चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ? कुन ठाउँमा र कहिले धेरै चट्याङ पर्छ?

चट्याङ

तस्बिर स्रोत, Getty Images

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ।

उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ बिग्रिन सक्ने पूर्वानुमानबीच मौसमविद्हरूले सर्वसाधारणलाई सतर्क रहन र घरभित्रै बस्न आग्रह गरेका छन्।

भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरोका अनुसार चट्याङका कारण गत वर्ष देशभरि २,३०० जनाको मृत्यु भएको थियो।

सन् २००५ यता त्यहाँ हरेक वर्ष कम्तीमा २,००० जना ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ।

नेपालको अवस्था के छ?

नेपालमा बिहीवार सप्तरी, मकवानपुर र कपिलवस्तुमा गरेर सात जनाको मृत्यु भएको विवरणहरू प्रकाशित भएका छन्।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले चट्याङका कारण विगत एक वर्षमा कम्तीमा ९२ जनाको ज्यान गएको देखिन्छ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा चट्याङ लागेर एक वर्षमा कम्तीमा ३०० व्यक्ति घाइते र कैयौँ परिवार प्रभावित हुने गरेका छन्।

भारतको मौसमसम्बन्धी निकायले वर्षाका साथै कुन समयावधिभित्र कहाँकहाँ चट्याङ पर्छ भन्ने विषयमा पनि पूर्वानुमान गरी सजग गराउने गरेको छ।

चट्याङ

तस्बिर स्रोत, SPL

तर नेपालमा भने चट्याङ पूर्वानुमान गर्ने प्रविधि प्रयोगमा आइनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

"हाम्रो रेडारदेखि लिएर चट्याङसम्बन्धी उपकरणहरू राख्ने काम भइरहेको छ। कुनै अवरोधविना काम भयो भने रेडार राख्ने काम अर्को वर्षसम्म सकिन्छ," विभागकी वरिष्ठ मौसमविद्‌ तथा प्रवक्ता अर्चना श्रेष्ठले भनिन्।

उनका अनुसार चट्याङबारे 'रीअलटाइम' सूचना दिन सक्ने त्यस्तो प्रविधि उदयपुर, पाल्पा र सुर्खेतमा जडान गरिँदैछ।

सूचना आदानप्रदान

नेपालमा त्यस्तो प्रविधि प्रयोगमा नआउन्जेल भारतसँग सूचना आदानप्रदान गर्दा उपयुक्त हुने जानकारहरू बताउँछन्।

"दुई देशबीच कूटनीतिक च्यानलमार्फत्‌ सरकारी स्तरमा सहमति गर्नुपर्ने हुन्छ। त्यो भए राम्रै हुन्छ," प्रवक्ता श्रेष्ठले भनिन्।

नेपाल र भारतबीच हाल बाढीसम्बन्धी सूचना आदानप्रदान गर्ने ‍औपचारिक सहमति भएको उनी बताउँछिन्।

यद्यपि मौसमसम्बन्धी जानकारीहरू सार्वजनिक माध्यममा हुने भएकोले दुई देशका अधिकारीले एकअर्काको वेबसाइट हेर्ने गरेको श्रेष्ठले बताइन्।

धेरै चट्याङ पर्ने ठाउँ

विज्ञहरूका अनुसार नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म बेलुकातिर बढी चट्याङ पर्ने गर्छ।

बङ्गालको खाडीनजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङविज्ञ डा. श्रीराम शर्मा बताउँछन्।

"त्यो भनेको झापा-मोरङतिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ। त्यसपछि चुरेक्षेत्र बढी प्रभावित देखिन्छ।"

यद्यपि मृत्यु हुने मानिसको सङ्ख्याका हिसाबले चुरेक्षेत्र नै बढी प्रभावित देखिएको छ।

डा. शर्माका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ।

तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन्। मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने शर्मा बताउँछन्।

विज्ञहरूका अनुसार चट्याङको आवाजले कानका जाली फुट्ने र मानिसहरू घाइते हुने पनि गर्छन्।

चट्याङबाट बच्ने उपाय

  • ठूलो भवन अथवा कारभित्र आश्रय लिनुहोस्
  • फराकिला, खुला ठाउँ तथा नाङ्गा डाँडाकाँडामा नजानुहोस्
  • अग्ला र एकाध रूख भएको ठाउँमा आश्रय नलिनुहोस्
  • यति आश्रय लिने उपयुक्त ठाउँ नभेटिए भुइँमा घोप्टिएर पैतला जोडी हात घुँडामा राखेर टाउको लुकाउनुहोस्
  • यति तपाईँ पानीमा वा खुला समुद्री तट अथवा नदी किनारमा हुनुहुन्छ भने यथाशक्य बाहिर सुरक्षित स्थानमा जानुहोस्

स्रोतः रोयल सोसाइटी फर द प्रिभेन्शन अफ एक्सिडेन्ट्स