नेपाल मौसमः मनसुनपूर्व हुने विभिन्न गतिविधि सुरु, 'बिहीवारसम्म पानी पर्ने'

नेपाल

तस्बिर स्रोत, Shriram Sharma

तस्बिरको क्याप्शन, नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको प्रिमनसुनमा चट्याङ धेरै पर्ने गरेको छ

मौसमविद्‌हरूले देशका अधिकांश स्थानमा भइरहेको वर्षालाई 'प्रिमनसुन' अर्थात्‌ मनसुन आरम्भ हुनुअघि हुने गतिविधि भनेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ।

मानिसहरूलाई मौसममा अचानक परिवर्तन भएको जस्तो लागे पनि मनसुन सुरु हुनुअघि यस्तो सामान्य परिवर्तन हुने गरेको मौसमविद्‌हरूले बताएका छन्।

"एप्रिल र मे महिनामा प्रिमनसुन गतिविधिहरू देखिन्छ नै। जुन महिनादेखि त हामीकहाँ मनसुन नै सुरु हुन्छ," मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बीबीसी न्यूज नेपालीलाई भनिन्।

सम्भावना

मौसमविद्हरूका अनुसार नेपालमा अहिले मौसममा देखिएको परिवर्तन र पानी तथा असिना पर्नु जस्ता घटनाले प्रिमनसुन सक्रिय हुन लागेको सङ्केत गर्छन्। यो स्वाभाविक प्रक्रिया भएको उनीहरूको भनाइ छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

यो क्रम मङ्गलवारदेखि तीन दिनसम्म जारी रहने मौसमविद्‌हरूको अनुमान छ।

महाशाखास्थित वरिष्ठ मौसमविद्‌ पोखरेल भन्छिन्, "कतै कम पानी पर्न सक्छ भने कतै बढी पर्न सक्छ। कतै खण्डखण्डमा जस्तो पानी पर्ने पनि हुन सक्छ। यो क्रम आजदेखि तीन दिन (बिहीवार) सम्म रहने अनुमान छ।"

मौसम

तस्बिर स्रोत, MFD

सावधानी

सावधानीठाउँअनुसार गहुँ र आलुजस्ता बाली भित्र्याउने बेला भएकोले हावाहुरी र चट्याङबाट जोगिन विशेष सावधानी अपनाउन सर्वसाधारणलाई मौसमविद्‌हरूको सुझाव छ।

नेपालमा प्राकृतिक विपत्तिका कारण हुने मृत्युमध्ये चट्याङबाट हुने मृत्युका घटना अग्रस्थानमा रहेको अधिकारीहरू बताउँछन्।

गृह मन्त्रालयका अनुसार गत एक वर्षको समयावधिमा (सन् २०१९ को एप्रिल २१ देखि सन् २०२० को एप्रिल २१ सम्म) देशभरि चट्याङका कारण ८९ जना व्यक्तिको ज्यान गएको छ।

गत एक हप्तामै चट्याङका कारण दुई व्यक्तिको अकालमा ज्यान गएको मन्त्रालयले उल्लेख गरेको छ।

त्यसपछि दोस्रो बढी मृत्युको कारण पहिरो देखिएको छ जसबाट ८३ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी बाढीका कारण ७३ जनाको, आगलागीबाट ४७ जनाको र जनावरसँग सम्बन्धित घटनामा परी ४० जना व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

जोगिने उपाय

चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरूको मान्यता छ।

चट्याङ

तर यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ।

  • चट्याङप्रतिरोधी घर निर्माणः घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने
  • चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत नलाग्ने
  • धातुको तारबारनजिक नबस्ने
  • समथर र खुला ठाउँमा नबस्ने
  • भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहने
  • चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने

छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जाने