कोरोना भाइरस: लकडाउनपछि गुफामा २५ दिन बसेका नेपाली सहित ६ पर्यटकको भारतमा उद्धार

भारतमा अत्यावश्यक सेवा बाहेक आवतजावतमा प्रतिबन्ध लगाइएपछि गुफामा बसिरहेका ६ जना पर्यटकहरूलाई अधिकारीहरूले उद्धार गरेका छन्।
त्यसमा चार जना पुरूष र दुई जना महिला छन्। उनीहरू खर्च लगभग सकिएपछि अलपत्र परेर उत्तरी भारतको ऋषिकेशमा रहेको गुफामा बसिरहेका थिए।
भारतमा मार्च २४ यता हवाई, रेल तथा सडक यातायत बन्द गरिएको छ।
उनीहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन र उनीहरूलाई निजी क्वारन्टीन केन्द्रमा राखिएको छ।
ती विदेशीहरूमा युक्रेन, अमेरिका, टर्की, फ्रान्स र नेपालका रहेको र उनीहरू अलग अलग रूपमा अघिल्लो वर्ष भारत पुगेको बताइन्छ।
पर्यटकहरूमाझ लोकप्रिय रहेका ऋषिकेशका साना होटलहरूमा उनीहरू बस्ने गरेका थिए।
उनीहरू २५ दिन गुफामा बसेका थिए। स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनीहरूको उद्धार गरिएको थियो। नेपालबाट आएका पर्यटकलाई हिन्दी बोल्न आउँथ्यो र उनले अरू पर्यटकहरूलाई उनीहरूसँग रहेका थोरै पैसाबाट किनमेल गर्न मद्दत गर्दै आएका थिए।
स्थानीय प्रहरी अधिकारी राकेन्द्र सिंह कठायतले भनेका छन्, "सूचना पाएपछि हामी गुफामा गयौँ र हामीले ६ जना विदेशीहरू फेला पार्यौँ। उनीहरूले पैसा सकिन थालेपछि गुफामा बस्न थालेको बताएका थिए। हामीले स्वास्थ्य जाँच गरेपछि उनीहरूलाई क्वारन्टीन केन्द्रमा पठाएका छौँ।"
उनीहरूलाई अहिले एउटा निजी धार्मिक आश्रममा राखिएको छ र उनीहरूको आवास र खानेकुराको खर्च सरकारले गरेको अधिकारीहरूले जानकारी दिएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









