कोरोना भाइरस लकडाउन: के मानिस स्वाभावले नै अल्छी हुन्छन्?

अल्छी

तस्बिर स्रोत, Getty Images

    • Author, क्लोडिआ हामोन्ड
    • Role, बीबीसी फ्युचर

के तपाईँले क्यालिफोर्नियाको गभर्नर कार्यालयले जारी गरेको छोटो भिडिओ हेर्नु भएको छ? तीस लाखभन्दा बढी मानिसले हेरेको त्यो भिडिओ अहिले सामाजिक सञ्जालभरि छ।

उक्त भिडिओमा हास्य कलाकार लरी डेभिडले कृत्रिम हाँसोमिश्रित शैलीमा मानिसहरूलाई सरकारी आदेश मानेर कोभिड-१९ फैलनबाट रोक्न घरमै बस्न आग्रह गरेका छन्।

'तपाईँहरूको समस्या के हो, मूर्खहरू?' भिडिओमा उनी भन्छन्।

"तपाईँहरू दिनभरि कुर्सीमा बसेर टिभी हेर्ने गजबको अवसर खेर फालिरहनु भएको छ।"

हामीलाई सामान्य अवस्थामा गर्न मन नलाग्ने कामहरू स्वास्थ्यसम्बन्धी चेतावनीपछि गर्नुपर्ने हुन्छ। जस्तो कि धेरै शारीरिक अभ्यास गर्ने वा दैनिक धेरै तरकारी र फलफूल खाने।

तर कुनैबेला सोफामा लम्पसार परेर बस्ने, टेलिभिजन हेर्ने र घरमै बस्ने सरकारी सुझाव पनि सहज लाग्छ।

अल्छीलाई यी कुराले आकर्षित गर्नुपर्ने जस्तो देखिन्छ। तर त्यो त्यति सजिलो पनि छैन।

जैविक रूपमा हामी थोरै काम गरेर बस्न सक्दैनौँ भन्ने देखिएको छ।

तस्बिर स्रोत, Getty Images

केही साताको लकडाउन झेलेपछि तपाईँहरूले त्यो थाहा पाइसक्नुभयो।

जैविक रूपमा हामी थोरै काम गरेर बस्न सक्दैनौँ भन्ने देखिएको छ। हामी क्रियाकलापमै रमाउँछौँ।

अथवा कम्तीमा हामी व्यस्त हुने र आराम गर्ने अवस्थाको सन्तुलनमा खुल्छौँ।

सत्य यो पनि हो कि हामी प्राय: सहज विकल्प खोजिरहेका हुन्छौँ।

हाम्रा लागि थोरै सहनशील भए हुने वा छोटो बाटोबाट सफलता पाइने उपाय प्रिय हुने गर्छ।

रिमोट कन्ट्रोलको छ भने किन उठेर टिभी खोल्नु? मोटरसाइकल छ भने किन हिँडेर लिएर सुपरमार्केट जाने? सहकर्मीले भन्दा आधा काम गरेर पुग्छ भने किन नगर्ने?

हरेकखाले काम वा प्रयासमा मानसिक र शारीरिक दबाव हुन्छ।

त्यसैले सम्भव भएसम्म मानिसहरूले काम छल्न खोज्नु स्वभाविक नै हो।

अल्छी

तस्बिर स्रोत, Getty Images

के तपाईँले कुनैबेला केही पनि गर्दिन भनेर सोच्नुभएको छ?

त्यो रमाइलो लाग्न सक्छ तर त्यो पनि निकै कठिन हुन जान्छ।

युनिभर्सिटी अफ भर्जिनियामा गरिएको एउटा चर्चित अध्ययनमा सहभागीहरूलाई पालैपालो पूरै खाली कोठमा राखिएको थियो।

उनीहरूसँग फोन, पुस्तक वा टेलिभिजन केही थिएन। र उनीहरूलाई ननिदाउन भनिएको थियो। ती व्यक्तिलाई गोडामा उपकरण जोडेर १५ मिनेटसम्म एक्लै छाडियो।

त्यो एकछिन आराम गर्ने अवसर थियो।

उनीहरूलाई एक्लै छाड्नुअघि एउटा स्वीच थिच्न सिकाइएको थियो जसले विद्युतीय झट्का दिन्थ्यो।

तपाईँलाई एकपटक झट्का खाएकोले फेरि त्यसो गर्ने छैनन् भन्ने लाग्यो भने गलत सोच्नुभयो।

खाली कोठामा केही नगरी बस्नु कति कठिन छ भन्ने एउटा अध्ययनले देखाएको थियो।

तस्बिर स्रोत, Getty Images

त्यहाँ ७१ प्रतिशत पुरुष र २५ प्रतिशत महिलाले कम्तीमा एकपटक आफूलाई फेरि झट्का दिए।

एकजना पुरुषले त आफूलाई १९० पटक झट्का दिए।

अध्ययनले के देखायो भने केही पनि नगर्नु झन् पट्यारलाग्दो काम हो।

विकल्पको रूपमा धेरै सहभागीले आफैलाई यातना दिने काम रोजे।

लकडाउनका बेला हामीले सामान्य दिनको जस्तो अवस्थामा ढाल्न आफूलाई सक्दो प्रेरित गर्नु आवश्यक छ।

तस्बिर स्रोत, Getty Images

जबरजस्ती लादिएको र लम्ब्याइएको आरामले झन् बेचैनी बढाउँछ।

लकडाउनका बेला हामीले आफूलाई सामान्य दिनको जस्तो अवस्थामा ढाल्न आवश्यक छ।

त्यसैले नियमित योग, वा अन्य काम लगाउनु एवम् मिहिनेत र कठिन काममा संलग्न हुनु निकै महत्त्वपूर्ण छ।

सामान्य अवस्थामा हामीले आरामलाई खासै महत्त्व दिँदैनौँ। त्यसैले यो समयमा हामीले सक्दो धेरै आराम गर्नु त आवश्यक छ नै।

यसले गर्दा पुन: सामान्य दैनिकीमा फर्कँदा हामीमा काम र आरामको सन्तुलित भावना आउँछ।

तर यो कठिन समयमा हामीले आफूलाई अल्छी प्रजाति होइनौँ भन्ने थाहा पाउँदै छौँ।

क्लोडिआ हामोन्ड द आर्ट अफ रेस्ट: हाउ टू फाइन्ड रिस्पाइट इन द मोर्डन एज पुस्तकका लेखक हुन।