कोरोना भाइरस नेपाल: स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि जुम्लाको चन्दननाथ नगरपालिका सील

कर्णाली
    • Author, कृष्णमाया उपाध्याय
    • Role, बीबीसी न्यूज नेपाली, जुम्ला

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएपछि चन्दननाथ नगरपालिकालाई अर्को सूचना जारी नभएसम्मका लागि सील गरिएको छ।

उक्त अस्पतालले उपलब्ध गराउँदै आएको आकस्मिक बाहेक अन्य सेवाहरू पनि बन्द गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

अस्पतालका निर्देशकले सम्पुर्ण कर्मचारीहरूको पीसीआर परीक्षण र आवश्यकता अनुसार उनीहरूसँग सम्पर्कमा आएका व्यक्ति पहिचान गर्ने प्रक्रिया अघि बढाइएको जनाएका छन्।

लकडाउनलाई खुकुलो बनाइएपछि पछिल्लो सङ्क्रमणको घटना देखिएको भन्दै सम्भावित जोखिमको आकलन गरेर अघि बढ्ने जुम्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

सङ्क्रमित को हुन्?

प्रतिष्ठानकै प्रयोगशालामा गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो।

कोरोनाभाइरस सङ्क्रमण देखिएका दुई जना पुरुष र दुई जना महिला रहेको निर्देशक डा. मङ्गल रावलले जानकारी दिए।

उनीहरूको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामध्ये दुई जना प्रयोगशालामा काम गर्ने प्राविधिक छन्। अन्य दुई कर्मचारी फार्मेसी र काउन्टरमा काम गर्ने बताइएको छ।

कर्णाली

कोरोनाभाइरस सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई विशेष निगरानीमा राखिएको रावलले बताए।

प्रतिष्ठानमा फार्मेसी र प्रयोगशाला बन्द गरिएको छ।

हरेक दिन करिब एक सय जनाभन्दा बढी सेवाग्राही प्रतिष्ठानमा सेवा लिन आउने गरेको बताइएको छ।

त्यहाँ स्वाब सङ्कलन गरी पीसीआर विधिबाट कोरोनाभाइरस सङ्क्रमण परीक्षण गर्ने गरिएको थियो।

उक्त प्रतिष्ठानको प्रयोगशालामा मङ्गलवारसम्ममा १२,९०५ पीसीआर परीक्षण गरिएको अधिकारीहरू बताउँछन्।

कर्णाली

कर्णाली प्रदेशमा १,३०० जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

मङ्गलवारसम्म जुम्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या भने ३६ पुगेको प्रतिष्ठानले जनाएको छ ।

समुदायस्तरसम्म कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनको लागि पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने तयारी भइरहेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

नगरपालिका सील गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोनाभाइरस सङ्क्रमण देखिएका सबै स्वास्थ्यकर्मीहरु चन्दननाथ नगरपालिकाको भएको हुनाले नगरपालिका क्षेत्रमा औषधि पसल बाहेक अन्य सबै सेवा बन्द गरिएको जनाएको छ।

बुधवार दिउँसो ३ बजेदेखि अर्को सूचना नहुन्जेलसम्मको लागि नगरपालिका क्षेत्र पुरै सील गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

उनले लकडाउन खुकुलो भएको हुनाले अस्पतालमा सङ्क्रमण देखिएको गुनासो आएकाले जोखिमलाई ध्यान दिएर भविष्यमा कस्तो कदम चाल्ने भन्नेबारे टुङ्गोमा पुगिने बताए।

प्रदेशकै प्रमुख अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि जुम्लाका स्थानीय वासिन्दामा त्रास बढेको जनाइएको छ।