उत्तर भारतमा प्रचण्ड गर्मी, दिल्लीमा तापक्रम ४७ डिग्रीभन्दा माथि

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको उत्तर भारतमा अहिले सलहको प्रकोपसँगै प्रचण्ड गर्मीको प्रभाव पनि देखिएको छ।
भारतको राजधानी दिल्लीमा मङ्गलवार तापक्रम बढेर ४७.६ डिग्री सेल्सीअस पुग्यो भने उत्तर भारतका अधिकांश स्थानमा प्रचण्ड गर्मी भएको छ।
राजस्थान राज्यको चुरुमा भारतभरि सर्वाधिक ५० डिग्री सेल्सीअस तापक्रम मापन भयो।
कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको उत्तर भारतमा अहिले सलहको प्रकोप पनि देखिएको छ। सलहले बालीनाली नष्ट पारिदिँदा किसानहरू अर्को चिन्तामा परेका छन्।
आग्रह
अधिकारीहरूका अनुसार गर्मीको यो लहर सप्ताहान्तसम्म चल्नेछ।
अधिकारीहरूले प्रचण्ड गर्मीबाट जोगिन सर्वसाधारणलाई घरभित्र बस्न आग्रह गरेका छन्।
भारतमा दशकौँयता पहिलो पटक मे महिनाको अन्तिम साता यति धेरै गर्मी भएको हो।
सन् २०२० मे २६ बिहान ९ बजेको तापक्रम
४८ डिग्री सेल्सीअसचुरु, राजस्थान
४७.०हिसार, हरियाणा
४६.८विकानेर, राजस्थान
४६.०दिल्ली
मौसमको विवरण राख्ने वेबसाइट एल डोराडोका अनुसार मङ्गलवार संसारभरि अत्यधिक गर्मी भयो।
सरकारी मौसमविद्हरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार गत साता आएको चक्रवात अम्पनका कारण अहिले गर्मी बढेको हो।
कारण
बङ्गालको खाडीमा उत्पन्न उक्त समुद्री आँधीले पूर्वी भारत र बाङ्ग्लादेशमा प्रहार गरेको थियो।
"शक्तिशाली चक्रवात अम्पनले देशका अन्य स्थानबाट पूरै आद्रता सोसेर लग्यो," भारतको क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवले हिन्दुस्तान टाइम्सलाई बताए।
केही वर्षयता गर्मीका कारण भारतमा धेरै मानिसको मृत्यु भएको छ। तर अहिलेको गर्मीका कारण कति मानिस प्रभावित भए भन्ने तथ्याङ्क उपलब्ध भइसकेको छैन।
प्रभाव
कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला विभिन्न राज्य र सहरबाट लाखौँ मानिसहरू पैदलै आफ्नो घर फर्किरहेका छन्।
गर्मीबाट उनीहरू पनि प्रभावित हुने देखिएको छ।
पहिलापहिला गर्मीका कारण ज्यान गुमाउनेमा खुला आकाशमा काम गर्नुपर्ने श्रमिक र फलफूल व्यापारी पनि हुने गर्थे।
यसपालि गर्मीका कारण सलहबाट बालीनाली जोगाउने प्रयास पनि प्रभावित भएको छ।









