कोरोना भाइरस: अति प्रभावित ब्रजिलमा सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

तस्बिर स्रोत, Getty Images
ब्रजिल दश लाख कोभिड-१९ हुने दोश्रो मुलुक बन्न पुगेको छ। र, सङ्क्रमण फैलिरहेको छ।
गत २४ घण्टामा मात्र एकैदिन सर्वाधिक ५४,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
र, चारदिनदेखि हरेक दिन १२०० भन्दा बढीको मृत्यु भएको छ। कुल मृत्यु हुनेको सङ्ख्या ४९,००० पुगेको छ।
परीक्षणको अभाव भएका कारण वास्तविक तथ्याङ्क अझ बढी हुने र प्रकोप अझ पनि उच्च विन्दुमा पुग्न केही हप्ता बाँकी रहेको विज्ञहरूले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले महामारी "नयाँ र खतरनाक" चरणमा प्रवेश गरेको घोषणा गरेको केही घण्टापछि ब्रजिलको नयाँ तथ्याङ्क सार्वजनिक भएको हो।
ल्याटिन अमेरिकामा कहाँ कस्तो सङ्ख्या?
ल्याटिन अमेरिकामा सङ्क्रमण बढ्दो छ। चिली र पेरु लगायतका मुलुकमा सङ्क्रमण चुलिँदो छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- कहाँ कति? सङ्क्रमण र मृत्यु
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

मेक्सिकोमा शुक्रवार सम्ममा २० हजार मानिसको मृत्यु भइसकेको छ।
अहिले ब्रजिल भन्दा धेरै सङ्क्रमण हुने देश अमेरिकामात्र भएको छ।
ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारोले सङ्कटसँग जुझ्न अपनाएको उपायको तीव्र आलोचना भइरहेको छ।

तस्बिर स्रोत, Reuters
दक्षिणपन्थी नेता जइर बोल्सोनारोको भाइरस फैलिन नदिन कडा उपाय अपनाएका प्रान्तीय गभर्नरहरूसँग बारम्बार परस्पर विरोधी कुरा हुने गरेको छ।
जइर बोल्सोनारोले भाइरसको भन्दा शहरहरू बन्द गर्दा हुने आर्थिक असर झन् ठूलो हुने बताउने गर्छन् जुन तर्कप्रति अरू पनि सहमत हुने गरेका छन्।
तर सङ्कटका प्रति उनको धारणाका कारण दुई जना डाक्टरहरूले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिइसकेका छन्।

दक्षिण अमेरिकाबाट बीबीसी संवाददाता केटी वाटसनको विश्लेषण
जइर बोल्सोनारो डोनल्ड ट्रम्प र उनले राजनीति गर्ने तरिकाको लामो समयदेखिका प्रशंसक हुन्।
यी दुई पुरुषमा कैयौँ कुरा समान छन्- एउटा उदाहरण उनीहरूले आ-आफ्ना मुलुकमा महामारीबारे अपनाएका उपाय पनि हुन्।
अमेरिकाको तथ्याङ्क भयावह छ- ब्रजिलको पनि डरलाग्दो छ। उनीहरू त्यस्तो क्लबका सदस्य जस्ता देखिएका छन् जसको सदस्य बन्न कोही चाहँदैन।
यति ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएका कारण भाइरस नियन्त्रण बाहिर रहेको देखाउँछ।
ठूला शहरहरू बन्दाबन्दीबाट खोल्न लागेको र मानिसहरू काममा फर्किन लागेका बेला यस्तो भएको छ।
लामो समयदेखि राष्ट्रपति जइर बोल्सोनारो र प्रान्तीय गभर्नरहरूबीच विवाद छ।
उनीहरूले क्वारन्टीनका कडा उपाय अपनाएका छन् जुन राष्ट्रपतिले अर्थतन्त्र ध्वस्त पार्ने किसिमको भन्दै आएका छन्।
तीन महिनासम्मको बन्दाबन्दीपछि लाखौँ मानिसहरू सङ्घर्ष गरिरहेका छन् र काममा फर्कन चाहिरहेका छन्।
तर अझ पनि सङ्क्रमणको उच्च विन्दु नपुगिसकेकाले त्यो खतराजन्य योजना हुने देखिन्छ।









