कोरोनाभाइरस महामारीले खोप लगाउने बालबालिकाको सङ्ख्यामा व्यापक कमी

खोपबाट धेरै बालबालिकाहरू वञ्चित भएका छन्

तस्बिर स्रोत, Unicef

संयुक्त राष्ट्रसङ्घले कोरोनाभाइस महामारीका कारण विश्वभरि नै खोप लगाउने बालबालिकाको सङ्ख्या निकै घटेको बताएको छ।

यो वर्षको पहिलो चार महिनामा भ्यागुतेरोग, टेटानस र लहरेखोकीको खोप लगाउने बालबालिकाको सङ्ख्या गत तीन दशक यताकै कम देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेयब्रेयससले खोप जनस्वास्थ्यको एउटा साधन भएको बताए।

संयुक्त राष्ट्रसङ्घको सर्वेक्षणमा सहभागी ८० भन्दा बढी मुलुकका तीन चौथाइ खोप कार्यक्रमहरूका प्रभावित भएको युनिसेफ र डब्लूएचओले बताएका छन्।

उनीहरूले स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभाव, यात्रा प्रतिबन्ध, स्वास्थ्यकर्मीको कमी र घर छाड्न नचाहेको सङ्ख्या बढी हुने कारणले खोप कार्यक्रम बन्द गरिएको देखिएको बताएका छन्।

खोप रद्द

यस वर्षको मे महिनासम्ममा कम्तीमा ३० वटा दादुरा खोप अभियान रद्द गरिएका थिए वा खतरामा परेका थिए।

दादुराको प्रकोप कोरोनाभाइरस महामारी सुरु हुनुपूर्व नै बढिरहेको थियो।

सन् २०१८ मा दादुराबाट एक करोड व्यक्ति प्रभावित भएका थिए र एक लाख ४० हजार जनाको मृत्यु भएका थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार तीमध्ये अधिकांश बालबालिका रहेका छन्।

चुनौती

युनिसेफका प्रमुख हेनरीट फोरले कोरोनाभाइरसका कारण नियमित खोप कार्यक्रमलाई चुनौतीपूर्ण बनाइदिएको बताइन्।

"बालबालिकाहरूको जीवन अन्य रोगबाट खतरामा पर्नुअघि नै हामीले खोपमा देखिएको कमीलाई बचाउनु पर्नेछ। हामीले एउटा स्वास्थ्य समस्यासँग अर्को स्वास्थ्य समस्या साटफेर गर्न सक्दैनौँ," उनले भनिन्।

नेपालमा खोप कार्यक्रम

तस्बिर स्रोत, RSS

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले महामारी पहिलेदेखि नै खोप कार्यक्रमको प्रगति रोकिएको बताएका छन्।

सन् २०१९ मा करिब एक करोड ४० लाख बालबालिकाले जीवनरक्षा गर्ने खालका खोपहरू पाएका थिएनन्।

त्यसको दुई तिहाइ बालबालिका एङ्गोला, ब्रजिल, कङ्गो, इथियोपिया, इन्डोनेशिया, नाइजीरिया, पाकिस्तान र फिलिपिन्सका रहेका थिए।

त्यसै समय दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उच्च दरमा खोप लगाउने कार्यमा कमी आएको थियो।

गएको दशकमा ब्रजिल, बोलिभिया, हाइटी र भेनेजुएलामा खोप लगाउने दरमा १४ प्रतिशतले कमी आएको थियो।