कोरोना भाइरस: काठमाण्डूमा पाँच दिनमा १०,००० कोभिड-१९ परीक्षण, कसलाई किन गरिँदै

काठमाण्डू

तस्बिर स्रोत, RSS

कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम बढिरहेका बेला सरकारले काठमाण्डू उपत्यकामा परीक्षणको दायरा व्यापक बनाएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार बिहीवार सुरु भएको अभियानामा कम्तीमा १०,००० जनाको परीक्षण गर्ने तयारी गरिएको छ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले काठमाण्डूमा जोखिम बढेको भन्दै भने, "यस्तो जोखिम पहिले थिएन। पछिल्लो १५ - २० दिनमा उपत्यका प्रवेश गरेका मानिसहरूबाट भाइरसको सङ्क्रमण आएको हो।"

"यस्तो अवस्थामा कन्टयाक्ट ट्रेसिङ् गर्न गाह्रो हुने हुँदा यो फैलिसकेको छ भन्ने आशङ्कामा व्यापक परीक्षण गर्न लागिएको हो।"

कसलाई परीक्षण गरिन्छ?

उच्च जोखिममा भएका मानिसहरूको परीक्षणलाई प्राथमिकता दिइने सरकारी तयारी छ।

त्यो सूचीमा तरकारी र दूध विक्रेता, इन्धन ढुवानी गर्ने सवारीका चालक र सहचालक, राहत वितरणमा हिँडेका व्यक्तिहरू र सञ्चारकर्मी राखिएको छ।

स्वास्थ्यकर्मी, चिकित्सक, नर्स र सुरक्षा निकायका अग्रपङ्क्तिमा बसेर काम गरिरहेकाहरूलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ।

त्यसपछि सर्वसाधारणहरूमा पनि परीक्षण गरिनेछ।

सुरक्षाकर्मी कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरको मध्यपुर थिमि-४ शङ्खधर चोकस्थित यच्चु पार्टी प्यालेससँगैको घरमा बस्ने एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीयवासीलाई आवतजावतमा डोरीमार्फत रोक लगाउँदै सुरक्षाकर्मी

श्रेष्ठले भने, "आजै कालीमाटीबाट यो सुरु भयो। जेठ ५ गतेभित्र काठमाण्डूका सबै जोखिमपूर्ण स्थानमा सक्काउने गरी हामी लागिरहेका छौँ,"

काठमाण्डू, ललितपुर र भक्तपुरका १६ नगरपालिका र दुई महानगरपालिकाका स्वास्थ्य संयोजक र जिल्ला स्वास्थ्य प्रमुखहरूसँग छलफल गरेर परीक्षण कसलाई गर्ने भन्ने निर्क्यौल गरिने उनको भनाइ छ।

"क-कसको परीक्षण गर्ने भन्ने कुरा स्थानीय तहले नै तय गर्ने छन्। वडामा के गर्ने भन्ने निर्णय वडाध्यक्षले गर्नेछन्। सर्वसाधारणहरूलाई त्यसै जाँचेर त अर्थ छैन नि?" उनले भने।

यसरी गरिनेछ परीक्षण

श्रेष्ठका अनुसार कसको परीक्षण कुन विधिबाट गर्ने भन्ने कुरा आवश्यकताका आधारमा तय गरिनेछ।

चीन कोरोनाभाइरस

तस्बिर स्रोत, RSS/nepal Army Saujnaya

तस्बिरको क्याप्शन, चीनबाट नेपाल आइपुगेको कोरोनाभाइरस सङ्क्रमण कोभिड-१९ प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनलोड गर्दै चिनियाँ जनमुक्ति सेना

फोहर मैला सङ्कलन र सरसफाइका क्षेत्रमा काम गर्नेहरूको सकेसम्म पोलिमरेज चेन रियाक्शनन (पीसीआर) विधिबाट परीक्षण गर्ने तयारी छ। अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको पनि प्राय:पीसीआर परीक्षण गरिनेछ।

अरूको भने स्याम्पलिङ गरेर त्यही आधारमा कुन विधिबाट परीक्षण गर्ने भन्ने कुराको तय गरिने बताइएको छ।

"जस्तो पत्रकारहरूको हामी के गर्छौ भने १ जनाको पीसीआर गर्ने। त्यसपछिका दुईजनाको र्‍यापिड डाइअग्नस्टिक टेस्ट किटबाट परीक्षण गर्ने र चौथो व्यक्तिको परीक्षण फेरि पीसीआरबाट गर्ने," उनले भने। "यसले एक किसिमको चित्र देखाउने छ।"

के यति परीक्षण पर्याप्त होला?

अधिकारीहरूका अनुसार जनसङ्ख्याको अनुपातमा हेर्दा स्याम्पलिङ्ग धेरै हुनेछ।

"विज्ञहरू जनसङ्ख्याको ०.०५ प्रतिशतको परीक्षण गर्दा हुन्छ भन्छन्। त्यो भनेको काठमाण्डूमा तीन-चार हजार परीक्षण गर्दा पुग्छ," श्रेष्ठले भने।

उनका अनुसार काठमाण्डूमा यसअघि नै तीनदेखि चार हजार जनाको पीसीआर परीक्षण भइसकेको छ।

विज्ञहरूले देशैभर करिब १५,००० को परीक्षण गर्दा एक किसिमको चित्र देखिने सुझाएको उनी बताउँछन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

नेपालमा अझै पनि समुदायमा सङ्क्रमण फैलिन नपाएकोले यो दायरा व्यापक भएको सरकारी दाबी छ।

पछिल्लो समय ल्याइएको आरडीटी किट चिनियाँ कम्पनीकै भए पनि त्यसको प्रभावकारिता राम्रो रहेको श्रेष्ठको दाबी छ।

'कम्तीमा ३० प्रतिशत पीसीआर हुनुपर्छ'

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार काठमाण्डूमा १०,००० परीक्षण गरिनु भनेको निकै राम्रो सङ्ख्या हो।

"१० हजार 'र्यान्डम' स्याम्पलिङ गरियो र विशेषगरि उच्च जोखिम भएकाहरूमा परीक्षण गरिने हो भने राम्रै हुन्छ," उनले भने।

कोरोनाभाइरस उपराष्ट्रपति नन्दबहादुर पुन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाब सङ्कलन गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँका कर्मचारी

"केही सय मात्रै पीसीआर परीक्षण भयो भने चाहिँ राम्रो हुँदैन। तर कम्तीमा तीन-चार हजार मानिसमा पीसीआर परीक्षण गर्न सकियो भने चाहिँ त्यो राम्रै हो," सुवेदीले भने।

मुलत नेपालमा देखिएका सङ्क्रमणका घटना विदेशबाट आएकाहरूकाबाट सरेको हुँदा दुईदेखि तीन महिनाको अवधिमा नेपाल आएकाहरू र उनीहरूको परीक्षणमा पनि ध्यान दिइनुपर्ने विज्ञहरूको मत छ।

"त्यसले भाइरस पहिलेदेखि नै छ कि भर्खरै आएकाहरूमार्फत् आएको हो भन्ने कुरा टुङ्गो लाग्छ। समुदायमा सङ्क्रमण फैलिएको छ कि छैन भन्ने विषय पनि टुङ्गो लाग्छ," सुवेदीले भने।