नभएको उनीहरूको भनाइ छ।
"अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्न र चर्चित हुने अवसर खोजेका हुन्," साम्राज्येश्वर पशुपतिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष स्वामी ॐकारानन्द गिरिले बीबीसीसँग भने, "हामी सतर्क छौँ, तर यो घटनालाई ठूलो महत्त्व दिनुहुँदैन।"
"प्रहरी र प्रशासनले कारबाही सुरु गरेका छन्," उनले भने, "यस विषयमा नेपाली राजदूतले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्नुभएको छ।"
अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्ने र आफू चर्चित हुने अवसर खोजेका हुन्...
ललिताघाटस्थित नेपाली मन्दिरमा पर्चा टाँसिएपछि गिरिले राजदूत आचार्यसँग कुरा गरेका थिए।
अहिले मन्दिरको सुरक्षाका लागि प्रहरीको एउटा टोली परिचालित भएको जानकारी उनले दिए।
बनारसमा नेपाली नागरिक र नेपाली मूलका अन्य मानिसले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने स्थिति नभएको नेपाली समुदायका एक अगुवा राजु पोखरेल बताउँछन्।
"केही भयो भने हामीलाई सम्पर्क गर्न भनेका छौँ," उनले भने, "हामी प्रशासनसँग सम्पर्कमा छौँ।"











