म्यान्मार रत्न खानीः कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो

तस्बिर स्रोत, MYANMAR FIRE SERVICE DEPARTMENT
उत्तरी म्यान्मारको एउटा रत्न खानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुने मानिसको सङ्ख्या १६२ पुगेको अधिकारीहरूले बताएका छन्।
कचिन प्रान्तमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ।
ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न 'जेड' खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ।
ठूलो वर्षापछि उक्त स्थानमा पहिरो गएको थियो।
म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।
म्यान्मारको फायर सर्भिस डिपार्टमेन्टका अनुसार बिहीवार साँझसम्ममा १६२ वटा शव फेला परेको थिए।
घाइते भएका ५४ जनालाई अस्पताल लगिएको छ। पहिरोमा परेर हराइरहेका व्यक्तिको सङ्ख्या खुलाइएको छैन।

तस्बिर स्रोत, MYANMAR FIRE SERVICES
खानीमा जेड खोज्न गएका मानिसहरूलाई माटो र हिलोले पुरेको अधिकारीहरूले बताएका छन्।
'सुनामीजस्तै'
घटनाको एउटा भिडिओमा ठूलो पहिरो एउटा ताल वा पानी भरिएको खाल्डोतिर ओइरिएको देखिन्छ।
खानीमा काम गर्ने एक ३८ वर्षीय पुरुषले समाचारसंस्था रोएटर्सलाई आफूले घटनास्थलमा देखेको कुरा बताएका छन्। उनका अनुसार माटोको थुप्रो बग्न थालेपछि मानिसहरू चिच्याउँदै भाग्न थालेका थिए।

तस्बिर स्रोत, MYANMAR FIRE SERVICES
"एक मिनेटभित्रै [डाँडाको ] फेदमा भएका मानिसहरू हराए।... माटोमा गुहार मागिरहेका मानिसहरू थिए तर कसैले पनि सहयोग गर्न सकेन," उनले भने।
कचिन प्रान्तका सामाजिक मामिलामन्त्री डासी ला सेङले बीबीसी बर्मिजलाई भने, "अकस्मात् वर्षाको भेलसँगै ठूलो मात्रामा माटो खाल्डोतिर खनियो। त्यो सुनामीजस्तै थियो।"
म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।
म्यान्मारका खानीमा गत वर्ष भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।









