कोरोना भाइरस: युट्युबका एक चौथाइ भिडिओमा भएको मिथ्या दाबी दशौँ लाखले हेरे

अध्ययन

तस्बिर स्रोत, YOUTUBE

एउटा अध्ययनले युट्युबमा सबैभन्दा बढी हेरिएका कोरोनाभाइरससँग सम्बन्धित भिडिओमध्ये एक चौथाइभन्दा बढीमा मिथ्या जानकारी भएको देखाएको छ।

ती मिथ्या भिडिओ छ करोड २० लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ।

त्यस्तो झुट्टा दाबी गरेको भिडिओमा औषधि निर्माता कम्पनीहरूले कोरोनाभाइरसको खोप तयार पारिसकेको तर बिक्री गर्न अस्वीकार गरिरहेको पनि उल्लेख छ।

युट्युबले भने यस्ता घातक मिथ्या सूचनाहरू कम फैलिन दिन आफू प्रतिबद्ध रहेको जनाएको छ।

कुन सही कुन मिथ्या?

अनुसन्धानकर्ताहरूले "राम्रो गुणस्तर र सही सूचना" समेटिएका भिडिओ युट्युबमा सरकारी निकाय र स्वास्थ्य विज्ञहरूले राखेका उल्लेख गरेको छ।

तर अधिकांश अवस्थामा त्यस्ता भिडिओ बुझ्न कठिन र कम आकर्षक सामग्री भएको भनिएको छ।

बीएमजे ग्लोबल हेल्थले प्रकाशन गरेको उक्त अध्ययनमा मार्च २१ सम्म सबैभन्दा बढी हेरिएका अङ्ग्रेजी भाषाका कोरोनाभाइरससँग सम्बन्धित भिडिओहरू समावेश गरेका थिए।

दोहोरिएका, एक घण्टाभन्दा लामो अवधि भएका र विषयसँग सम्बन्धित श्रव्य वा दृश्य सामग्री नसमेटेका भिडिओ हटाएपछि अनुसन्धानकर्ताहरूले ६९ वटा सामग्री अध्ययन गरेका थिए।

उनीहरूले भाइरसको फैलावट, कोरोनाभाइरसको लक्षण, नियन्त्रण र सम्भावित उपचारबारे सम्पूर्ण वास्तविक सूचना मात्रै समेटेको या नसमेटेको आधारमा भिडिओहरूलाई अङ्क दिएका थिए।

त्यसमा सरकारी निकायका भिडिओले अरू श्रोतका भिडिओभन्दा राम्रो अङ्क प्राप्त गरेपनि तिनीहरू कम सङ्ख्यामा हेरिएको पाइएको थियो।

मिथ्या सूचना समेटेका १९ भिडिओमध्ये:

  • झण्डै एक तिहाइ मनोरञ्जनसम्बन्धी समाचार स्रोतबाट आएका थिए
  • झण्डै एक चौथाइका स्रोत राष्ट्रिय समाचार माध्यम थिए
  • झण्डै एक चौथाइ अनलाइन समाचार स्रोतबाट आएका थिए
  • १३ प्रतिशत भिडिओ स्वतन्त्र भिडिओ निर्माताले बनाएका थिए।

उक्त अध्ययनल सरकार र स्वास्थ्य निकायहरूले मनोरञ्जनात्मक समाचार स्रोत र समाजिक सञ्जालमा लोकप्रिय रहेका व्यक्तिसँग सहकार्य गरी आकर्षक, तथ्यपरक र आम रूपमा हेरिने खालको सामग्री तयार पार्नुपर्ने सुझाव दिएको छ।

युट्युबले एउटा विज्ञप्तिमा आफू अनुसन्धानकर्ताहरूसँग अझ निकटमा रहेर सहकार्य गर्न इच्छुक रहेको भन्दै सानो सङ्ख्यामा नमूनाहरू सङ्कलन गरी गरिएको अध्ययनको सीमितता हुने जनाएको छ।

पछिल्लो अध्ययनले आफ्नो सीमितता खुलाएको उल्लेख गर्दै उसले आफूले कोभिड-१९ सम्बन्धीआफ्नो नीति उल्लङ्घन गरेकोमा हजारौँ भिडिओ हटाएको उल्लेख गरेको छ।

उसले आधिकारिक सामग्रीहरूलाई आफूले प्रोत्साहन दिएको र दशौँ लाख प्रयोगकर्तालाई त्यसतर्फ डोर्याएको पनि जनाएको छ।

line
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

विश्लेषण

बीबीसीकी मिथ्या सूचना विज्ञ तथा सामाजिक सञ्जाल समाचारदाता मारियाना स्प्रिङ भन्छिन्, "हालैका हप्ताहरूमा एकदमै आकर्षक भिडियोमार्फत युट्युबको प्रयोग गरी मिथ्या कुराहरूको प्रवर्धन गर्ने तरिका अपनाइएको छ जुन ज्यादै लोकप्रिय भएको देखिन्छ।"

"अहिले पत्ता लागेको भनिएको कुरा नौलो होइन। विश्वस्नीय जनस्वास्थ्य निकायले युट्युबमा सार्वजनिक गर्ने सही सुचना अलिक जटिल प्रकृतिको हुन्छ।"

"त्यस्ता भिडिओ चिन्तित मानिसहरूलाई झुट्टा व्याख्याको आधारमा चाँडै जवाफ दिने वा कसैलाई आरोप लगाउने अवसर दिने षडयन्त्रको चर्चा गरिएका भिडिओ जस्तो आकर्षण हुँदैनन्।"

"उच्च गुणस्तरको उत्पादन र विज्ञ भनेर चिनाइएका व्यक्तिसँगको अन्तर्वार्ताले त्यस्ता भिडिओलाई अझै विश्वस्नीय देखाउँछ। धेरैजसो तथ्यलाई प्रसङ्ग उल्लेख नगरी प्रस्तुत गरिने र मिथ्या निष्कर्ष निकाल्ने गरिन्छ।"

"यस्ता खालको सामग्रीसँग जुझ्नु सामाजिक सञ्जालका लागि चोर बिरालोको खेल खेल्नु जस्तै हो।"

"एक पटक लोकप्रिय भइसके पछि हटाइएका भिडिओलाई अरू प्रयोगकर्ताले अपलोड गरेर निरन्तरता दिन्छन्।"

"मिथ्या सूचना अपलोड गर्नेमा वैकल्पिक माध्यमहरू मात्रै छैनन्। केही मूलधारका सञ्चारमाध्यमले पनि मिथ्या सूचना फैलाइरहेको यो अध्ययनले देखाएको छ।"