कोरोना भाइरस भारत: दिल्लीमा सङ्क्रमितको उपचारका लागि रेलका ५०० डिब्बा प्रयोग गरिने

तस्बिर स्रोत, Reuters
कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा भारतको राजधानी दिल्लीमा थप ८,००० शैय्या तयार गर्न रेलका ५०० डिब्बा प्रयोग गरिने भएको छ।
गृहमन्त्री अमित शाहले कोभिड-१९ परीक्षणमा व्यापक वृद्धि लगायत दिल्लीका लागि आपत्कालीन उपायहरूको प्याकेज घोषणा गरेका छन्।
हालको सङ्कटबारे उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग छलफल गरेका थिए। भारतमा प्रतिदिन करिब १२ हजार नयाँ सङ्क्रमण पुष्टि भइरहेका छन्।
भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले विश्वकै चौथो स्थानमा छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सङ्क्रमणका कारण भारतमा हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या ९,००० नाघेको छ।
द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार महाराष्ट्र र तामिलनाडुपछि दिल्ली तेस्रो धेरै प्रभावित राज्य हो।
राज्य सरकारले ४० होटल र ७७ ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाएको छ।

तस्बिर स्रोत, AFP
भारतले लकडाउनका कारण रेलसेवा स्थगित गरेसँगै गत एप्रिल महिनाबाट रेलका डिब्बाहरूलाई क्वारन्टीन वा आइशोलेसन वार्ड अर्थात् अलग्गै राख्ने स्थान बनाउन शुरू गरेको थियो।
गत महिना सङ्घीय सरकारले मार्च २५ बाट शरू गरिएको लकडाउन अन्त्य गर्ने योजना सार्वजनिक गरेको थियो।
भारतमा प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पारिएसँगै सडक र हवाई यात्रामा वृद्धि भएको छ भने थुप्रै व्यवसायका साथै कार्यस्थलहरू खुलेका छन्।
बजारमा भिड देखिन थालेको छ। लकडाउनले भारतमा ठूलो आर्थिक क्षति पुर्याएको बताइन्छ। करोडौँ मानिसले रोजगारी गुमाएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










