चीनको आकाश आँखा: विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा

फास्ट

तस्बिर स्रोत, Getty

    • Author, कार्लोस सेरानो
    • Role, बीबीसी न्यूज मुन्डो

दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ।

यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र, यो ज्यानुअरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

यसको औपचारिका नाम फाइभ-हन्ड्रेड-मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप हो। तर यसको छोटकरी रूप एकएएसटी अर्थात् फास्टको नामले धेरै चिनिन्छ।

चीनले यसलाई दिएको उपनाम भने 'आकाश आँखा' हो।

सबैभन्दा शक्तिशाली

फास्टले ब्रह्माण्डका सबैभन्दा पर र अँध्यारो किनाराहरूमा यसको उत्पत्ति र अन्य जीवका बारेमा खोज गर्नेछ।

पल्सर

तस्बिर स्रोत, NASA

नाम राखिएझैँ यो टेलिस्कोपको व्यास आधा किलोमिटर रहेको छ। अमेरिकाको प्वेर्टो रिकोमा रहेको दोस्रो ठूलो रेडिओ टेलिस्कोपको व्यास ३०५ मिटर मात्रै रहेको छ।

सन् २०१६ को सेप्टेम्बरमा फास्टको निर्माण पूरा नभएसम्म त्यो सबैभन्दा ठूलो रेडिओ टेलिस्कोप थियो।

फास्ट सबैभन्दा ठूलो मात्रै होइन्, अहिले भएका सबै रेडिओ टेलिस्कोपभन्दा २.५ गुणाले बढी संवेदनशील छ।

यसको निर्माण सन् १९९० को दशकमा शुरू भएको थियो।

तरङ्ग

तस्बिर स्रोत, Getty Images

फास्ट किन बन्यो?

यसका निर्माताहरूले यसले ब्रह्माण्डको उत्पत्ति र विकासका बारे नयाँनयाँ कुरा पत्ता लगाउने अपेक्षा राखेका छन्।

यसको मुख्य काम गुरुत्वाकर्षण तरङ्गको खोजसँग सम्बन्धित रहेको छ।

यसले अन्तरिक्षमा भएका नचिनिएका पदार्थ र अन्य ग्रहका जीवका सम्भावित सङ्केतहरूको अध्ययन गर्नेछ।

खगोलविद्‌हरू उत्साहित भएको यसको पक्ष भनेको यसले फास्ट रेडिओ बर्स्ट भनिने केही मिलिसेकेन्ड मात्रै रहने ऊर्जाको अति तीव्र गतिविधि पत्ता लगाउन सक्ने क्षमता हो।

टेलिस्कोप

तस्बिर स्रोत, Getty

परीक्षणकालमा फास्टले १०२ नयाँ पल्सर भनिने केही अन्तरालमा तरङ्ग छोड्ने एक प्रकारको घुम्ने तारा पत्ता लगाएको छ।

ब्रिटिश कोलम्बिया विश्वविद्यालयका बिल म्याककुट्चेनले यसलाई गजबको उपलब्धि भनेका छन्।

"ती नयाँ पत्ता लगाइएका ताराहरूको गुण थाहा पाउनु गजब हुनेछ।"

फास्टको अन्तरिक्षमा रहेका हाइड्रोजनजस्ता ग्यासहरूको अध्ययन गर्न सक्ने क्षमताले पनि वैज्ञानिकहरू उत्साहित छन्।

गुरुत्वाकर्षण तरङ्ग

तस्बिर स्रोत, Getty

खर्च कति?

फास्टको निर्माण खर्च १८ करोड अमेरिकी डलर लागेको बताइएको छ।

यो टेलिस्कोपमा ४,४०० वटा अल्मुनियमका पाताहरू रहेका छन् जसलाई घुमाउन मिल्छ।

कोर्नेल विश्वविद्यालयका मार्था हेनेसका अनुसार त्यो क्षमताका कारण फास्ट प्वेर्टो रिकोको टेलिस्कोपभन्दा फरक छ।

"प्वेर्टो रिकोको टेलिस्कोपको पाता घुमाउन मिल्दैन," उनले भनिन्।

नेबुला

तस्बिर स्रोत, Getty Images

फास्टका चुनौती

हेनेसका अनुसार सबैभन्दा चुनौतीपूर्ण कार्य भनेको फास्टले सङ्कलन गरेका तथ्याङ्कहरूको व्यवस्थापन हो।

यसमा मानवनिर्मित रेडिओ सङ्केतहरू हटाउनु पनि पर्छ।

हेनेसका अनुसार यसको तथ्याङ्क व्यवस्थापनका लागि नयाँ पुस्ताका उपकरण र सफ्टवेअरहरू निर्माण गरिनुपर्छ।

अन्तरिक्ष

तस्बिर स्रोत, NASA