सबैभन्दा गहिरो स्थानमा अक्टोपसको तस्बिर खिचियो

अक्टोपस

तस्बिर स्रोत, A.Jamieson

तस्बिरको क्याप्शन, वैज्ञानिकले राखेको आहारा तर्फ आउँदै अक्टोपस

हिन्द महासागरको फेदमा अहिलेसम्मकै गहिरो स्थानमा फेला परेको अक्टोपसको तस्बिर खिचिएको छ।

सो अक्टोपस जाभा ट्रेन्चको ७,००० मिटरको गहिराइमा देखिएको हो जुन यसअघि फेला परेको भन्दा अझै दुई किलोमिटर तल हो।

आफ्नो खोज समुद्रमुनिको जीवजन्तुसम्बन्धि अनुसन्धान विवरण छापिने 'मरिन बायोलोजी' जर्नलमा प्रकाशित गराएका अध्ययनकर्ताहरूले त्यो 'डम्बो प्रजाति'को अक्टोपस भएको बताएका छन्।

सन् १९४० मा डिज्नीको कार्टुन चलचित्रको पात्र झैँ कानजस्तो देखिने पखेटा भएका कारण यो प्रजातिको अक्टोपसले 'डम्बो' नाम पाएका हुन्।

वैज्ञानिक डा. एलन जेमिसनले त्यस्तो गहिराइमा अक्टोपसको उपस्थिति पत्ता लगाएका हुन्।

उनलाई ल्यान्डर भनेर चिनिने उपकरणको प्रयोग गरेर समुद्रको फेदमा गरिएका अध्ययनका लागि चिनिन्छ।

जहाजबाट समुद्रको फेदमा झारिने उपकरण नै ल्यान्डर हो जसले आफू वरपरका कुराहरूको तथ्याङ्क राख्छ।

डा. एलन जेमिसन

तस्बिर स्रोत, FIVEDEEPS.COM

तस्बिरको क्याप्शन, वैज्ञानिक डा. एलन जेमिसनले ल्यान्डर प्रविधि प्रयोग गरेर समुद्रको फेदमा धेरै जीवहरू पत्ता लगाएका छन्

डा. जेमिसनको ल्यान्डरले दुईवटा अस्टोपसको तस्बिर खिचेका छन्। पहिलो अक्टोपस ५,७६० मिटरमा भेटिएको थियो र त्यो ४३ सेन्टीमिटर लामो थियो भने ६,९५७ मिटरमा भेटिएको दोस्रो अक्टोपस ३५ सेन्टीमिटरको थियो।

अक्टोपसका अण्डा धेरै गहिरोमा भेटिएको भएपनि यसअघि सबैभन्दा गहिरो स्थानमा भेटिएको अक्टोपस ५,१४५ मिटरमा रहेको थियो।

अक्टोपस

तस्बिर स्रोत, A.Jamieson

हिन्द महासागरको उक्त स्थानमा अक्टोपस भेटिएपछि अब संसारका ९९ प्रतिशत समुद्री फेदमा यो जीव रहनसक्ने थाहा भएको छ।

डा. जेमिसनले यी तस्बिर फाइभ डीप नामक अभियानको प्रमुख वैज्ञानिकको रूपमा काम गर्दा खिचेका हुन्।

सो अभियान अन्तर्गत अमेरिकी लगानीकर्ता भिक्टर भेस्कोभोले संसारका पाँचै महासागरको सबैभन्दा गहिरो भागमा पुग्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएका छन्।