कोरोना भाइरस लकडाउन: काठमाण्डूको सडकमा किन उत्रियो सेना

तस्बिर स्रोत, RSS
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल सहित सुरक्षा समितिको समूह आइतवार लकडाउनको अनुगमनमा निस्कियो।
उनीहरू पाँचवटा गाडीमा सवार थिए। तीमध्ये एउटा गाडीमा थिए, नेपाली सेनाका एक उच्च अधिकारी।
जब उनीहरू काठमाण्डूको थापाथली पुगे, त्यहाँ जाँचमा खटिएका सैनिकले सेनाको गाडी रोक्यो।
प्रजिअ दाहाल भन्छन्, "सैनिक अधिकारीलाई सोधिखोजी गरियो, तर हामीलाई गरिएन।"
कोरोनाभाइरसको जोखिम कम गर्न लकडाउन लागु गरिएको ५४ दिनमा किन आइतवार सडकमा सेना देखियो?
किन सडकमा सेना?
नेपाली सेनाले आइतवार 'सैनिक पोशाकको दुरूपयोग सम्बन्धमा' एउटा सूचना जारी गरेको थियो।
जसमा भनिएको छ, "सैनिक व्यक्तिहरूको हिँडडुलमाथि निगरानी तथा सैनिक पोशाकको दुरूपयोग हुन नदिने उद्देश्यका साथ नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरूमा चेकजाँच सञ्चालन गरेको छ।"
त्यस अनुसार आइतवार उपत्यकाभित्रका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीसँगको समन्वयमा सैनिक सवारीसाधन र सैनिक पोशाक लगाउने व्यक्तिहरूको चेकजाँच गरिएको नेपाली सेनाले जनाएको छ।
अर्थात् नेपाली सेनाले आफ्ना कर्मचारीले अनावश्यक रूपमा लकडाउनको उल्लङ्घन गरिरहेको भए त्यो रोक्ने र सैनिक पोशाकको अन्य कसैबाट दुरूपयोग हुन नदिन जाँचमा उत्रिएको देखिन्छ।
त्यसक्रममा एकजना होटल व्यवसाय गर्दै आएका व्यक्ति सैनिक पोशाकमा भेटिएको र उनी सैनिक तालिमका क्रममा भागेको खुलेको सेनाको भनाइ छ।

तस्बिर स्रोत, RSS
सेनालाई कसको अनुमति?
नेपाली सेना ठूल्ठूला विपद्का बेला उद्धार र राहत अनि कर्फ्युका बेला शान्तिसुरक्षा कायम गर्न खटिने गरेको छ।
त्यसको निम्ति अवस्था अनुसार सुरक्षा परिषद् वा स्थानीय सुरक्षा समितिको निर्णय अनुसार परिचालन हुने गर्छ।
कोरोनाभाइरसको महामारीका बेला पनि नेपाली सेनाले विभिन्न भूमिका निर्वाह गरिहेको छ। तर सडकमै जाँचमा उत्रिएको थिएन।
काठमाण्डूका प्रजिअ दाहालका अनुसार सेना परिचालन भएको होइन र त्यसबारे जिल्ला सुरक्षा समितिमा कुनै छलफल वा निर्णय पनि भएको छैन।
उनले भने, "आफ्नै कर्मचारीहरू पोशाक लगाएर अनावश्यक रूपमा हिँड्दा अरू सुरक्षा निकायलाई ड्युटीमा हो भन्ने पर्न सक्छ।"
"त्यसैले आफ्नै मान्छेलाई जाँच गर्न र अन्य व्यक्तिले सैनिक पोशाक लगाएर हिँडेको सूचनाका आधारमा निगरानी बढाउन आफ्नै संयन्त्रबाट मान्छे खटाएको हो भन्ने आएको छ।"

तस्बिर स्रोत, RSS
कसको अधिकार?
सेनाका अनुसार आफ्नै कर्मचारी र सैनिक पोशाक लगाएका मानिसको जाँच गर्ने जिम्मेवारी खटिएका सैनिकलाई दिइएको छ।
काठमाण्डूबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकका पत्रकारको परिचयपत्र पनि सैनिक जवानले जाँच गरेको विवरण आएको छ।
एकजना सर्वसाधारणलाई उनले पाइन्टमाथि लगाएको सैनिक पोशाकसँग मिल्दो 'हाफसर्ट' खोल्न लगाउँदाको फोटो खिचेपछि परिचयपत्र मागिएको समाचारमा उल्लेख छ।
सङ्कटकालमा सेना परिचालन भएका बेला त्यस्तो पोशाक लगाउन नपाउने सूचना जारी गरिएको थियो। तर अहिले त्यसबारे सर्वसाधारणलाई कुनै सूचना पनि नदिएर जाँच गर्दा एकजना सर्वसाधारणले हैरानी बेहोर्नु परेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ।
त्यसरी परिचय जाँच्ने र सर्वासाधारणबाट हुने सैनिक 'कम्ब्याट' पोशाकको दुरूपयोग रोक्नु प्रहरीको जिम्मेवारीभित्र पर्ने जानकारहरू बताउँछन्।
प्रजिअ दाहाल भन्छन्, "यो विषय छलफलकै विषय होला। प्रहरी-ट्राफिकले गर्नुपर्थ्यो। तर अहिले दुईवटा उद्देश्यले जाँच गरिएको अधिकारीहरूले मलाई जानकारी गराउनु भएको छ।"
सैनिक जाँचबारे कुनै निकायबाट निर्णय भए-नभएको बुझ्न खोज्दा सैनिक प्रवक्ता र गृह मन्त्रालयका प्रवक्ता 'बैठकमा व्यस्त रहेकाले' उपलब्ध भएनन्।








